जब रवीन्द्रका छोरा प्रधानमन्त्रीसँग हात मिलाउन पुगे



हाम्रो इकोनोमि

 

काठमाडौंको भृकुटीमण्डपस्थित बगैचा । त्यहीँ राखिएको थियो–नेकपाका नेता भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शोकमा आयोजित श्रद्धान्जली सभा ।

 

त्यसैपनि श्रद्धान्जलीसभा भावुक हुने नै भयो ।  उपस्थितहरु दिवंगत नेता तथा आफन्तहरुको अनुहार हेरेर मलिन अनुहार लगाइरहेका थिए । सहभागिहरु के बोल्ने के गर्ने भन्ने दुविधामा थिए । कार्यक्रमस्थलमा एक किसिमको सन्नाटा नै छाएको थियो ।

 

बिहीबार १ बजेका लागि राखिएको थियो, कार्यक्रम । त्यसभन्दा अघि नै धेरैजसो नेकपाका नेता कार्यकर्ता तथा दिवंगत सदस्यका परिवारजनहरु कार्यक्रमस्थल पुगिसकेका थिए ।  पौने २ बजे औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा केहीबेर अघिमात्रै पुगेका थिए–नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ।

 

अध्यक्षद्धय आइपुगेपछि महासचिव विष्णु पौडेलले कार्यक्रम औपचारिक रुपमा सुरु गरेका थिए । आयोजकले ओली र प्रचण्ड पुग्नु अगावै स्व. रवीन्द्र अधिकारी, भरतमोहन अधिकारी, आङछिरिङ शेर्पा लगायतका परिवारका सदस्यहरुलाई नामै लिएर आसनग्रहण गराइसकेका थिए ।

 

कार्यक्रमको सुरुमा दिवंगतहरुको फोटोमा माल्यार्णपण गरिएको थियो । कार्यक्रम चलिरहेका बेला एकजना बालकको ध्यान भने कार्यक्रमतर्फ भन्दा पनि खेल्नतिर नै गएको देखिन्थ्यो । खरानी रङको टिसर्ट र पाइन्ट लगाएका ती बालकप्रति कसैको खासै ध्यान गएको थिएन ।

 

तर, कार्यक्रमको अन्तिमतिर कार्यक्रम सञ्चालकले नामै लिएर ती बालकलाई बोलाएपछि थाहा भयो– उनी त गतसाता ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका स्वर्गीय मन्त्री अधिकारीका कान्छा पुत्र स्वराज पो रहेछन् !  कार्यक्रम सञ्चालकले बोलाएपछि मञ्चतर्फ अघि बढेका उनी प्रधानमन्त्रीसँग हात मिलाउन पुगे ।

 

त्यसपछि उपस्थित सबैको अनुहार हसिँलो बन्न पुग्यो । प्रधानमन्त्री ओली समेत मुसुक्क हाँस्न पुगे । जसले पहिलाको श्रद्धाञ्जलीसभाको वातावरण माहोललाई नै केही हदसम्म परिवर्तन गरिदियो ।

 

वामदेवले भने म रविन्द्रको उत्तराधिकारी

म कमरेड रविन्द्र अधिकारीलाई अब यसरी सम्झन्छु । म बाँचेको हुनाले रविन्द्र अधिकारी भएर बाँचेको हुनेछु । म जति समय बाँच्नेछु, रविन्द्रको उत्तराधिकारीका रूपमा बाँच्नेछु । मभन्दा पहिले उहाँ बित्नुभएको छ, सबैको गन्तव्य त्यही हो । पूर्वीय दर्शनको एउटा पक्ष के छ भने कर्मकाण्डमा जाँदाखेरी तान्त्रिकता आउँछ । यसो गरेपछि पितृले खान पाउँछन् भन्ने छ । त्यतातिर व्याख्या गर्दिनँ । एउटा कुराबाट म अत्यन्त प्रभावित छु ।

