’मन्त्रीको हात समातेँ र भने, ‘मौसम खराब छ। अहिले नजानुस्।’ रविन्द्र अधिकारी सहित ७ जना उड्नु अघि यस्तो बार्तालाप
नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो ।
१५ फागुनमा उहाहरु सातै जनाको निधन भएको हो । सो दुर्घटनामा पर्नु करिव आधा घण्टाअघि उहाहरुले खिचाएको सामुहिक तस्विर सार्वजनिक भएको छ ।
जहा उहाहरु हिउले सेताम्मे भएको मन्दिर परिसरमा सामुहिक रुपमा बसेर फोटो खिचिरहेको देखिएको छ । साथै सो समयमा हिउ समेत परिरहेको स्पष्ट रुपमा फोटोमा देख्न सकिन्छ ।
सो फोटोमा स्वर्गद्धारी यज्ञाश्रम भक्त लोकनाथ उपाध्याय ‘फलारी’ समेत देखिनु भएको छ ।
यस्तो फालरीको स्मरण
म र हाम्रो टोली दर्शनका लागि त्यस दिन पाथीभरा मन्दिर गएका थियौँ । हामीले पूजा गर्यौँ । यज्ञकुण्डको पूजा बाँकी थियो । त्यस बेला पर्यटन मन्त्री रविन्द्र अधिकारीको टोली त्यहाँ आइपुग्यो । मैले रविन्द्र बाबु यता आउनुस् भनेर बोलाएँ । त्यस बेला हिउँ परिरहेको थियो ।
हावा अलि जोडले चलेको थियो । पाथीभराका पुजारी आएर हतार हतार रविन्द्रको टोलीलाई पूजा गराउनु भयो । उहाँहरूले सामूहिक फोटो पनि खिचाउनु भयो । मन्त्री रविन्द्रले ‘यता आउनुस् गुरु, फोटो खिचौँ’ भन्नुभयो। म पनि त्यहाँ गएर फोटो खिच्ने समूहमा मिसिएँ। त्यस बेला मैले अधिकारीको नाताले मन्त्रीलाई प्रश्न सोधे। सायद नसोधेको भए पनि हुन्थ्यो जस्तो लाग्छ अहिले।
मैले सोधेँ, ‘बाबु तपाईँको मन्त्रालयमा ठुलो भ्रष्टाचार भएको सुनेको छु। तपाईँ आउनुभन्दा पहिलेको कुरा हो। यो भ्रष्टाचारमा तपाईँ मुछिनु भएको छ। यसबाट तपाईँ मुक्त हुन सक्नु होला रु’ मैले यति भनेपछि मन्त्रीले भने, ‘गुरु यसमा मेरो केही दोष छैन। म निर्दोष छु।’
मन्त्रीले हतार छ भन्दै जान खोज्नु भयो।मैले मन्त्रीको हात समातेँ र भने, ‘मौसम खराब छ। अहिले नजानुस्।’ हामी एकै ठाउँमा उभियौ। गफ गर्न थाल्यौँ। त्यति नै बेला हेलिकप्टर पाइलट आएर भने, ‘मन्त्रीज्यू जाऔँ।’ यति भनेपछि मन्त्रीले भन्नुभयो, ‘गुरु, पाइलटले जाऔँ भन्नुभयो। म जान्छु।’ मैले रोक्न सक्ने अवस्था थिएन।
यस्तो दुर्घटना हुन्छ भन्ने थाहा भएको भए समातेर राख्थेँ होला। अकल्पनीय घटना थाहा हुने कुरा भएन। हामीले पाथीभराको यज्ञकुण्डको पूजा गरेर सक्दै गर्दा पुजारीलाई फोन आयो, ‘मन्त्रीको हेलिकप्टर दुर्घटना भयो।’
सबै हताश देखिए। मैले सन्त्वना दिन खोजेँ, ‘हतास् नहुनुस्, हल्ला मात्रै हो किरु’ तर त्यो सत्य साबित भयो। देशमा केही गरौँ भन्ने युवा मन्त्रीको असामयिक निधन भयो। अहिले पनि ‘मौसम खराब छ, नजानुस्’ भनेको कानमा गुन्जिरहेको छ। मन्त्रीले ‘म निर्दोष छु’ भनेको सम्झिरहेको छु। दिवङ्गत मन्त्रीलगायत सबैलाई हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु।


