विप्लव समूहलाई प्रतिबन्ध लगाएर मात्र हुदैन्, कडा कारबाही गर्नुपर्छ- शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएर मात्र नहुने भन्दै कडा कारबाही पनि गर्नुपर्ने बताएका छन्।
विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपर्युक्त भएको बताए । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले प्रतिबन्ध मात्रै नभएर जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
‘विप्लवले मान्छे मार्ने आतंक फैलाउने काम गरेको छ, हाम्रै मान्छे माथि पनि हत्या गर्नेगरी आक्रमण भयो,’ सभापति देउवाले भने, ‘प्रतिबन्ध मात्रै होइन कारवाही गर्नुपर्यो, अति गरेको छ विप्लवले मान्छे मार्ने बम पड्काउने गर्नेलाई कारबाही गर्नुपर्छ, प्रतिबन्ध लगाउने काम सही छ।’
सभापति देउवाले सरकार र सिके राउतबीच भएको सहमति आफूहरुलाई मान्य नभएको बताए । जनअभिमतमार्फत जनताको माग सम्बोधन गर्ने भन्ने विषयलाई राउत पक्षधरले जनमतसंग्रह भएको बताइरहेको कारण त्यो आफूहरुलाई कुनै हालतमा मान्य नहुने बताए।
देश टुक्र्याउने र विखण्डनकारीलाई कानुन अनुसार कारवाही गर्नुपर्ने भनाइ थियो। ‘कुनैपनि हालतमा जनमतसंग्रह मान्य हुँदैन,’ देउवाले भने। यस्तै देउवाले रेशम चौधरीलाई आदलतले जेल पठाउने आदेश उपर्युक्त भएको बताए। ‘प्रहरीलाई मार्ने, बच्चालाई मार्नेलाई जेल सजाय त हुनैपर्थ्यो नि हत्या त हत्या नै हो नि,’ देउवाले भने।
सरकारको भण्डाफोर गर्ने विप्लवको चेतावनी
सरकारले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाउने घोषणा गरेसँगै नेकपाले त्यसको भण्डाफोर गर्ने चेतावनी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्व नेकपा आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारले लगाएको प्रतिबन्धबारे प्रारम्भिक प्रतिक्रिया दिँदै विप्लव नेकपाले सरकारी निर्णयको प्रतिवाद गर्ने चेतावनी दिएको हो । सरकारको संविधानको मर्मविपरीत निर्णय गरेको बताउँदै पोलिटब्युरो सदस्य मोहनबहादुर कार्कीले कडा प्रतिकार गर्ने चेतावनी दिनुभयो ।
सरकारले मुडभेड निम्त्याएको भन्दै सदस्य कार्कीले आफूहरु मुडभेडका लागि तयार रहेको बताउनुभएको खबर जनता समाचार अनलाईन र जनता टीभिमा प्रकाशित प्रशारित छ ।
विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधि आपराधिक भएको ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए ।
उक्त समूह राजनीतिक उद्देश्य भन्दा हिंसात्मक र आपराधिक ढंगले अघि बढेकाले कानूनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । वार्तामा आउन पटक पटक आग्रह गर्यौं तर वार्तालाई वास्ता गरेन, उल्टो हिंसात्मक गतिविधि गर्दै गयो, एक मन्त्रीले कान्तिपुरसँग भने, ुचन्द समूहको राजनीतिक उद्देश्य पनि देखिएन, आपराधिक खालको गतिविधिमा मात्र संलगन रह्यो । त्यसैले त्यस्ता गतिविधि रोक्ने निष्कर्षमा सरकार पुगेको हो ।
चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता छैन । समान्यतया दलका रुपमा भनिए पनि कानूनी रुपमा दलको हैसियत छैन । त्यसैले यो समूहलाई दलको रुपमा सरकारले बुझेको छैन । त्यसैले हिंसात्मक गतिविधि गर्ने आपराधिक समूहको रुपमा यसलाई व्याख्या गरेको छ ।पछिल्लो समय चन्दको समूहले विस्फोट, आगजनी, चन्दा असुली लगायतका घटनाहरु बढाएको थियो ।
गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय केन्द्रित गरेर विस्फोट गराएको थियो । उक्त विस्फोटमा एक जनाको ज्यान गएको थियो । त्यही दिन उक्त, समूहले राजधानीको कमलपोखरीमा बम राखेको थियो ।त्यस्तै फागुन २४ गते वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा विस्फोट गराएको थियो । उक्त विस्फोटमा ४ जना घाइते भएका थिए ।
करिब डेढ महिनाअघि संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको विद्यतुगृहमा विस्फोट गराएको थियो ।त्यस्तै एनसेलका बाग्लुङ, म्याग्दी, कास्की, नवलपरासी, कपिलवस्तु लगायतका विटिएस टावरमा आगजनी गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरुलाई धम्काउँदै चन्दा असुलीलाई तिब्रता दिएको थियो । विद्यालय लगायतमा संगठित संघसंस्थाहरुमा पनि चन्दाका लागि पत्र पठाउने क्रम चन्द समूहले तीव्र बनाएको थियो ।
अब प्रहरीले चन्द समूहको गतिविधिमा विशेष निगरानी र कारवाही अघि बढाउने छ । ‘चन्द समूहको गतिवधि नियन्त्रण गर्न यसअघि केही अन्योल थियो । मन्त्रिपरिषदको निर्णयले अन्योल हटाएको छ,’ ती मन्त्रीले भने ।