अर्बपति कमरेड अमेरिका किन भागे
प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी केन्द्र)मा लागेर धेरै नेता तथा कार्यकर्ताहरूले धन कमाए । ती नेता कार्यकर्ताहरूको डेढ दशक यताको जीवनशैलीलाई हेर्ने हो भने को संग कति धन सम्पत्ति छ स्पष्ट हुन्छ । प्रचण्डसंग लागेर धन र हैसियत कमाउन नसकेकाहरू पार्टी फुटाउदै बैद्य हँुदै हाल विप्लवसंग छन् । विप्लवसंग रहेकामध्ये एक हुन धादिङ मलेखुका टीका कँडेल ।
कुनै बेला दुई छाक खानाको व्यवस्थापनका लागि धौःधौ पर्ने अवस्थाबाट गुज्रिएका टीका कँडेल नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका अर्बपति नेता हुन् । उनीसंग सय करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको नेकपाका नेता कार्यकर्ताबीचमा चर्चा हुँदै आएको छ ।
प्रचण्डको पार्टीमा छदा अलिअलि धन कमाएका कँडेल विप्लवमा आइपुग्दा अर्बपति कसरी बने भन्ने प्रश्न पार्टीमा पटक पटक उठ्ने गरेको नेता तथा कार्यकर्ताहरूले बताउदै आएका छन् । कँडेल विप्लव नेतृत्वको नेकपाका केही केन्द्रीय नेताहरूको पैसा राख्ने बैंक नै भएको चर्चा पनि पार्टी पंक्तिमा हुने गरेको खबर छ ।
चितवनका एकजना थारु समुदायका किसानको झण्डै १० करोड मूल्य बराबरको जग्गा हड्पेको आरोप लागेपछि कँडेल विवादमा आएका थिए । पार्टीभित्रैबाट गंभीर प्रकृतिको कारबाही हुने सूचना पाएपछि विप्लव नेकपाका प्रवक्ता प्रकाण्ड र जनवर्गीय संगठन इन्चार्ज जीवन्तले टीका कँडेललाई अमेरिकामै बस्न सुझाएको स्रोतले बताएको छ । कँडेल कान्छी श्रीमती सुभद्रासंगै अमेरिका उडेको स्रोत बताउछ । उनीसंग अमेरिकाको मल्टिपल भिसा रहेको नेकपा स्रोतको बताएको छ । कँडेलमाथिको आक्रोश शान्त नहुँदासम्म नफर्किन प्रकाण्ड र जीवन्तले सुझाव दिएको एकजना कार्यकर्ताले साँघुलाई बताए ।
चितवन जिल्लाको साविक बछौली ६ का राजु चौधरीको एकाघर परिवारका नाममा रहेको हाल रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको कित्ता नम्बर ८ क २७० को १४ कठ्ठा १ धुर र कित्ता नम्बर ८ क २७१ को २ कठ्ठा ६ धुर र कित्ता नम्बर ८ ग २४४ को १२ कठ्ठा १६ धुर गरी जम्मा १ विघा ९ कठ्ठा ३ धुर जग्गा कँडेलले जालझेल गरी कब्जा गरेको भन्ने विवाद विप्लव नेकपाभित्र चर्केको स्रोतको दावी छ ।
कँडेलले जालझेल गरी जग्गा हड्पेको विषयमा पीडितहरूले नेकपा विप्लवमा उजुरी दिएपछि विप्लव नेकपाको जनअदालत न्यायिक समितिले कँडेल घुसखोर, तस्कर र जग्गा दलाल भएकोले कारबाही गर्नु भन्ने फैसला सुनाएको थियो । तर, उनलाई प्रवक्ता प्रकाण्ड र फ्र्याक्सन इन्चार्ज जीवन्तले जोगाउदै आएका थिए ।
जनअदालतको फैसला कार्यान्वयन नभएपछि चितवनका सोझासाझा थारु समुदायलाई जालझेल गरी लुटेको भन्दै विप्लव नेकपाको जनवर्गीय संगठन राष्ट्रिय थारू मुक्ति मोर्चामा उजुरी परेको थियो ।
मोर्चाले उक्त जग्गा भूमाफिया टीका कँडेल र केशव लामिछानेलगायत जग्गा दलालले जालझेल गरी हडप्न खोजेको निष्कर्ष निकालेको थियो । पार्टीको जनअदालत अन्तर्गत जिल्ला न्यायिक समितिले दुबै पक्षलाई राखी छलफल गराई गरेको फैसलाको कार्यान्वयन नगरिएकाले उक्त जग्गामा सम्बन्धित पक्षले न्याय नपाएसम्म नियन्त्रणमा लिइएको सूचना टाँस गरेको छ ।
