अर्को पटक प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावमा प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । रौतहटको गरुडमा आयोजित नेकपाको आमसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताको भोटलाई उच्च कदर गर्दै देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने बताए ।
उनले भने, ‘अब सम्प्रदाय, जातजाति र भूगोलको राजनीति गर्ने समय गयो। सबैको साझा समस्या व्याप्त गरिबी निवारण र विकासको बाटोमा हिँड्ने समय हो ।’ प्रधानमन्त्री ओलीले दुई पार्टी बीचको एकता सुनिएर मोटाउनका लागि नभए देशमा नमुना विकास गरेर देखाउनका लागि भएको बताए ।
प्रदेश-२मा विकासको योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा)लाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश–२ कमिटीले शनिबार रौतहटमा आयोजना गरेको आमसभामा बोल्दै प्रम ओलीले सरकारविरुद्ध फेहरिस्त बनाउनु भन्दा देशको विकास र प्रदेशको विकासका लागि योजना बनाउन राजपालाई आग्रह गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–२को विकासमा संघीय सरकार सक्रिय भएर लागेको दाबी छन्। उनले सदरमुकाम जोड्ने सडक, सिचाइ, रेलमार्ग, हुलाकी मार्ग, कृषि लगायतका विषयमा सरकारले ठोस कार्यक्रमहरु संचालन गर्दै आएको समेत दाबी गरेका हुन्।
कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि सहभागी भएका थिए। ‘बेटी बचाऔं, बेटी पढाऔं’ अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समग्र मधेसको विकास तथा समृद्धिको अभियानमा लाग्न आग्रह गरेका छन्।
नेकपा अध्यक्ष ओलीले अब चाँडै तल्लो तहसम्म पार्टी एकता हुने भन्दै नेता कार्यकर्ताहरुलाई ढुक्क रहन आग्रह गरे। मधेसका जनताले लोकतन्त्र ल्याउन गरेको बलिदानीलाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले स्मरण गरे।
जनतालाई अधिकार सम्पन्न बनाउन कानुनहरु निमार्ण भइरहेको तथा शिक्षा, स्वास्थ्य, रोजगार, र पुर्वाधार विकासको ग्यारेन्टीका लागि सरकार लागिपरेको समेत उनले दाबी गरे।
वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको विकासका लागि दिर्घकालिन योजनाहरु संचालन भइरहेको बताएका छन्। रौतहट जिल्ला कम्युनिष्ट आन्दोलनको इतिहास बोकेको जिल्ला रहेको स्मरण गर्दै नेता नेपालले किसान आन्दोलनको शुरुवात पनि रौतहटबाटै भएको बताए।
४ वर्षभित्र मधेसमा ८० प्रतिशत मत प्राप्त गरेर नेकपा ठूलो पार्टी बन्छ: अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा सरकारको बाँकी ४ वर्षभित्र नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावी गरेका छन् ।
अगामी ४ बर्षभित्र देशको कायापलट हुने र १० बर्षभित्र नयाँ नेपाल बन्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरेकाछन् । कम्युनिष्ट पार्टीको माथिल्लो तह यसअघि नै एकीकरण भइसकेको र केही समयभित्रै सम्पूर्ण तल्ला तह एकीकरण हुने उनले बताएका छन् ।