नेकपा नेताले एक महिलाको हत्या गरी कोसीमा फाले



हाम्रो इकोनोमि

 

नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको छ ।   फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरी शव गायव बनाउन कोसी ब्यारेजको पुलबाट नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

हत्यामा संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ तीन दिनअघि इलामबाट पक्राउ परेका हुन् । गुरुङले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

 

‘हत्या हुँदा शव फेला पर्नुपर्ने हुन्छ । कोसी नदीमा फालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नुपर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’ नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने उनले बताए ।
महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ ।

 

हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पु¥याएको प्रहरीको दाबी छ । बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।

 

महिला बेपत्ता भएपछि गुरुङलेसमेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाब भएको बताएका थिए । हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।

 

नेकपा नेता गुरुङ एमाले बेलबारीका पूर्वअध्यक्ष हुन् भने नोबेल अस्पताल बेलबारी एवं एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्या गर्नुपर्ने कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घटना भएको साँझ योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए ।

 

सोही दिन उनीहरु सुन्दरहरैंचा विराटचौकस्थित हवाना रेष्टुरेण्टमा गएको खुलेको छ । शुक्रबार राति ११ बजेतिर योगेन्द्र सबैलाई लिएर घर फर्किएका थिए । उनले रमिलाकै घर छेउकी महिला र सोही टोलका युवकलाई छाडिदिएको तर रमिलालाई भने गाडीमै लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

 

रमिला नभेटिएपछि आफन्तले दिएको जानकारीका आधारमा स्थानीय बासिन्दा, परिवारका सदस्य र प्रहरी मिलेर विभिन्न ठाउँमा रमिलाको खोजी गरेका थिए । योगेन्द्र पनि सँगै रमिलाको खोजीमा लागेका थिए । एकाएक उनी उनी बेलबारीबाट भागेका थिए । रमिला र र योगेन्द्रबीचमा केही समयदेखि सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

 

हत्या गरेर कोसी नदीमा फालेपछि भोलिपल्ट बिहान अन्य चारजना सहयोगीलाई लिएर गुरुङ शव नदी आसपासमा छ कि छैन ? भनी हेर्न गएको प्रहरीले जनाएको छ । शवका बारेमा बुझ्न कोसी नदीसम्म पुगेका दुई युवतीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई युवाको खोजी भइरहेको जनाइएको छ ।

 

प्रहरीकाअनुसार रमिला हराएपछि उनकी बहिनीले योगेन्द्रलाई पनि फोन गरेर रमिलाका बारेमा सोधेकी थिइन् । तर योगेन्द्रले राति ११ बजे घर नजिकै ल्याएर छाडिदिएको बताएका थिए । रमिला घर नफर्किएको भनेर फोन गरेपछि योगेन्द्र उनी बस्दै आएको माइती घरमा पुगेका थिए । उनैले बेपत्ता भएको कुरा प्रहरीलाई जानकारी गराउन रमिलाका माइती पक्षलाई सुझाव दिएका थिए ।

 

‘बेलबारी–४ स्थित योगेन्द्रको घरमै बन्धक बनाएर राखेको आशंकामा फागुन २० गते खानतलासी गरिएको थियो तर केही पनि फेला पार्न सकिएन,’ एक प्रहरीले भने, ‘अनुसन्धान आफूमाथि केन्द्रीत हुन थालेको चाल पाएर भागेका योगेन्द्रलाई इलामबाट पक्राउ गरियो ।’ प्रहरीकाअुनसार बुधबार दिउँसो मात्रै श्रीमतीलाई विराटनगर विमानस्थलबाट काठमाडौैं पठाएका योगेन्द्र त्यसपछि मोबाइल स्वीचअफ गरी गायब बनेका थिए । यस विषयमा हल्ला भएपछि काठमाडौंमा बस्दै आएकी योगेन्द्रकी श्रीमती बेलबारी आएकी थिइन ।

 

‘श्रीमतीलाई काठमाडौं पठाएर योगेन्द्र फरार बनेपछि थप शंका बढेको थियो,’ एक प्रहरीले भने, ‘पछि पक्राउ गरेर अनुसन्धान थाल्दा उनैले हत्या गरेर शव नदीमा फालेको पत्ता लाग्यो ।’ हत्या एक्लैले गरेको हो वा कसैको सहयोग लिइएको थियो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । एसपी केसीले अहिले शव खोज्ने काम तीब्र बनाइएका कारण बाँकी अनुसन्धानमा प्रहरी केन्द्रीत हुन नसकिरहेको जानकारी दिए ।अहिले पनि स्थानीय बासिन्दा र आफन्तको सहयोगमा शवको खोजीमा प्रहरी खटिएको छ ।

 

गुरुङले महिलालाई फागुन १७ गते राति ११ बजे उनकै घरमा छाडिदिएको दाबी गर्दै आएका थिए । तर ‘सिसी टिभी फुटेज’ मा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको र शनिबार बिहान साढे ४ बजे सुन्दरहरैंचाको गोठगाउँबाट पूर्व लागेको देखिएको प्रहरी स्रोतले बताएको छ । योगेन्द्रले भनेको कुरा र सिसी टिभी फुटेजको कुरा नमिलेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...