दीपाश्रीको होली सम्झना : ‘ज्वाइँको मुखमा गोबर दलेपछि १ वर्षसम्म बोलचालै बन्द’ [अन्तर्वार्ता]



 

होली कत्तिको लागिरहेको छ ?

– होली त मलाई हरेक वर्ष विशेष नै लागिरहेको हुन्छ । मलाई असाध्यै मन पर्ने पर्व पनि हो । अहिले होलीकै तयारीमा छु ।

 

यस वर्षको होली कहाँ, कसरी मनाउँदै हुनुहुन्छ ? 

– यस वर्ष म घर (विराटनगर) मा होली मनाउँदैछु । त्यसका लागि म मंगलवार बिहान काठमाडौंबाट हिँड्छु ।

म विराटनगर उपमहानगरपालिकाको सद्भावना दूत भएको हुनाले महानगरपालिकाकै निमन्त्रणमा त्यहाँ जाँदैछु । होली भनेकै सद्भाव बढाउन मनाइने चाड हो । तर उपमहानगरपालिकाको कार्यक्रम भने त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । कार्यक्रममा सहभागी हुनुका साथै परिवारका सदस्य, छरछिमेक, आफन्त, साथीहरूसँग घुलमिल भई होली मनाउँछु ।

अर्को कुरा विगत ५–६ वर्षदेखि विराटनगरमा होली मनाउन पाएकी थिइनँ । त्यसकारण पनि यस वर्षको होली मेरा लागि विशेष छ ।

 

होलीको कुन पक्ष तपाईलाई बढी मन पर्छ ?

– होली सद्भाव र आत्मियता बढाउने पर्व हो । सबै साथीभाईसँग भेट हुने अवसर मिल्छ । होलीमा रमाइलो लाग्ने भनेको रंग लगाएपछिको विचित्र हुने अनुहार पनि हो । एकले अर्कोको मुख हेरेर निकै हाँसो उठ्छ ।

 

मन नपर्ने पक्ष नि ?

– पहिला म अलि बढी नै ‘वाइल्ड’ तरिकाले होली खेल्थें । तर आजभोलि होलीमा कसैको इच्छाविपरीत रंग लगाइदिने, पानी छ्याप्ने गरेको मन पर्दैन । अविर लगाइदिउँ भनेर लगाइदिएको पो सद्भाव व्यक्त भयो त ! तर आजभोलि यस्ता विकृतिहरू पनि कमी हुँदै गएको छ ।

 

 

ठ्याक्कै होली खेल्न थाल्नुभएको अर्थात् पहिलोपटक होली खेलेको सम्झना छ ? 

– म त सानैदेखि होली खेल्थें । मेरो बुवाले नै कालो कराईमा तोरीको तेल हालेर मोसो बनाएर लगाइदिनुहुन्थ्यो । बिहान सुतिरहेको भएपनि बुवाले नै  होली खेल्न उठाउनुहुन्थ्यो ।

ठ्याक्कै पहिलोपटक होली खेलेको सम्झना त छैन तर सानै उमेरदेखि होली मनाउन थालेकी हुँ । घरमा होली निकै उल्लासमय तरिकाले मनाउँदै आएका छौं । म तराईमा जन्मेको भएर होला होली असाध्यै विशेष लाग्छ ।

 

त्यो बेलाको होली र अहिलेको होलीमा के फरक पाउनुहुन्छ ?

– त्यो बेला एउटा सर्वसाधारण नागरिक भएर खेलिन्थ्यो । अहिले कलाकार भएर खेलिन्छ । अर्को कुरा पहिला–पहिला विराटनगरमा हामीहरू अत्यन्त धेरै ज्यादति तरिकाले होली खेल्थ्यौं । जस्तो कि गोबर मुखमा लगाइदिने, मानिसलाई पानीमा डुबाउने, भाङको घोट्टा अलि धेरै नै खाने आदि ।

म पनि सानो उमेरमा लहलहैमा लागेर धेरै होलीहरू खेलें । तर अहिले धेरै संयमित भएर खेल्छु । अहिले जबर्जस्ती लोला हान्ने, पानी फ्याक्नेजस्ता क्रियाकलापमा प्रतिबन्ध लगाएपछि धेरै राम्रो भएको छ । तर विकृति कम भएपनि मौलिकता चाहिँ हराएको हो कि जस्तो लाग्छ ।

 

तराईको होली र काठमाडौंको होलीमा भिन्नता के देख्नुहुन्छ ?

– मलाई त तराईकै होली रमाईलो लाग्छ । तराईमा घरघरमा मटका राखेर होली उत्सवलाई एकदमै रंगीन बनाइन्छ । काठमाडौंमा खाली मिडियाहरूमा गएर मात्रै होली मनाइन्छ, इभेन्ट होली मनाइन्छ ।

विराटनगरमा घरघरमा गएर होली खेल्नुको मज्जा नै फरक लाग्छ । त्यसले माया, सद्भाव साटासाट गर्न पाइन्छ । उता मनाइने होलीमा छुट्टै मिठास र आफ्नोपन पाउँछु ।

 

होलीको त्यस्तो कुनै अविस्मरणीय घटना सम्झनुहुन्छ ?

– त्यस्तो घटनाहरू त धेरै छन् । पहिला–पहिला म ‘वाइल्ड’ होली खेल्ने भएको हुनाले पनि प्रायः होली अविस्मरणीय नै रहे । १०–१२ वर्षअगाडि होला, काठमाडौं आउने जाने भइरहन्थ्यो ।

 

होलीको दिन मैले भाङको घोट्टा खाइसकेको थिए । त्यो वर्ष घरमा बहिनी–ज्वाइँ होली खेल्न आउनुभएको थियो । मलाई भाङको नशा लागिसकेको थियो । अनि मैले ज्वाइँको मुखमा गोबर दल्न पुगिछु । ज्वाइँ एकदमै रिसाउनुभयो । उहाँ त्यसको १ वर्षसम्म मसँग बोल्नुभएन । अर्को वर्षको होलीमा मात्र उहाँ मसँग बोल्नुभयो । त्यो घटना म सधै सम्झिरहन्छु ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १