देउवाका साला भूषण राणाले ४ करोड ८० लाख ऋण दिएर ३८ करोडको सम्पत्ति हडपे



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला भूषण राणाले बैंकको आवरणमा एक ब्यवसायीलाई ४ करोड ८० लाख रुपैयाँ ऋण दिएर ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति हडपेका छन् । पोखराको मोहरिया टोल स्थायी घर भएका प्रतिष्ठित सुन कारोबारी कमलमान गुभाजुको सारा सम्पत्ति गैरकानुनी रुपमा हडपेर राणाले सडकमा ल्याइदिएका छन् ।

भूषण राणाले सबै सम्पत्ति हडपिसकेपछि सडकमा पुगेका कमलमान गुभाजु र भूषण राणा

तत्कालीन मनकामना विकास बैंकको सीईओ, पछि मर्ज भएपछि यति विकास बैंकको सीईओ हुँदा राणाले गुभाजुको सम्पत्ति हडपेका हुन् । हाल यति विकास बैंक मर्ज भएर महालक्ष्मी विकास बैंकमा परिणत भएको छ ।

जापानमा २० बर्षसम्म सुनका गहना सम्बन्धी अध्ययन गरेर आएका कमलमान गुभाजुले पोखरा मोहरिया टोलमा कारोबार गर्न थाले । उनी कुशल ब्यवसायीको रुपमा स्थापित भए । उनको सुन पसल राम्रोसँग चल्यो । उनको सुनपसलमा दैनिक ३ करोडभन्दा बढी कारोबार हुन थालिसकेको थियो ।

 

गुभाजुले प्राइम बैंकसँग सुन खरिद गरी आर्थिक कारोबार पनि त्यही बैंकमार्फत् गर्दैआएका थिए । उनको कारोबार फैलिंदै गएको र सफल ब्यवसायी बन्दै गएपछि २०६६ सालमा एक दिन तत्कालीन मनकामना बैंक र पछि यति बैंकका सीईओ भूषण राणा, डेपुटी सीइओ भाष्कर रिमाल, बैंकको पोखरा शाखाका म्यानेजर प्रवलसिंह ठकुरी उनको सुन पसलमा पुगे । पानी परिरहेको बेला उनलाई अनेक प्रलोभन दिएर तत्कालीन मनकामना बैंकको पोखरा शाखामा लगे ।

 

प्राइम बैंकबाट कारोबार नगरी मनकामना बैंकबाट गर्न अनेक प्रलोभन दिए । उनीहरुको प्रलोभनमा परी गुभाजुले आफ्नो नाममा रहेको पोखरा महानगरपालिका ११ को कित्ता नम्बर ७६ को १ रोपनी, पोखरा महानगरपालिका नयाँबजारको कित्ता नम्बर १५२१६ र १५२१८ को ५ रोपनी २ आना, कित्ता नम्बर १६ को लगायतका ११ कित्ता जग्गाको धितो मूल्यांकन १० करोड १२ लाख गरी गुभाजुलाई ४ करोड ८० लाख ऋण मनकामना विकास बैकले दिएको थियो ।

 

ती ११ कित्तामध्ये ८२१ कित्ता नम्बरको जग्गा गुभाजूले पछि सन्तोष पौडेलसँग खरिद गरेका थिए । तर त्यो जग्गा एभरेष्ट बैंकमा रोक्का राखिएको अवस्थामा मालपोत कार्यालयका कर्मचारी र सन्तोष पौडेलले धितो फुकुवाको कीर्ते पत्र बनाई गुभाजुलाई बिक्री गरेको खुल्यो । जग्गा बिक्री गर्ने पौडेल र मालपोतका कर्मचारीको मिलेमतोमा कीर्ते पत्र बनाई गुभाजुलाई झुक्याई जग्गा बिक्री गरेका थिए । तर जग्गा किन्ने गुभाजुलाई २४ दिन अनाहकमा थुनामा राखियो ।

 

बैंकका सीइओ राणा, डेपुटी सीइओ रिमाल र कानुनी सल्लाहकार सोम पन्थको सल्लाहमा ८२१ कित्ता फिर्ता गर्र्ने सर्तमा चितवन शारदानगर ९ को कित्ता नम्बर ४९७, कित्ता नम्बर २३११, चितवनकै पिठुवा ६, गुन्जनगर वडा नम्बर ५ (ख)को कित्ता नम्बर ११४६, कठारको कित्ता न २०५ लगायत तनहुँ कुर्लुङ वडा नम्बर १ का ५ कित्ता जग्गा बैंकमा रोक्का राखे । जेलबाट छुटेपछि गुभाजुका पिताको निधन भयो । उनी किरियामा बसेको बेला पोखरा शाखाका म्यानेजर प्रवलसिंह ठकुरीले नागरिकता मागेर चितवनका उनका सबै जग्गा रोक्का राखे । ती जग्गा रोक्का राख्दा गुभाजुलाई जानकारी नै नदिएको उनको गुनासो छ ।

 

गुभाजु जेलबाट निस्केपछि उनले बैंकको ब्याजबापतको रकम ९० लाख तिर्ने सर्तमा कालु गुरुङलाई भरतपुर महानगरपालिका चौबीसकोठीको १५ कठ्टा जग्गा दिए । जुन जग्गा करोडौं मूल्यको थियो । कालु गुरुङले काठमाडौंस्थित बैंककै कार्यालयमा भूषण राणा, रिमाललाई उक्त ९० लाख तिरे ।

