दुई वटा प्लेन नै चार्टर गरेर जन्ती लाने यी हुन धनकुटाका किसानका छोरा !
सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र गाडी भाडामा मात्र ७ लाख ५० हजार खर्च गरेका छन् ।
महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगा नेता चोकका नगेन्द्र थापाले विवाहमा दुई वटा प्लेन चार्टर गरेर एकमात्र छोरा दिनेश थापाको विवाह सम्पन्न गरेका छन् ।
बुबा नगेन्द्र र आमा लक्ष्मीमाया कार्की थापाको एकमात्र सुपत्र २९ वर्षीय दिनेश थापाको काठमाण्डौ ठमेल निवासी प्रज्ञा सुवेदीसँग फागुन २९ गते हिन्दू परम्पराअनुसार भव्य विवाह गरिदिएका छन् । विवाहमा काठमाण्डौ जन्ती जाँदा आउँदा सीता एयर र बुद्ध एयर चार्टर गरेर ७१ जना जन्ती गएको बेहुलाका बुबा नगेन्द्र थापाले बताउनुभयो ।
कृषि र व्यापार व्यवसाय गर्दै आएका थापाले छोराको विवाहमा विराटनगरसम्म प्लेनमा आउँदा जाँदा र विराटनगरबाट धनकुटासम्म गाडीमा यात्रा गर्दा झण्डै ७ लाख ५० हजार खर्च भएको थापाले बताउनुभयो ।
थापा दम्पत्तीका एक मात्र छोरा रहेका छन् । बीएस्सी गरेका थापाका छोरा दिनेशले अहिले सुनसरी टेक्निकल कलेजमा फार्मेसीमा एमएस्सी गर्दै छन् । उनी यस वर्ष फार्मेसीमा पूर्वाञ्चल टपर पनि हुन् ।
यता बुहारी प्रज्ञा सुवेदी भने काठमाण्डौमा नै लक्ष्मी बैंकमा काम गर्दै आएकी छिन् । गाउँका इष्टमित्रलाई कहीँ कतै भ्रमणमा लैजाने आफ्नो इच्छा पहिलेदेखि नै भएकोले गर्दा छोराको विवाहको अवसर पारेर प्लेन चार्टर गरेर काठमाण्डौ लगेर ल्याएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले जन्ती लैजाँदा समाजका सबै उमेर समूह समेटेर समावेशी हिसाबले लगेँ ।’
तरकारीको राजधानी नामले चिनिने धनकुटाको सिधुवा बजार नजिक रहेका मुर्तिढुंगाका कृषक थापाको अहिले सिधुवा, हिले, धरानलगायतका विभिन्न शहरहरुमा निजी घरहरु रहेका छन् । उनी अहिले पनि अलैची कृषकको नामले परिचित छन् ।
दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण
जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् ।
महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधवार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलो पटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले आफ्नै निवास रहेको जीतपुरबाट विराटनगर विमानस्थलसम्म तीन वटा गाडीमा जन्ती लगेका थिए।

विराटनगरबाट काठमाडौँ गएर साँझ पुनः बुद्ध र सिम्रिक एयर चार्टर गरेर हवाईजहाजमा जन्ती विराटनगर आएको थापाले बताए। ज्येष्ठ नागरिकलाई काठमाडौँ भ्रमण गराउने मुख्य उद्देश्यले जन्तीको रूपमा प्लेन चार्टर गरेर लगेको हुँ’ उनले भने, ‘छोराको जन्ती भएर गाउँघरका अधिकांश ज्येष्ठ नागरिक भ्रमण गराउन पाएकोमा खुसी लागेको छ।’
७५ वर्षीय दिलबहादुर पौडेलले पहिलो पटक काठमाडौँ पुग्दा निकै दङ्ग परेको बताए। जन्ती भएर दौरा सुरुवालमा ठाँटिएका पौडेलले जहाजसमेत पहिलो पटक चढेको बताए। एकै दिनमा विराटनगर–काठमाडौँ हवाईजहाज चढेर आतेजाते गर्दाको क्षण जीवन सुखद रहेको प्रतिक्रिया दिए।
‘मैले त सोचेकै थिइन यस्तो अवसर आउला भन्ने’ उनले भने, ‘पिलेनबाट तल हेर्दा रिँगटा लागे जस्तो भए पनि असाध्यै रमाइलो भयो।’ पौडेल जस्तै ६८ वर्षीय चक्रबहादुर कार्कीले पनि काठमाडौँ देख्न पाउँदाको खुसी भुल्नै नसक्ने बताए। अर्का ज्येष्ठ नागरिक पदमबहादुर खड्काले पनि पहिलो पटक जहाज चढेर काठमाडौँ पुग्दा रमाइलो भएको बताए।
जन्तीको रूपमा महालक्ष्मी नगरपालिकाका मेयर परशुराम नेपाल, शिक्षा समन्वय ईकाइ प्रमुख रामबहादुर थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेलगायत जनप्रतिनिधिहरू पनि गएका थिए। जहाज चढेर जन्ती भएर सिँगारिएको भव्य पार्टी प्यालेसमा पुग्दा अधिकांश दङ्ग देखिएको जन्तीका रूपमा गएका महालक्ष्मी नगरपालिका मेयर नेपालले बताए। ६९ जना मध्ये अधिकांश पहिलो पटक जहाज चढेका थिए।
दुबैतर्फ आतेजाते चार्टर गर्दा साढे सात लाख रुपैयाँ खर्च भएको नगेन्द्रले जानकारी दिए। अलैंची खेती र व्यावसायिक पशुपालन गर्दै आएका उनले गाउँभरिका ज्येष्ठ नागरिकलाई आफ्नै खर्चले भ्रमण गराउने पहिले देखिको मनोकांक्षा रहेकोले जन्तीको अवसर पारेर इच्छा पुरा गरेको बताए। उनी छोरा दिनेश र काठमाडौँ निवासी बुहारी प्रज्ञा सुवेदीसहित जहाजबाट बुधवार राति नै पुनः जीतपुर फर्किएका छन्।


