‘स्वतन्त्र मधेश गठबन्धन’को राष्ट्रिय परिषद् बैठक आह्वान, यस्तो छ सीकेको तयारी
सीके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। बैठक आउँदो चैत ४ र ५ गते जनकुपुरमा तय गरिएकाे छ।
अघिल्लाे शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारकाे राजनीतिमा फर्किएका राउतले गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बाेलाएका हुन्।
गठबन्धनले सरकारसँग गरेकाे सम्झाैतालाई ऐतिहासिक सफलता र विजय भएकाे बताउँदै यसपछिकाे रणनीति तय गर्न बैठक डाकेकाे जनाएकाे छ।
राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएकाे छ।
सरकारसँग सहमति गरेकाे दाेस्राे दिनमै गृहनगर जनकपुर पुगेका राउतकाे गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए।
सहमतिसँगै सरकारको चर्काे आलोचना भइरहेको छ । सहमतिपछि मधेशझरेका राउतको स्वागतमा सहमति विपरित पूरानै झण्डा र ब्यानर प्रयोग गरेको भनेर आलोचना भइरहेको छ ।
सरकारसँगको सहमति र यी सबै गतिविधिबारे बैठकले प्रष्ट पार्ने अपेक्षा गरिएको छ ।