 

३८ करोड सम्पत्ति भए पनि बैंकले गैरकानुनीरुपमा हडपेर सडकमा कपडा बिक्री गर्न बाध्य भएका गुभाजु भन्छन्–‘म कहिल्यै झुटा नबोल्ने आफ्नो पेशा गरेर खाने मान्छे । मैले ४ करोड ८० लाख ऋण तत्कालीन मनकामना विकास बैंकबाट लिएको हुँ । ब्याज ९० लाख जोड्दा कुल ५ करोड ७० लाख भयो । त्यसमा कालु गुरुङले ९० लाख तिरिदिए । उनै गुरुङले मैले धितो राखेका पोखरा महानगरपालिका रानीपौवाको कित्ता नम्बर १६, ७६, फूलबारीको १५२१६, १५२१८, बापत २ करोड ५० लाख सकारेका रहेछन् ।

 

मैले बैंकसँक सम्पर्क गर्दा भास्कर रिमाल र भूषण राणा फोन नै नउठाउने, बैंकमा जाँदा स्टेटमेन्ट पनि नदिने, बैंकमा पस्न पनि नदिने र मेरो श्रीमती जुनकिरण शाक्य बैंकमा गई सोधपुछ गर्दा उहाँ(कमल गुभाजु)को नाममा केही छैन, तपाई फर्केर जानुस्, भनी डर धम्की दिने काम बैंकका शाखा प्रबन्धक ठकुरीले गरे ।’ गुभाजु भन्छन्, पटकपटक स्टेटमेन्ट माग्दा पनि नदिने र बैंकमा भित्रै पस्न दिंदैनन् ।

 

मैले ब्याजबापत रकम तिर्दातिर्दै पनि सुटुक्क जग्गा कालु गुरुङलाई लिलाम गरी बिक्री गरिएको छ । पोखरा महानगरपालिकाको १४ आनामा बनेको घरसहित विभिन्न कित्तासमेत ३ रोपनी भन्दा बढी जग्गा बैंकले लिलाम गरेको छ । उक्त कानुन विपरीत गरिएको लिलाम समेत बदर गरीपाउँ भनी उनी विभिन्न निकायमा धाइरहेका छन् ।

 

उनी न्यायका लागि धाउन थालेपछि भूषण राणा र भास्कर रिमालले ज्यान मार्ने धम्की दिएको बताएका छन् । उनी भन्छन्–‘भूषण राणा र कालु गुरुङको मिलेमतोमा प्रतिस्पर्धा नै नगराई अति कम मूल्यमा जग्गा लिलाम गरिएकोले छानबिन गर्नुपर्छ । गुभाजुले राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष बैंकको आवरणमा भूषण राणाले ३८ करोड सम्पत्ति अन्यायपूर्वक हडपेको निवेदन दिएका छन् ।

 

भूषण राणा र रिमालले यताउता कतै उजुरबाजुर गरेमा छोराछोरी कहाँ पढ्छन् थाहा छ भन्दै तर्साउन थालेपछि उनी गुजारा गर्नका लागि सडकमा कपडा बिक्री गर्न थालेका छन् । अन्यायपूर्वक सबै सम्पत्ति हडपेपछि गुभाजुका पिता र माताको निधन भयो । उनी स्ययं हृदयघात भएर भारतमा महिनौं उपचार गर्न जानुप¥यो । उपचारपछि फर्किएका गुभाजुलाई भुषण राणाले शेरबहादुर देउवा आफ्ना भिनाजु हुन्, उजुरी गरेमा ज्यान नै जाला भनेर धम्की दिएपछि उनी भयभीत छन् । छोराछोरी पाल्न सडकमा कपडा बिक्री गर्न बाध्य छन् ।

 

‘मैले तिर्नुपर्ने ऋण ४ करोड ८० लाख हो । पटक पटक गरी ९० लाख र ४८ लाख ब्याज तिरें । ब्याज पुगेन भनेर तनहुँका मेरा आफन्तको नामको दमौलीको २० रोपनीभन्दा बढी जग्गा समेत खाइसक्यो । तर अझै पनि ऋण कति घटेको छैन भन्दैछन् । बैंकमा अहिलेसम्म ब्याज तिरेको स्टेटमेन्ट समेत नदिएर अन्यायको पराकाष्टा नै पार गरिएको छ । मेरो ३८ करोडको जायजेथा हडपिएको छ’ गुभाजुले भने । उनले ऋण लिएको मनकामना बैंक, यति हुँदै हाल आएर महालक्ष्मी विकास बैंकमा परिणत भएको छ ।

 

उनले ऋण लिएको मनकामना बैंक, यति हुँदै हाल आएर महालक्ष्मी विकास बैंकमा परिणत भएको छ । महालक्ष्मी बैंकका डेपुटी सीइओ सागर शर्मा र अर्का कर्मचारी सुरेन्द्र दाहालले भूषण राणाले गुभाजुलाई लुटेर बाँकी रहेको जग्गा धाकधम्की दिंदै सस्तोमा लिलाम गर्दैआएका छन् । अदालतमा मुद्दा भए पनि भूषण राणाको इशारामा खुरुखुरु सागर शर्मा र दाहालले कम मूल्यमा सुटुक्क जग्गा लिलाम गर्दैआएका छन् । महालक्ष्मी विकास बैंकमा अजयराज सुमार्गीको ठूलो हिस्सा लगानी छ । यो समाचार आजको साँघु साप्ताहिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...