जुन व्यक्ति पहिले मर्छ, त्यो पितृलोकमा पुग्छ । नाति या पनाति जो मरोस्, हजुरबुवा मरेको छैन भने त्यो हजुरबुवाले पनि नातिको श्राद्ध गर्दा ढोगिदिन्छ । त्यसो भएर मृत्यु प्राप्त गरिसकेकाहरूको निम्ति आँसुले श्रद्धाञ्जली हुँदैन । उनीहरूले छाडेको बाटो, खनेको बाटो, छोडेका कामहरूलाई पूरा गर्ने संकल्प लिँदै त्यस काममा हिँडेपछि सच्चा श्रद्धाञ्जली हुन्छ ।

 

आज हामीले मौनधारण गरेर श्रद्धाञ्जली दियौं, विचार व्यक्त गरेर श्रद्धाञ्जली दियौं, मेरो विचारमा संकल्प गर्ने भनेको श्रद्धाञ्जली हो । के संकल्प गर्छु भने मैले नै प्रशिक्षित गरेर हुर्काएको नेता हुनुहुन्थ्यो रविन्द्र कमरेड । अन्तिम समयसम्म पनि मेरो साथमा हुनुहुन्थ्यो । मैले पीडा व्यक्त गर्दा समुद्र बन्न सक्छ आँसुको । तर म उहाँको सपनालाई पूरा गर्नको निम्ति के — के गर्नुपर्छ सबै काम गर्ने संकल्प गर्दछु । म अन्यलाई पनि त्यो संकल्प गर्न अनुरोध गर्दछु ।

 

अहिले भर्खरै धेरै ठाउँमा रविन्द्रको प्रतिमा बनाउने कुरा उठेको छ । एक दुई ठाउँमा बनाउनुस । विचारमा हामी मात्र छैनौं । विचारमा विविधता छ । हाम्रो कार्यशैलीप्रति सहमत नहुने धेरै छन् । प्रतिमा संरक्षण नहुन सक्छ । फोटो ठूलो कुरा होइन, विचार र कार्यान्वयन गर्ने कुरा ठूलो हो । प्रतिमा बनाउने कुरा ठूलो होइन । तपाईंहरू अघि बढ्दा आउन सक्ने व्यवधान हटाउन म तयार हुनेछु ।

 

अर्को एउटा कुरा सम्झिन जरूरी छ । मेरो विचारमा चर्चा हुन जरूरी छ । आज विद्यार्थी आन्दोलन त्यो पहिलेको जस्तो विद्यार्थी आन्दोलन छैन । खोजेर पनि पाइँदैन किनकि हामीले एउटा व्यवस्था परिवर्तन गरिसकेका छौं । अहिले सम्पूर्ण शक्ति देशको पुनर्निर्माण, जनताको स्तरोन्नतिका लागि, समाजमा रहेका सबै विभेद अन्त्य गर्नका लागि र असमानतालाई समाप्त गर्नका निम्ति लगाउनुपर्ने बेला छ । त्यसो भएर अब आफू असहमत हुने विषयवस्तु छ भने त्यसका लागि आन्दोलन नै गरिहाल्नुपर्ने, जुलुस नै निकाल्नुपर्ने आवश्यकता छैन ।

 

राजनीतिक व्यवस्थाभित्र हामी बहुदलीय प्रतिस्पर्धामा गएको हुनाले कहिले कुन पार्टीले नेतृत्व गर्छ, कहिले कुन पार्टीले नेतृत्व गर्छ । त्यो त भइहाल्छ । एउटा पार्टीले नेतृत्व गरेको बेलामा अर्को प्रतिपक्षमा बसेकाले त्यसले फेरि आन्दोलन शुरू गर्ने हो भने देशले विकास गर्दैन, राजनीतिक पार्टीहरू असफल हुन्छन् र हामीले जे उपलब्धि हासिल गरेका छौं त्यो पनि गुम्छ । अरू कुनै व्यवस्था आउँछ जसले नेपाली जनताको समृद्धिका लागि काम गर्नुपर्छ । त्यो यस व्यवस्थाभन्दा बाहिरबाट आउनेले पनि गर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...