देउवालाई सभापतिबाट अपदस्थ गर्न जिल्ला सभापतिहरूको गोप्य बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले गोप्य अभियान चलाएका छन् ।
पौडेल–सिटौला समूहले देउवालाई सभापतिबाट हटाउने योजना बनाएको खुलासा भएको हो । विशेष महाधिवेशन बोलाउन लगाएर देउवालाई हटाउने योजना बनाएका जिल्ला सभापतिहरूले नयाँ सभापति कसलाई बनाउने भन्नेबारे केही बताएका छैनन् ।
काठमाडौंको अनामनगरमा शुक्रबार बसेको कांग्रेसका केही जिल्ला सभापतिहरूको गोप्य बैठकले देउवालाई विशेष महाधिवेशन बोलाउन बाध्य बनाउने योजनाका साथ महासमिति सदस्यहरूको हस्ताक्षर अभियान चलाउने सहमति गरेको छ ।
देउवालाई हटाउने योजनाको नेतृत्व केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाई समेत रहेका नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले लिएका छन् ।
नुवाकोट कांग्रेसका सभापति केसीलाई नेता मानेर अनामनगरमा बसेको जिल्ला सभापतिहरूको भेलाले महासमिति सदस्यहरूको हस्ताक्षर अभियान चलाउने निर्णय पनि गरेको छ । उच्च स्रोतका अनुसार देउवाले कांग्रेसलाई नोक्सानी गरेको भन्दै विशेष महाधिवेशनबाट हटाउने गोप्य सहमति भएको छ ।
गोप्य भेलामा महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको स्रोतले जनाएको छ । गोप्य बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो ।
महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेको एकजना जिल्ला सभापतिले जानकारी दिएका छन् ।
७७ वटै जिल्लामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्दा सभापतिहरूले अग्रसरता लिने उनीहरूले बताएका छन् ।पार्टी संस्थापनले जितेका जिल्लामा सभापतिका निकटतम प्रतिद्वन्द्वी बनेका उम्मेदवारको नेतृत्वमा हस्ताक्षर अभियान चलाइनेछ ।
गोप्य बैठकमा जगदीश्वरनरसिंह केसी – नुवाकोट, मधु आचार्य – काभ्रे, सबुज बानियाँ – काठमाडौं, हिमालय कर्माचार्य – इलाम, लीला बोखिम – ताप्लेजुङ, विकास लामा – सिन्धुपाल्चोक, खड्गबहादुर शाही – मुगु, अमरसिंह पुन – रोल्पा, नरेशकुमार श्रेष्ठ – खोटाङ लगायतको सहभागिता रहेको थियो ।
विप्लवलाई देउवाको आग्रह- हिंसा छाडेर वार्तामा आऊ
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।
प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस हो ? भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले संविधानमा जे व्यवस्था छ त्यसैलाई कांग्रेसले मान्ने बताए ।
उनले कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले पनि हिन्दु राष्ट्रका पक्षमा बोलेर केही नहुने बताए ।
सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने पनि बताए ।