२०७६ सालमा ६६ दिन बिहेको लगन, कुन महिनामा कति दिन
२०७६ सालमा ६६ दिन विवाहको साइत जुरेको छ । ६ वटा महिनामा एक दिन पनि विवाह गर्ने साइत जुरेको छैन । पाञ्चाङ्ग निर्णायक समितिको सहमतिमा प्रकाशित पात्रोअनुसार साउन, भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा एक दिन पनि बिहेको लगन छैन ।
नयाँ वर्षमा वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनामा कुल ६६ दिन विवाहको साइत तोकिएको छ । यसमा सबैभन्दा धेरै जेठ महिनामा १७ दिन लगन जुरेको छ । वैशाख र फागुनमा ११/११ दिन बिहेको साइत परेको छ ।
विवाहको सिजन मानिने मंसिर महिनामा भने ८ दिनमात्रै विवाहको साइत रहेको पात्रोमा उल्लेख छ । वैशाख महिनाको ३ गतेदेखि ८ गतेसम्म लगातार लगन जुरेको छ । त्यसपछि वैशाख १८, २३, २४, २९ र ३१ गते विवाहको साइत जुरेको छ ।
जेठ महिनामा २ गतेदेखि ५ गतेसम्म बिहेको साइत जुरेको छ । त्यसैगरी जेठ ९, १४, १५, १६, २१, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ गते बिहेको लगन जुरेको छ ।
असार महिनामा १, ९, १०, ११, २१, २२, २३, २४, २५, २६ गते साइत तोकिएको छ । असारपछि साउन, भदौ, असोज र कात्तिक महिनामा एकदिन पनि बिहेको साइत छैन । तथापि असोजमा दशैंको टीकाको दिन बिहे गर्ने प्रचलन छ । मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । तर, मंसिर महिनामा ३, ६, १२, १४, १९, २०, २१ र २५ गते विवाहको साइत परेको छ ।
पुस महिनामा विवाहको साइत परेको छैन । माघमा २, ४, १५, १६, १७, २१, २६, २७, २९ गते साइत जुरेको छ । त्यस्तै फागुनमा ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको साइत जुरेको छ । चैतमा पनि लगन छैन ।
विवाह पञ्चमीमा विवाह गर्न नमिल्ने
०७६ सालमा विवाहपञ्चमीकै दिन विवाहको लगन राखिएको छैन । सामान्यतः विवाह पञ्चमीको दिन विवाह गर्न साइत हेराइरहनुपर्दैन भन्ने मान्यता छ । तर, यस वर्ष मंसिर १५ गते परेको विवाह पश्चमीको दिन विवाहको साइत उल्लेख छैन ।
तोयानाथ पञ्चांगले पात्रोमा साइत उल्लेख नभएको दिन विवाह गर्नु उचित नहुने बताएको छ ।
त्यसैगरी साइत हेर्नु नपर्ने भनी चिनिएका दिनमध्ये अक्षय तृतीया र माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमीमा विवाहको साइत पनि परेको छ । तर, असोज शुक्ल नवरात्री अर्थात महानवमीको दिन पनि विवाह गर्नु उचित नहुने तोयानाथ पात्रोको दाबी छ ।
२०७६ सालको दशैं असोज २१ गते, भाइटीका कात्तिक १२ गते
२०७६ सालको दशैंको टीका असोज २१ गते परेको छ । तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ । २०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा छ ।
हरितालिका तीज भदौ २६ गते छ । यसैगरी असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।
गोवर्धन पूजा र भाइटीका एकैदिन
कात्तिक ८ गतेबाट दोस्रो ठूलो चाड तिहार सुरु हुने छ । कात्तिक ८ गते यमदीप दान गरेपछि ९ गते शनिबार काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा परेको छ ।
१२ गते गोवद्र्धन पूजा र भाइटीका एकैदिन परेको छ । तोयनाथ पञ्चाङ्ग पात्रोका प्रकाशक सूर्यनाथ पन्तले अनलाइनखबरसँग भने, ‘२०७६ सालमा गोवद्र्धन पूजा र भाइटीका जुधेको छ । कतिबेला गोवद्र्धन पूजा गर्ने र कतिबेला भाइटीका लगाउने भन्ने कुरा चाहिँ पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्छ ।’ २०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।