विप्लव नेकपाको आधिकारिक मुखपत्र रातोखबरमा केहीदिन अगाडि टीका कंडेल भूमाफिया भएको र चितवनको एकजना थारु किसानको जग्गा हड्पेको खबर समेत छापिएको थियो । थारुमोर्चाले पनि सो कुराको पुष्टि गर्दै उनीमाथि कारवाहीको माग गरेको थियो ।
२०६२÷०६३ पछि माओवादीले कब्जा गरेका जग्गा सेटिङमा बिक्री गर्दै आएका कँडेल विप्लव नेकपा प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’का खास कार्यकर्ता हुन् । कँडेल जनयुद्धका भगौडा भएको धादि¨का जोसुकैलाई पनि थाहा भएको उनलाई चिन्ने जान्नेहरू बताउछन् । पैसा कमाउन पाइने भएपछि मात्र शान्तिप्रकृयाका बेला माओवादीमा फर्किएको बताइन्छ । उनलाई धादि¨का नेकपाका नेता मोहन कार्कीले पार्टीमा जोडका थिए ।
दुई महिना अघि मात्र प्रकाण्डले कँडेललाई नेकपाको जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा नियुक्त गरेका थिए । महासंघको राष्ट्रिय सम्मेलनबाट निर्वाचित प्रमोद योगीको नेतृत्वलाई तत्काल भंगगरी प्रवक्ता प्रकाण्डले टीका कँडेलको नेतत्वमा अर्को समानान्तर कमिटी बनाएका थिए । प्रमोद योगी शहीद परिवारका सदस्य हुन भने जनयुद्धकालीन पुराना कार्यकर्ता पनि हुन् । उक्त महासंघको महासचिवमा प्रकाण्डले डाक्टर हरिस न्यौपानेको चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका विप्लवका छोरा प्रकाश चन्दलाई नियुक्ति गराए ।
पार्टी महासचिव विप्लवका छोरालाई संगठनको महासचिव बनाएपछि संगठन आधिकारीक हुने र संगठन कब्जा गर्न सकिने उद्देश्यले प्रकाण्डले कुनै राजनीतिक हैसियत नभएका कँडेललाई स्वास्थ्य संगठनको जिम्मा दिएकोमा नेकपाका नेता कार्यकर्ता आक्रोशित छन् । जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा हुन कँडेलले प्रकाण्ड र जीवन्तलाई ठूलो रकम भेटी चढाएको अन्य कार्यकर्ताहरूको आशंका छ । कँडेल प्रकाण्ड र जीवन्तको आर्थिक व्यवस्थापन हेर्ने प्रमुख व्यक्ति भएको नेकपाका नेता कार्यकताहरू बताउछन् ।
पछिल्लो समयमा विप्लव नेकपाको संरक्षणमा विवादित जग्गाहरू न्यून मूल्यमा किनबेच गरेर करोडौं रुपैयाँ कमाउन सफल हुँदै आएका कँडेललाई नेकपाका अर्का नेता मोहन कार्की जीवन्तले साथ दिंदै आएको नेकपाका कार्यकर्ताहरूले बताउने गरेका छन् । जीवन्त र कँडेल एकै जिल्लाका पुराना साथी भएकाले पार्टीको शक्तिको दुरुपयोग गरी करोडौं रुपैयाँको सम्पत्ति जोड्न सफल भएको चर्चा छ । जीवन्तले प्रकाण्डलाई मिलाउने कँडेलले विजनेश खोज्ने धन्दा फस्टाउदै गएको नेकपा ललितपुरका नेता कार्यकर्ताहरू बताउछन ।
विप्लव माओवादीको शक्तिका आडमा कमाएको धन कँडेलले लिटिल एन्जेल्सका मालिक उमेशलाल श्रेष्ठसंग विभिन्न व्यवसायमा साझेदारी लगानी गरेको हात्तीवनका वासिन्दाको भनाई छ । कँडेल ललितपुरको हात्तीवनको खरिबोटमा रहेको पाँच तले घरमा बस्छन् । उद्यपि उनका ललितपुर र काठमाण्डौंका धेरै स्थानमा व्यवसायिक भवनहरूमा लगानी रहेको स्रोतको भनाई छ ।
कँडेलले चितवन, धादिङ, ललितपुर र काठमाण्डौंका विभिन्न स्थानमा सयौं रोपनी जग्गा जोडेको विप्लव नेकपाकै नेता कार्यकर्ताहरू बताउछन् । दुई श्रीमतीका लोग्ने कँडेल हात्तीवनको घरमा कान्छी श्रीमती सुभद्रा कँडेलसंग बस्छन भने जेठी श्रीमती बाग्लुङमा रहेको बताइन्छ । उनका छोरा र बुहारी अमेरिका बस्छन् । छोरीले पंजावी सम्प्रदायको भारतीय नागरिकसंग विवाह गरेको स्रोतको दावी छ ।