को हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ ?, लाहुरेका नातिको जनयुद्ध यात्रा



 

सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको छ । यद्यपी, यो बन्दको कार्यक्रम सरकारले प्रतिबन्ध लगाउनु अगावै सार्वजनिक भइसकेको थियो ।

 

पछिल्लो समय चन्द नेतृत्वको नेकपाले आगजनी र बम विस्फोटका घटना गराइरहेको छ । प्रहरीले केहीदिन अघि विप्लवको गाउँमा छापा मारि केही थान हतियार बरामद गरेको थियो । विप्वल समूहका एक स्थानीय नेतालाई गोली हानी नियन्त्रणमा लिएको थियो ।

 

विप्लव समूहले सैन्य तालिम दिइरहेको तथा हतियार निर्माण गरिरहेको सूचना सुरक्षा निकायमा पुगेको छ । सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहको खोजी तीब्र पारेको छ भने विप्लवका नेता, कार्यकर्ता भूमिगत भएका छन् । कतिपयले विप्लवको नेतृत्वमा देशमा दोस्रो ‘जनयुद्ध’ हुन लागेको भनेर टिप्पणी पनि गरिरहेका छन् ।

 

आखिर को हुन् त विप्लव ? हामीले यहाँ विप्लवका बारेमा हालसम्म प्राप्त जानकारी प्रस्तुत गर्ने जर्मको गरेका छौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाको केवरीमा मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा जन्मिएका थिए । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्ती बाबुआमाका कान्छो सन्तान विप्लवका तीन दिदीबहिनी र दुई दाजुभाइ छन् । विप्लवका सात भाइ बाजेमध्ये छ भाइ लाहुरे थिए ।

 

विप्लवको बाल्यकाल रोल्पामै बित्यो। उनले लिवाङको बालकल्याण माध्यामिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । विप्लवलाई नजिकबाट चिन्नेहरू उनी बाल्यकालमा लाहुरेसँग लडाइँको कुरा गर्न मन पराउँथें । विप्लवमा विद्यालय तहमा पढ्दादेखि नै राजनीति चेत थियो ।

 

उनले २०३९ सालमा अखिल छैठौंबाट राजनीति सुरू गरेका थिए । त्यसको ४ वर्षमै विप्लव विद्यार्थीको रोल्पा अध्यक्ष भए भने त्यही वर्ष उनले एसएलसी पास गरेका हुन् । लगत्तै उनी पढ्न काठमाडौं आए । नेपाल ल क्याम्पसमा कानुन पढ्न भर्ना भए । विप्लवले २०४८ सालमा स्नातक तेस्रो वर्षमा भर्ना हुन पाएनन् । त्यतिबेला एकता केन्द्र मसालको सदस्य बनिसकेका विप्लव सक्रिय राजनीतिमा अघि बढे ।

 

यसबीच २०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सर्न पुग्यो । विप्लवले सुभद्रा मल्लसँग बिहे गरे भने उनीहरूका दुई छोरा र एक छोरी छन् । विप्लवको नाममा कपिलवस्तुमा रहेको जमिन पनि पार्टीको नाममा बुझाएका थिए । विप्लवले कहिल्यै जागिर खाएनन् ।

 

माओवादीले जनयुद्ध सुरु गर्दा विप्लव विद्यार्थी उपाध्यक्ष थिए । त्यस बेला जनयुद्ध थालनी गर्न पार्टी नेतृत्व डराएको भन्दै विप्लवले भनेका थिए–बुढाहरूले छिटो जनयुद्ध सुरू नगर्ने हो भने हामी सुरू गर्छौं । जनयुद्ध लड्न उनले हतियारसमेत जम्मा गर्न थालेका थिए ।

 

तत्कालीन माओवादीले २०५२ फागुन १ बाट जनयुद्ध सुरु गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए । २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर खटाएको थियो ।

 

विप्लवले त्यसपछि आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगे । २०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बने । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए ।

 

कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला विप्लवले प्रहरीहरूबाट हतियार लुटेका थिए । त्यसपछि पार्टीभित्र उनको कामको प्रशंसा भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए ।

 

कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव चर्चित बनेका थिए । नेतृत्वको कमजोरी खरो ढंगबाट नडराइ बोल्ने भएपछि विप्लवलाई दाहालले अँगाल्न छाडे उनको साटो वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई च्यापे ।

 

माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र विप्लवको सम्बन्ध बिग्रियो । पार्टीभित्र एक पटक पनि छलफल नगरी जनयुद्ध रोक्ने र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै दाहालसँग विप्लव रुष्ट बनेका थिए । दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध थियो ।

 

२०६४ साल साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले नेतृत्वको विरोध गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे । त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिए ।

 

विप्लवले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए । त्यसको चार वर्षमा २०६९ मा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहितलाई लिएर विप्लव पनि नयाँ पार्टी गठनमा लागे ।

 

वैद्यसँग पनि कुरो नमिलेपछि २०७१ मा आफ्नै नेतृत्वमा विप्लवले नयाँ पार्टी बनाए । अहिले उनी नेपाल कम्युनिष्ट पार्टीका महासचिव छन् । २०४५ र २०५० सालमा पटकपटक जेल परेका विप्लव शान्ति प्रक्रिया पछि पनि कुनै लाभको पदमा छैनन् ।

 

विप्लव पछिल्लो समय एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि लागिपरेका छन् । विप्लव २०७४ देखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

 

सँगै जनयुद्ध लडेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला पूर्वसहयोद्धा विप्लव फेरि भूमिगत छन् । हिजो एउटै थालीमा खाएका विप्लव र बादल अहिले एकअर्कालाई ‘शत्रु’मा रुपमा परिभाषित गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी