अझै झस्किन्छन् यूएस बंगला विमान दुर्घटनामा बाँचेका केशव, यसरी सम्झिए त्रासदीपूर्ण त्यो दिन



हाम्रो इकोनोमि

 

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालको फिजियोथेरापी कक्षमा पुग्दा पर्यटन व्यवसायी केशव पाण्डे दाहिने गोडाको फिजियोथेरापी गराइरहेका थिए । केशव तिनै व्यक्ति हुन्, जो गतवर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा परेर पनि बाँच्न सफल भएका थिए ।

 

गत वर्षको फागुन २८ गतेका दिन अवतरणका क्रममा भएको उक्त दुर्घटनामा ५१ जनाले ज्यान गुमाए । २० जना घाइते भए । दुर्घटनामा घाइते मात्र हुने त्यही २० ‘भाग्यमानी’मध्ये एक हुन्, केशव । केशवले ‘पुनर्जन्म’ त पाए, तर अहिलेसम्म पनि उनी अस्पताल धाइरहेका छन् ।

 

दुर्घटनापछि केशवले २ महिना अस्पतालमै बिताए । त्यसपछिको १० महिना उनी अस्पताल आउजाउ गरिरहेका छन् । उपचार खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोरेको छ । शुरूमा केशव आफैंले खर्च गर्छन्, अनि लागेको खर्च बिमाबाट क्लेम गर्नुपर्छ ।

 

त्यो कहालीलाग्दो घटना आज पनि केशवको आँखाअगाडि झल्किरहन्छ । एक वर्ष बित्दा पनि उनले त्यो कहालीलाग्दो घटनालाई बिर्सिन सकेका छैनन् । सम्झँदा अझै झसङ्ग हुन्छन्, उनी । उक्त दुर्घटनाको मंगलवार एक वर्ष पुग्न लागेको सन्दर्भ पारेर हामी केशवलाई खोज्दै अस्पताल पुगेका थियौं ।

 

त्रासदीपूर्ण त्यो दिनलाई उनले यसरी सम्झिए :

हामी पर्यटन व्यवसायीहरूको एउटा टोली बंगलादेश गएको थियो । त्यहाँको कक्स बजारमा एयरलाइन्सकै कार्यक्रम थियो । कार्यक्रममा नेपालका ट्राभल एजेन्सीहरू (जसले अन्तर्राष्ट्रिय हवाई टिकट बेच्ने एजेन्टको काम गर्छन्) का १२ जना र एयरलाइन्सकै स्टाफ गरेर १४ जनाको टोली थियो । पर्यटन प्रबद्र्धन र एयरलाइन्सकै कार्यक्रम थियो । हामीले २ रात त्यहाँ बितायौं ।

 

११ तारिखको दिन फर्किने कार्यतालिका थियो, तर थप एकदिन बसौं भनेर हामी १२ जना बस्यौं । २ जना भने एक दिनअगाडि नै फर्किनुभयो । १० जना व्यवसायी र कम्पनीका २ कर्मचारी गरी १२ जना भोलिपल्ट फर्किँदै थियौं ।

 

सबै कुरा राम्रै भइरहेको थियो । जाँदाखेरिको क्षण, गइसकेपछि एयरलाइन्सले गरेको आफ्नो कार्यक्रमदेखि सम्पूर्ण कुराहरू राम्रो थियो । फर्किँदा पनि ढाकाबाट राम्रैसंग जहाज चढेका थियौं । कुराकनी गर्दै आएका थियौं ।

 

काठमाडौंमाथि आकाशमा आइसकेपछि सबै यात्रु खुशी भयौं । तर जहाज एकाएक आफ्नो नियन्त्रणबाहिर उड्न थाल्यो । विमान सधैं जताबाट ल्याण्डिङ हुन्थ्यो, त्यसो भएन । विमान अन्यन्त्र उडेर गएपछि नै हाम्रो मनमा चिसो पसिसकेको थियो । हामीमा डर उत्पन्न भइसकेको थियो कि अब सही ढंगले विमान अवतरण हुँदैन । लगत्तै विमान घाँसेमैदानतिर गइरहेको जस्तो लाग्यो । त्यसपछि डरलाग्यो आवाज आयो । सबथोक अचानक भयो । निकै कहालीलाग्दो घटना घट्यो ।

 

होसमा आउँदा म घाँसे मैदानमा लडिरहेको थिएँ । विमान ठोक्कियो भन्ने महसूस हुँदै थियो, बेहोस भएछु ।  दुर्घटनापछि विमानबाट म कसरी बाहिर निस्किएँ भन्ने याद थिएन । म विमानको अगाडि सिटमा थिएँ । शायद इमर्जेन्सी ढोका खुलेर बाहिर उछिटिट्एँ कि ! होसमा आएपछि जहाजतिर हेर्दा पछाडिबाट धूवाँ आइरहेको थियो ।

 

मेरो एउटा खुट्टा चलिरहेको थिएन । उठ्न, भाग्न खोजे पनि सकिरहेको थिइनँ । आँखा अगाडि नेपाली सेना र उद्धारकर्मीहरू देखेँ । उहाँहरूले रेस्क्यू गरेर भ्यानमा पहिले केएमसी अस्पताल सिनामंगलमा लैजानुभएको थियो । मेरा भाइहरू, परिवारका सदस्यहरूले मेडिसिटी अस्पताल नख्खु ल्याउनुभयो । मेडिसिटीमा मैले २ महिना बिताएँ ।

 

दुर्घटनामा मेरो छातीमा चोट लागेको छ । करङ डिसब्यालेन्स भएको छ । मुख्यगरी दाहिने गोडामा मल्टिपल फ्याक्टर भयो र त्यसलाई अपरेशन गर्नुप¥यो । २ महिना अस्पतालमा बिताएपछि घरमै बसेर डाक्टरको फलोअपमा उपचार गराइरहेको छु । अहिले म एक दिन बिराएर खुट्टाको फिजियोथेरापीका लागि अस्पताल धाइरहेको छु । अहिले स्वास्थ्यमा सुधार हुँदैछ । हिँडडुल गर्न बैसाखीको सहारा चाहिन्छ । निको हुन कति समय लाग्छ, ठ्याक्कै भन्न सक्दिनँ ।

 

हामी १२ जनाको टोलीमा ३ जना साथीहरू गुमायौं । २ जना एयरलाइन्सकै कर्मचारी पर्नुभयो । १ जना पर्यटन व्यवसायी गुमायौं । मैले आफू त बाँचे साथीहरूबारे पनि बुझ्ने प्रयास गरेको थिएँ । घाइतेमध्ये ६ जना साधारण उपचारपछि घर जानुभएको रहेछ । उहाँहरूले स्वास्थ्यउपचार घरमै गरिरहनुभएको रहेछ । एकजना लामो समय ग्राण्डीमा बस्नुभयो । अर्को एकजना साथीलाई अकस्मात स्वास्थ्यमा तलमाथि हुने देखिएर सिंगापुर लगियो । उहाँ लामो समय सिंगापुरमा उपचारपछि फर्किनुभयो । म २ महिना मेडिसिटीमा उपचारपछि घरमै बसेर उपचार गरिरहेको छु ।

 

त्यो घटनाले मलाई धेरै समयसम्म झस्काइरह्यो । अहिले पनि झस्काइरहन्छ ।  अझ मनमा विमान चढ्ने भन्नेबित्तकै एक खालको डर उत्पन्न हुन्छ । मार्चमा दुर्घटना भएको थियो । दुर्घटनापछि डिसेम्बरमा विमान चढ्दै थिएँ । व्यक्तिगत कामले दुबई जानुपर्ने थियो । शुरूमा कन्फ्युज भएँ, चढौं कि नचढौं भनेर । चढेँ । राम्रैसँग गएँ । फर्किदाखेरी  सपना नै दुर्घटना भएको देख्न पुगेछु, म नराम्रोसँग झस्किएँ ।

 

त्यो एउटा दुर्भाग्यपूर्ण घटना थियो । दुःखदायी घटना थियो । दुर्घटनाले धेरै मानिसको ज्यान लियो । धेरै परिवारले आफ्ना सदस्य गुमाउनुभयो, सन्ततीहरू गुमाउनुभयो । म त्यस्तो कहालीलाग्दो दुर्घटनामा परेर बाँच्न सफल भएँ । अझ म भन्छु, मलाई भगवानले बचाउनुभयो । म भाग्यले बाँचे, जसको कारण म यहाँ छु । दुर्घटनाले मेरो जीवनमा पनि नयाँ खालको मोड लिएको छ । मेरो जीवन जिउने परिस्थिति फरक बनाएको छ । त्यति सजिलो छैन, तर म आफूलाई यही परिस्थितिमा अगाडि बढाउने प्रयास गरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...

नेपाली अर्थराजनितिका मियो, लोकप्रिय नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

      हेमराज सिलवाल एमालेको उपाध्यक्ष एवम नेपाल सरकारको पूर्वअर्थमन्त्री पाण्डेले नेकपा...

एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...