विद्यार्थीको मृत्यु भएपछि आन्दोलनकारीद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा
बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै आफन्त र विद्यार्थीहरु आन्दोलनले उग्ररुप लिएको छ। दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको माग गरिरहेका विद्यार्थी र मृतकका आफन्तले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए। आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रग्यास प्रहार गर्नुपरेको उनले बताए ।
इलाका प्रहरी कार्यालयभित्र घटनाका विषयमा छलफल भइरहेका बेला एक्कासी इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताए। उनले भने, ‘घटनाका विषयमा भित्र छलफल चलिरहेका बेला आक्रोशित भीडले इलाका प्रहरी कार्यालयमा एक्कासी ढुंगामुढा प्रहार गर्यो। त्यसपछि बाध्य भएर अश्रुग्यास र हवाई फायर गरेका हौं।’
प्रहरीले १८ राउण्ड हवाई फायर र १५ सेल अश्रग्यास प्रहार गरेको हो। विद्यार्थीको ढुंगामुढा प्रहारबाट ४ जना प्रहरी घाइते भएका छन्। तर विद्यार्थीहरुले भने प्रहरीले लाठीचार्ज गरेपछि मात्रै ढुंगामुढा गरेको दाबी गरेका छन्। प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित साथीहरुले ढुंगामुढा प्रहार गरेको विद्यार्थी तेजप्रसाद भट्टले बताए। प्रहरीको लाठीचार्जबाट तीन विद्यार्थी घाइते समेत भएका उनले बताए।
प्रहरीको लाठीबाट घाइते भएका सिद्धबहादुर बोगटी, जयन्ती बिष्ट र तेज नेपालीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भट्टले बताए। शनिवार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो।
बजार क्षेत्रमा तीव्र गतिमा गुडीरहेको ग्रेडरले अनियन्त्रित भई विमानस्थल लाईनमा पैदल हिँडिरहेका पाण्डेयलाई किचेको थियो । ग्रेडरले ठक्करले पाण्डेयको घटनास्थलमै मृत्यु भए लगत्तै चालक रतन बुढा फरार रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए।
फरार चालकको शनिवार बेलुका देखि नै खोजी कार्य भइरहेको भएपनि हालसम्म पनि फेला नपरेको उनले बताए । उक्त ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले प्रयोग गरिरहेको बुझिएको छ ।
आक्राशित आफन्त र विद्यार्थीहरुले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । दोषीलाई कडा कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको विद्यार्थी तेजप्रसाद भट्टले बताए। उनले भने,’ हामीले साथी गुमाएका छौं। दोषीलाई कारवाही हुनुपर्यो।पीडित परिवारले क्षतिपूर्ती पाउनु पर्यो। हाम्रो माग पूरा नहुँदासम्म बन्द खुल्दैन्।’
पीडित परिवारले शव बुझ्न नमानेका कारण मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको छ। राजमार्ग सुचारु गर्न तथा पीडितका माग सम्बोधनका बिषयमा इलाका प्रहरी कार्यालयमै छलफल भईरहेको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन्। उनले भनिन्, ‘पीडित पक्षका माग सम्बोधनका लागि अधिकतम प्रयास भइरहेको छ। हामी छलफलमै बसेका छौं।’ राजमार्ग अवरुद्ध हुँदा बैतडी तथा दार्चुलाबाट तराईका लागि छुटेका सवारी साधन पाटनमै रोकिएका छन्।