विप्लवले मेरो नक्कल गर्न खोजे, यो पार लाग्ने बाटो होइन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् । तर, २५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने उनको विश्लेषण छ ।
सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले विव्लवलाई राम्रोसँग चिनेको बताए । आफ्नो सचिवालयमा बसेर लामो समय काम गरेको भन्दै प्रचण्डले भने, ‘मैले वा पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।’‘प्रचण्डले गरेको नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ,’ उनले थपे ।
विभाजनको संघारमा नेकपा, बिप्लव-प्रकाण्ड बोलचाल नै बन्द
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिएको छ । दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको एक वर्षे अवधिमा विप्लवका कार्यकर्ताहरूले दर्जन बढी बम विष्फोटलगायत हिंसाका घटनाहरू गराएर आतंक सिर्जना गरेका छन् ।
पछिल्लो एक महिना यता प्रहरीले विप्लवका सयौँ कार्यकर्ताहरूलाई हतियारसहित पक्राउ गरिसकेको छ । शान्ति प्रक्रियाका लागि वार्तामा आउन सरकारले गरेको आह्वानलाई महत्व नदिएपछि सरकारले प्रशासनिक कारबाहीमार्फत तह लगाउन संकेत देखाएको छ ।
डा.सीके राउतसँग एघार बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित सभामा ०७५ फागुन २४ गते शुक्रबार बोल्दै प्रधानमन्त्री केपी ओलीले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई लुटेरा भनेर आलोचना गरे ।
त्यसको भोलिपल्ट फाुन २५ गते प्रदेशस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्न कर्णालीको राजधानी सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक व्यवहार नगर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
यता, विप्लवको नेकपाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुँदैछ भने उता पार्टीभित्र महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीका दोस्रो वरीयताका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीचको विवाद चर्किदैछ ।
नेकपा माओवादीबाट फुटेर मोहन बैद्यको नेतृत्वमा ०६९ साल असार ५ गते गठन भएको नेकपा माओवादी क्रान्तिकारीमा सँगै आएका विप्लव र प्रकाण्डले बैद्यलाई छाडेर ०७१ साल मंसिर ७ गते नेकपा माओवादी गठन गरेका थिए । प्रहरी हिरासतमुक्त भएदेखि प्रकाण्ड र विप्लवबीच बोलचाल नै बन्द भएको स्रोतले दाबी गरेको छ ।
०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा गराइएको बाम बिष्फोटपछि प्रेस विज्ञप्ति निकाल्न पार्टी हेड क्वार्टरले दिएको निर्देशन प्रकाण्डले नमानेपछि महासचिव विप्लवले नै विज्ञप्ति निकालेको स्रोतले जनाएको छ । एनसेलमाथिको दोस्रो कार्बाहीका पक्षमा प्रकाण्ड नरहेको उनी निकट एक नेताले बताए ।