माओवादी लडाकु र नयाँ युवा मिलाएर गोप्य स्थानमा सैन्य तालिम दिदै विप्लव



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मुलुकका केही गोप्य स्थानमा जनयुद्धका लागि भन्दै सैन्य तालिम गरिरहेको खुलासा भएको छ । पूर्व माओवादी लडाकु र केही नयाँ युवासमेत मिलाएर प्रदेश नम्बर एक र पाँचका केही गोप्य स्थान सैन्य तालिम भइरहेको सुरक्षा स्रोतले बतायो ।

 

बिहीबारमात्रै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँमै नेकपाका कार्यकर्ताको घरबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । हतियार बरामद गर्ने क्रममा प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका–९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई पक्राउ गरेको छ ।

 

हतियारसहित फेला परेका रोक्कालाई नियन्त्रणमा लिने क्रममा भागेपछि फायर गर्दा बायाँ खुट्टामा गोली लागेर घाइते भएका छन् । उनको बुटवलमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी अच्युत पुडासैनीले बताए ।

 

हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनको घरमा ठूलो मात्रामा अत्याधुनिक हतियार फेला परेको हो ।

 

प्रहरीले रोक्काको घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउण्ड, ५।५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा ९२५ केजी० बरामद गरेको छ ।

 

घटनास्थलबाट ‘जनमुक्ति सेना नेपाल आधारभूत सैन्य तालिम शिविर २ नम्बर कम्पनी’ लेखेको ब्यानर पनि बरामद भएको छ । एक सुरक्षा अधिकारीले भने, ‘‘यो उनीहरुले तालिम गराइरहेको अवस्थामा फेला परेको हो । तालिमकै लागि ब्यानर बनेको हो । यो राज्यका लागि निकै गम्भीर चुनौती हुनसक्छ ।’’

 

बुधबारमात्रै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विप्लवको नेकपालाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । केही समय अगाडि सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले विप्लव समूहलाई हि‌शाकाे बाटाे त्यागेर वार्तामा नआए कडा कारवाही गरिने बताएका थिए । यस्तै संखुवासभामा पनि हतियारसहित विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी नगरपालिका–५ ढाडेगाउँ बस्ने २३ वर्षीय बुद्धिमान तामाङ समेत २ जना रहेका छन् । अर्का एकजनाको नाम प्रहरीले गोप्य राखेको छ ।

 

उनीहरुको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्यागजिन १ थान र गोली १ थान बरामद भएको छ । यसअघि गत बुधबार सुनसरीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकै एकजना नेता नेपाली सेनाले प्रयोग गर्दै आएको अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए ।

 

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय संगीत भनिने देवकुमार लिम्बू थिए । लिम्बूको साथबाट प्रहरीले एलएमजी र एम–१६ हतियार बरामद गरेको हो । एलएमजी हतियार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष कार्यदलले प्रयोग गर्दै आएको छ भने एम–१६ नेपाली सेनाले मात्रै प्रयोग गर्ने गरेको छ ।

 

पछिल्लो समय चन्दा आतंक, अपरहण, विष्फोट लगायतका घटनामा विप्लवकै नेता–कार्यकर्ताको संलग्नता देखिएको सुरक्षा अधिकारी बताउँछन् । विप्लवका नेता–कार्यकर्ता हतियारसहित पक्राउ पर्न थालेपछि सरकारले सुरक्षा निकायलाई विप्लवविरुद्ध ‘निर्मम’ बन्न निर्देशन दिएको छ । विप्लवका गैरकानुनी गतिविधिलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सुरक्षा निकायले संयुक्त सुरक्षा रणनीति समेत बनाइरहेको बताइएको छ ।  न्युज स्राेत/ बाह्रखरी

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...