मलाई मार्न विप्लवले मान्छे नै खटाए : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्न मान्छे खटाएको दाबी गरेका छन् ।
सँगै ‘जनयुद्ध’ लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको आरोप लगाउँदै उनले ‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ’ भनेर टिम खटाएको दस्तोवज भेटिँदा दुःख लागेको बताए ।
बिहीबार वाइसीएलले काठमाडौंको कोटेश्वर, पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा उनले ‘प्रचण्डलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्छ त ?’ भन्दै प्रश्न गरे ।
आफूलाई मार्न टिम खटाउनेप्रति दया लागेको भन्दै उनले राम्रोसँग सोच्न आग्रह गरे । राज्य कानुनअनुसार अघि बढ्ने भन्दै उनले ‘जनयुद्ध’को योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति–प्रक्रियाको पनि नेतृत्वकर्ता भएकाले अन्तिमसम्म लडिराख्ने बताए ।
‘विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेको’ भन्दै उनले देशमा राजतन्त्रपनि नभएको र २०५२ सालकोजस्तो परिस्थिति पनि नभएकाले विप्लवले केही गर्न नसक्ने बताए ।
आफूहरुकै कारण देशमा परिवर्तन भएको दाबी गर्दै दाहालले भने–‘यसकाविरुद्ध लाग्नु भनेको निरंकुशता ल्याउन सघाउनु हो ।’ सहिद तथा बेपत्ताजनका परिवारलाई नेकपाको नेतृत्वमा दुईतिहाइको सरकार रहेकाले निराश हुन नपर्ने भन्दै सहिदहरुको सम्मानमा ठूलो पार्क बनाएर नाम लेखिने र त्यसो भएमा परिवारजनमा पनि खुसी आउने उनको भनाइ थियो ।
प्रचण्डले विप्लवलाई सुझाव दिदै भने, क्रान्ति नै गर्ने हो र प्रचण्ड नै बन्ने हो भने यसरी हुँदैन । नयाँ तरिकाले क्रान्तिको मोडेल बनाउनुस् । वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले गत मंगलबार नेत्रविक्रम विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने निर्णय गर्यो । यो निर्णयप्रति पार्टी कै नेताहरु आलोचनामा उत्रिएका छन् ।विप्लव समूहका आतंककारी र आपराधिक बढ्दै गएको ठहर गर्दै सरकारले उस्लाई प्रतिवन्ध लगाउने निर्णय गरेको हो । यो पार्टीले गत फागुन १० गते ललितपुरस्थित एनसेलको मुख्यालयमा बम विस्फोट गरेको थियो ।
यस्तै देशैभरका दर्जनौं एनसेल टावरमाथि भएको आगजनी गराएका थियो । गत शुक्रवार नेपाल म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा बम विस्फोट गराएको थियो ।जतिखेर विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परे । त्यही समयमा प्रहरीले एउटा डायरी फेला पार्यो । उक्त डायरीमा मुख्य–मुख्य आर्थिक सहयोगीको नाम टिपिएको थियो ।यस्तै भावी योजना र रणनीतिहरु बारे समेत टिपोट गरिएको थियो ।
प्रहरीले फेला पारेको उक्त डायरीमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा अध्यक्ष प्रचण्डसम्मलाई गिरफ्तार गर्ने डरलाग्दो योजना बनाइएको भेटिएको थियो ।
यस्तै सोही डायरीमा उनीहरुलाई चन्दा सहयोग गर्नेहरुको नाम समेत त्यहाँ रकम सहित उल्लेख गरिएको थियो ।सो डायरीमा जेम्स स्कुलका मालिक राजेश खड्काले २० लाख, काठमाडौं मेडिकल कलेजले १५ लाख, प्रसादी एकेडेमीले १० लाख, गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख, नाइटिंगेल स्कुलले ५ लाख, हेलि एभरेष्टले १० लाख, निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख दिएको डायरीमा उल्लेख छ ।
त्यस्तै, सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख, औषधि माफिया विशाल पण्डितले ५ लाख, सुरेन्द्रबहादुर सिंहले १ करोड, ग्लोबल आइएमई बैंकले २० लाख,नोबेल मेडिकल कलेजले १५ लाख, रामबहादुर धितालले १ लाख, क्यासिनो किङ किशोर सिलवालले १ करोड, युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख, म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख, सुरेन्द्र अधिकारीले १० लाख दिएका छन् ।
हेटौंडामा सञ्चालित चिनियाँ लगानीको शिवम् सिमेन्टले १५ लाख, मारुती सिमेन्टले ५ लाख, अनिल अग्रवालले ५, सोनापुर सिमेन्टले ३ लाख, घोराही सिमेन्टले ५ लाख, एनबी ग्रुपले ३ लाख, गोल्छा अर्गनाइजेशनले ३ लाख, बुटवल पावर कम्पनी लिमिटेडले १ लाख, ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख, सुवास श्रेष्ठले १ लाख, निष्टका माधव बरालले ५ लाख, डाक्टर कनौडियाले १ लाख, सिर्जना राणाले १ लाख, रामेश्वर अर्यालले १ लाख, अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएको विवरण उल्लेख थियो