विप्लव समूहलाई प्रतिबन्ध गर्नु गलत : माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् ।बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए ।
‘पार्टीभित्र (छलफल) भएको छैन । पार्टीभित्र गम्भीर विषयमा (छलफल) हुनुपर्थ्यो’ उनले भने ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’
सरकारमा गम्भीर तयारी गरेर र पर्याप्त छलफल गरेर भन्दा प्रचारात्मक कुरामा जाने प्रवृत्ति देखिएको नेता नेपालले बताए । ‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो’ उनले भने ।
आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने नेता नेपालले बताए । ‘सरकारले सबै पक्ष सोचेरै गरेको होला भन्ने अनुमान गरौं’ उनले भने ‘सोधेपछि, सल्लाह गरेपछि अरुले पनि जिम्मा लिन्छन्, डिफेन्ड गर्छन् मौरीजस्तो जाइलाग्छन्, वास्तै गरिएन भने किन जिम्मा लिने ?’
मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, शान्ति सुरक्षा र सरकारको वैधानिकता स्वीकार गर्ने कुरामा कुनै बाधा आएमा पन्छाउनुपर्ने भन्दै नेता नेपालले यसरी कदम चाल्दा कमी कमजोरी भयो कि भएन भन्नेमा भने ध्यान पुर्याउनुपर्ने बताए ।
सरकारले विप्लव समूहमाथि हतारमा प्रतिबन्ध लगायो : देवेन्द्र पौडेल
सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । यद्यपि यसबारे पार्टीमा छलफल हुन बाँकी रहेको बताए ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले अधिकतम लचिलो भएर वार्तामा ल्याउन पहल गर्नुपर्ने बताए । ‘पार्टीमा छलफल हुन बाँकी छ । मेरा कुराहरु पार्टीमा राख्छु तर म यति भन्न चाहन्छु कि कुनै पनि पक्षलाई धकेल्ने, निशेध गर्ने र बाध्यात्मक बाटो लिन बाध्य पार्ने काम राज्यले गर्नु हुँदैन ।
विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने उनले बताए । वार्ताका लागि प्रयास गर्दागर्दै पनि नभएमा मात्र सरकारले यस्तो कदम चाल्नुपर्ने उनको धारणा छ । राज्यले नियन्त्रण गर्नै नसक्ने घटनाहरु नघटेको दाबी गर्दैै नेकपा नेता पौडेलले भने, ‘छिटपुट घटनाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’
अझै पनि सरकारले बार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । उनले भने,’विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, उहाँहरुले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढी पहलकदमी राज्यले लिनुपर्छ । राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन ।’
वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’ उनले भने,’जेसुकै भएपनि शान्ति र समृद्धिको बाटोमा बढ्नुछ । आवश्यक पर्यो भने संविधान संशोधन गर्न पनि सकिन्छ ।’