विप्लवको गाउँमा प्रहरीमाथि ढुंगामुडा, सर्च अपरेसनमा दुई प्रहरी घाइते



 

कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको हो।

 

प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। यादव चन्द विप्लवका भतिजा हुन्। सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुईजना प्रहरी सामान्य घाइते भएका छन्। स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।

 

विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो। प्रहरीले आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहँदा एक्‍कासीले विद्यार्थी र स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरी निरीक्षक उपाध्यायले बताए।

 

एकोहोरो ढुङ्गा प्रहार भैरहँदा प्रहरीले निकै संवेदनशीलता अपनाएका कारण ठूलो घटना हुनबाट बचेको उनको दाबी छ। ‘घटनास्थलमा विद्यार्थीको बाक्लो उपस्थिति थियो, उनले भने, ‘हामीले प्रतिकार गर्दा विद्यार्थीको मानसिकतामा असर पर्ला भनेर  संवेदनशीलता अपनायौं।जसले गर्दा ठूलो दुर्घटना हुन पाएन।’ शिवगढी दाङ जिल्लासँग जोडिएको स्थान हो।यहाँ विप्लवका परिवारको बसोबास रहँदै आएको छ।

 

विप्लवको घरमा प्रहरी छापा, गोली हानेर एक जना समातियो

 

प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ ।

 

प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

 

विप्लवलाई मोहनविक्रमको चेतावनी

 

नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आफ्ना पार्टीका समर्थक विभिन्न गाउँपालिकाहरूमा जबर्जस्ती चन्दा असुली र उनीहरूका कार्यक्रमहरूमा सहभागि हुन धम्की दिने गरेको भन्दै त्यसको विरोध गरेका छन् । महामन्त्री सिंहले बिहीबार एक वक्तव्य जारी गर्दै विप्लव समुहलाई त्यस्तो धम्की नदोहोर्याउन चेतावनी दिएका हुन् ।

 

‘हामी यस्तो गतिविधिलाई हामी गलत मान्दछौँ र विरोध गर्दछौँ ’ वक्तव्यमा भनिएको छ ।  महामन्त्री सिंहले नेकपा विप्लब पक्षलाई आफ्नो मित्र शक्ति मानेपनि उनीहरूले आफूप्रति शत्रुतापूर्ण व्यवहार अपनाउँदै गइरहेको जनाएका छन् ।

 

‘उनीहरू र हाम्रा बीचमा भएका कतिपय राजनीतिक मतभिन्नताका कारणले उनीहरूका आन्दोलनका सबै कार्यक्रमहरूलाई हामीले समर्थन गर्न नसक्ने कुरा प्रष्ट छ । त्यो अवस्थामा उनीहरूले आफ्ना आन्दोलनको समर्थनका लागि कुनै पनि प्रकारको दवाव दिने वा जबर्जस्ती गर्ने कार्य हाम्रा लागि सह्य हुन सक्दैन ।

 

उनीहरूले त्यस प्रकारको कुनै कारवाही गरेमा त्यसको हामीले सशक्त प्रकारले प्रतिरोध गर्ने कुराको पनि जानकारी गराउन चाहन्छौँ,’ सिंहले चेतावनी शैलीमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको