राजपाद्वारा सदन अवरुद्ध
राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।
राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले सभामुखको रुलिङसमेत नमानेको बताए । तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।
उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गर्यो भन्ने विषय सार्वजनिक हुने बताए । राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
यसैबीच, राजपाकाे अवराेध हटाउन सभामुख महराले पहल थालेका छन् । महराले अहिले संसद भवन नयाँ बानेश्वरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल र राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँग छलफल गरिरहेका छन् । छलफलमा सत्तारुढ दलका उपनेता, प्रमुख सचेतक, पूर्वसभामुख लगायत सहभागी छन् ।