प्रचण्डको अमेरिका भ्रमण, भेनेजुएला प्रकरण मत्थर पार्ने उद्देश्य



 

सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदैछन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ नेकपा गठन भएपछि प्रचण्डको यो चौथो विदेश भ्रमण हुनेछ ।

 

नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डले गएको असोजमा छिमेकी मुलुक चीन र भारतको भ्रमणको भ्रमण गरिसकेका छन् । पत्नी सीता दाहालको उपचारको सिलसिलामा प्रचण्ड आइतवार साँझ अमेरिका प्रस्थान गर्दैछन् । सीता दाहालको उपचारकै सिलसिलामा प्रचण्ड यसअघि सिंगापुर गएका थिए ।

 

पत्नीको उपचारका लागि भनिएपनि यो ‘राजनीतिक भ्रमण’ भएकोमा सन्देह छैन । राजनीतिक रूपमा पनि प्रचण्डको यो भ्रमणको अर्थ छ ।  ‘उपचार त हुँदै हो, तर यतिबेला अमेरिका जान लागेको चाहिँ  कूटनीतिक दूरी नबढोस् भन्ने सन्देश दिनकै लागि हो,’ प्रचण्डनिकट स्रोतले भन्यो ।

 

भेनेजुएला प्रकरण मत्थर पार्ने उद्देश्य

भेनेजुएलामा भएको राजनीतिक परिघटनामा नेकपाको अध्यक्षको हैसियतले प्रचण्डले विज्ञप्ति प्रकाशित गरे । भेनेजुएलामा भएको निर्वाचनमा राष्टपति मडुरोको पक्षमा प्रचण्डले वक्तव्य जारी गरेपछि त्यसले तरंग ल्यायो । विज्ञप्तिको भाषामा कूटनीतिक संयम नदेखिएको भनी आलोचना भयो ।

 

प्रचण्डले भेनेजुएलामा अमेरिकाका तर्फबाट विपक्षी नेता खुवान गुआइडोलाई राष्ट्रपतिको मान्यता दिँदै अधिकृत राष्ट्रपति मडुरोलाई सत्ता छोड्न दिइएको चेतावनीको विरोधमा विज्ञप्ति प्रकाशित गरेपछि त्यसलाई अमेरिकाको विरोध गरिएको जस्तो अर्थ लगाएर व्याख्या भयो ।

 

तत्कालै नेपालस्थित अमेरिकी राजदूतावासले यस विषयमा सरकारको धारणा सार्वजनिक हुनुपर्ने माग राख्यो । उक्त विज्ञप्ति प्रचण्ड आफ्नै मात्र धारणा हो कि सरकारकै धारणा हो भनी स्पष्ट पार्न दबाब पर्‍यो ।

 

निकै हल्लीखल्ली भएपछि प्रचण्डको विज्ञप्तिलाई नेकपाको स्थायी समिति बैठकले पनि अनुमोदन गर्‍यो । र कूटनीतिक भाषामा परराष्ट्र मन्त्रालयले पनि सार्वभौम मुलुकमा बाह्य हस्तक्षेप हुनु नहुने भन्ने आशयका साथ विज्ञप्ति प्रकाशित गर्‍यो ।

 

यो विषय लम्बिँदै जाँदा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा समेत चिसोपन आयो । सरकारले राजदूतहरूलाई बोलाएको मिटिङमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी अनुपस्थित रहे ।  त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूतको भेटपछि यो विवाद साम्य भयो ।

 

तर अहिले आएर दुईतिहाइको सरकारको नेतृत्व गरिरहेको पार्टीका अध्यक्ष र भावी प्रधानमन्त्रीका दाबेदारको रूपमा प्रचण्डले अमेरिकासँगको सम्बन्ध सुधारका लागि यो भ्रमण तय गरेका हुन् ।

 

यसरी तय र स्थगित भयो भ्रमण

प्रचण्डपत्नी सीता दाहाल लामो समयदेखि बिरामी छिन् । सीताको उपचारका लागि प्रचण्ड यसअघि सिंगापुर पुगिसकेका हुन् । यसपटक कसैले अमेरिकाको वाशिङटन डीसीमा रहेको अस्पतालमा उपचार गराउँदा निको हुने सुझाव दिएपछि सीताको जोडबलमा प्रचण्ड अमेरिका जाने कार्यक्रम तय भएको हो ।

 

तर पार्टीका नेताहरूले पार्टी एकीकरणको काम पूरा नभएको भन्दै परिवारका अन्य सदस्यलाई लिएर जान सुझाव दिएपछि प्रचण्डले छोरीसँग सीतालाई अमेरिका पठाउने योजना बनाएका थिए ।

 

यसबीचमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले प्रचण्डलाई सम्बन्ध सुधारका लागि अमेरिका आउन विशेष आग्रह गरे । स्रोतका अनुसार, अमेरिकामा रहँदा प्रचण्ड नेपाली दूतावासको अतिथिगृहमा बस्नेछन् । त्यसक्रममा अमेरिकाका अधिकारीहरूसँग भेट्ने कार्यक्रम तय भइसकेको छ ।

 

अनि प्रचण्डले जाने निधो गरे

यसअघि दुईपटक अमेरिका पुगेका प्रचण्डको अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएपछि अमेरिकामा बस्ने नेपाली र केही मानवअधिकारवादी संस्थाले विरोध गर्ने सूचना प्रचण्डले पाए ।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार हननका मुद्दालाई लिएर विरोध हुने सुइँको प्रचण्डले पनि पाए । यस्तै सूचनाका कारण प्रचण्डले अस्ट्रेलिया भ्रमण स्थगित गरेका थिए ।

 

‘पहिला अस्ट्रेलिया जान ठिक्क परेको बेलामा अन्तिम समयमा स्थगित भयो, अहिले अमेरिका जाने भनेर हल्ला भइसक्यो । अब नजाँदा विश्व भ्रमणका लागि प्रचण्ड योग्य छैनन्, प्रचण्डलाई कहीँ कतै खतरा छ भन्ने अफवाह नफैलियोस् भन्नका लागि पनि अमेरिका भ्रमणमा जाने निधो गरेका हुन्,’ प्रचण्डनिकट स्रोतले लोकान्तरलाई बतायो ।

 

उनी यसअघि २०७३ असार पहिलो साता अस्ट्रेलिया जाने कार्यक्रम स्थगित भएको थियो । तर अमेरिकामा गाह्रो अप्ठ्यारो नपर्ने सुनिश्चित गरेर मात्र प्रचण्ड अमेरिका जान लागेको उनीनिकट स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी