लोकप्रिय अर्थमन्त्रीको महाप्रस्थान
नेपाली जनताले आफ्नो अर्थमन्त्रीको सम्मान दिएका वरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा दुःखद अवशान भएको छ ।
पहिलो पुस्ताका राजनीतिकर्मी
भरतमोहन अधिकारी २००७ सालपछि नेपाली राजनीतिमा संलग्न पहिलो राजनीतिक पुस्ताको प्रतिनिधि पात्र हुनुहुन्थ्यो । २००९ मा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेर उहाँ कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएको थियो । दोस्रो महाधिवेशनमा प्रतिनिधि र तेस्रो महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएर त्यसयता उहाँले विभिन्न मोड र घुम्तीहरूमा नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन महìवपूर्ण भूमिका निर्वाह गर्नुभयो । संविधान सुझाव आयोग २०४७ को सदस्यका रूपमा उहाँले संविधान निर्माण गर्न जुन भूमिका खेल्नुभएको थियो, त्यसबाट नै २०४६ सालको जनआन्दोलनका उपलब्धिहरू संस्थागत भएका थिए ।
२०४७ को संविधान निर्माण गर्ने क्रममा वाम मोर्चाका प्रतिनिधिहरू माधवकुमार नेपाल, निर्मल लामा र उहाँ गरी तीनजना हुनुहुन्थ्यो । विराटनगरमा कोशी ल फर्म सञ्चालन गरिरहनुभएका स्थापित कानुन व्यवसायी रहेको पृष्ठभूमिका कारणले उहाँले संविधान निर्माणमा अत्यन्तै अनुभवी र प्रभावकारी भूमिका खेल्नुभएको थियो । त्यही जगमा उभिएर पार्टी एकीकरणको संवाद र विश्वसनीय वातावरण निर्माण भएर पछि नेकपा (एमाले) बन्यो । यो अत्यन्त सही कदम थियो । मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेकपा (माक्र्सवादी) र मदन भण्डारीले नेतृत्व गर्नुभएको नेकपा (माले)लाई परिवर्तित परिवेशमा जनचाहनाअनुरूप एकीकृत गरेर नेकपा (एमाले) निर्माण गर्न उहाँले अत्यन्त सक्रिय र महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सफल अर्थमन्त्री
खासमा उहाँको व्यक्तित्व अत्यन्त उत्कर्षमा पुगेकोे, सिङ्गो देशले चिनेको र अन्तरनिहित क्षमतालाई नजिकबाट परख गरेको चाहिँ पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्रीका रूपमा उहाँले ल्याउनुभएको लोकप्रिय बजेटबाट नै हो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ‘नौ स’ अभियान आदि कार्यक्रममार्फत उहाँले ग्रामीण विकासको एउटा लहर नै सिर्जना गरिदिनुभयो । परिणामतः ७६ जिल्लामा ग्रामीण सडक निर्माणको क्षेत्रमा त क्रान्ति नै भयो भन्न सकिन्छ ।
७५ वर्षमाथिका जेष्ठ नागरिकलाई एक सय रुपियाँ बृद्ध भत्ता दिने कार्यको थालनी गरेर कम्युनिष्टहरू कथं सरकारमा आए भने ६० वर्ष पुगेका बृद्धबृद्धालाई गोली हानेर मार्छन्’ भनी सिर्जना गरिएको भ्रमको तुवाँलो चिरिदिनुभयो । त्यसलाई आज ७० वर्षमा कायम गरी मासिक दुई हजार पु¥याएर जुन सामाजिक सुरक्षा भत्ताका रूपमा विस्तारित गरिएको छ, यो उहाँकै देन हो ।
राज्य लोक कल्याणकारी हुनुपर्छ । राज्यले विकासको लहर जगैबाट ल्याउन सक्नुपर्छ । आवश्यक भएका ग्रामीण बस्तीबाट नै विकासका योजना तर्जुमा गरी काम शुरु गर्नुपर्छ भन्ने अवधारणाको कार्यान्वयन उहाँले नै गर्नुभएको थियो । त्यसअघि गाउँलाई केन्द्रित गर्ने, अशक्त पङ्क्तिमा केन्द्रित गर्ने र बृद्धबृद्धामा केन्द्रित गर्ने बजेट निर्माण र कार्यान्वयनको परिपाटी नै थिएन भन्दा पनि हुन्छ ।
२०६१ सालमा राजा ज्ञानेन्द्रले कू गर्नुअघि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा उहाँ उपप्रधान तथा अर्थमन्त्री हुनुभयो । सरल स्वभावका उहाँ सबैसँग सजिलै घुलमिल हुने क्षमता राख्नुहुन्थ्यो । विशेषगरी उहाँ सबैका कुरा सुन्ने, विनम्र एवं बजेट राम्रो बनाउने विषयमा सधैँ चिन्तनशील हुनुहुन्थ्यो । ‘बजेटमा नयाँनयाँ कार्यक्रम ल्याएर लोकप्रिय बनाउन नै उहाँ सधैँ गम्भीर भएर लाग्ने गर्नुभयोे । अर्थमन्त्रीका रूपमा उहाँले बजेटलाई सरकारी कार्यक्रमभन्दा बृहत जनताको सरोकार र हितको विषय बनाउन भूमिका खेल्नुभयो ।
(लेखक सूर्य थापा)
२०६१ सालमै चिनियाँ राजदूतसहित उहाँ कोशी–ल्हासा सडक निर्माणको नागरिक सुनुवाईका लागि सङ्खुवासभा पुग्नुभयो । खाँदबारी, किमाथाङ्का हुँदै ल्हासा जोड्ने सो सडक अब १४ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । उत्तर–दक्षिण राजमार्ग निर्माण गर्नुपर्छ भन्ने उहाँको दीर्घकालीन सोच र अवधारणा स्पष्ट थियो । निर्माणाधीन मध्यपहाडी लोकमार्गको अवधारणा २०५१÷५२ र त्यसपछिका बजेटमा उहाँले सर्वप्रथम उल्लेख गर्नुभएको थियो ।
२०५५ को बजेटमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएर संभाव्यता अध्ययनको कार्य अघि बढाउनुभएको पाइन्छ । उहाँले तीनखम्बे अर्थनीतिमा जोड दिनुभयो र मुलुकमा कृषि उपजको आयात उच्चदरमा बढेकोमा चिन्ता गर्दै नेपालको आर्थिक विकासको आधार कृषि, जलस्रोत र पर्यटन रहेको प्रष्ट धारणा स्पष्ट राख्ने गर्नुहुन्थ्यो ।
दुई तिहाईको खास जग
मुलुकमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन उहाँले पहिलो कम्युनिष्ट सरकारको पालामा अर्थमन्त्रीका हैसियतमा दिएको योगदान अविस्मरणीय छ । नेपालमा कम्युनिष्ट सरकारको त्यस पहिलो परीक्षणकालमा उहाँ शानदार ढङ्गले सफल हुनुभयो । त्यतिबेला मनमोहन अधिकारीको नेतृत्वमा उहाँ अर्थमन्त्री भएर लोकप्रिय कार्यक्रम तर्जुमा र कार्यान्वयन नगरेको भए आज देशमा दुई तिहाई बहुमतको यो सरकार बन्ने परिकल्पनासमेत गर्न सकिँदैनथ्यो । किनभने संसारभरि कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको स्थितिमा मतदानको माध्यमबाट दुई तिहाइ बहुमत प्राप्त हुनु सामान्य स्थिति कदापि थिएन ।
पटकपटक अर्थमन्त्री हुँदा ल्याउनुभएका बजेटहरू उहाँको सोच, अवधारणा, सपना र प्राथमिकताका व्यवस्थित दस्तावेज रहेका छन्, जहाँ धेरै नवीन कार्यक्रम र योजनाहरू सर्वत्र छन् । जस्तो कि ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ अभियान, ‘सुत्केरी भत्ता’, सिक्टा सिंचाई आयोजनाको कार्य थालनीेलगायत उहाँले आरम्भ गरेका कामहरू धेरै महìवपूर्ण छन् ।
आफूले जिम्मा पाएको काम सफलतापूर्वक फत्ते गर्नसक्ने योग्यता, क्षमता, हैसियत, सामथ्र्य र दम राख्ने नेताको छवि उहाँको थियो । उहाँको व्यक्तित्व दम्भरहित तथा असाध्यै विनम्र, सरल र सहज थियो । ठूलासाना सबैसँग घुलमिल हुनसक्ने त सबैभन्दा महìवपूर्ण विशेषता थियो ।
पार्टीको आधारभूत तहदेखि केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीसम्म, संसद्मा तीन पटक – प्रतिनिधिसभा सदस्य र संविधानसभा सदस्यसम्म, प्रमुख सचेतक, अनि उपनेतासम्म र सरकारमा चारपटक अर्थमन्त्रीसहित पाँचपटक मन्त्री, दुईपटक उपप्रधानमन्त्री र पटकपटक कार्यबाहक प्रधानमन्त्री भएर उहाँले बहन गर्नुभएका सार्वजनिक जिम्मेवारीमा सफल रहनुभयो ।
सक्रियताको पर्यायवाची
पार्टीले विभिन्न समयमा उहाँलाई महाधिवेशन आयोजक मूल समितिको संयोजक र आन्दोलन परिचालन कमिटीको संयोजकलगायत महìवपूर्ण जिम्मेवारी प्रदान ग¥यो । २०५४ मा छैठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्न उहाँ मूल व्यवस्थापन समितिको संयोजक रहनु हुँदादेखि मेरो उहाँसँग व्यक्तिगत सम्बन्ध निकट भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँ उपप्रधान तथा अर्थमन्त्री हुनुहुँदा म उहाँको प्रेस सल्लाहकार थिएँ । त्यसअवधिमा उहाँलाई मैले धेरै नजिकबाट चिन्न पाएँ र सक्दो सहयोग गरेँ ।
उहाँको त्यतिबेलाको काम गर्ने तरिका, शैली र प्राथमिकतालाई मैले अत्यन्त नजिकबाट चिनेको छु । खासगरी माओवादी हिंसाको शान्तिपूर्ण अवतरण लगायतका विषयमा उहाँको सक्रियतालाई मैले नजिकबाट अनुभूति गरेको छु । जबकि माओवादीले त्यतिखेर ‘नोकरसँग होइन, मालिकसँग वार्ता गर्ने’ भनेर अचम्मको रवैया प्रदर्शन गरिरहेको स्थिति थियो ।
अन्तिमपटक २०६८ सालमा बजेट ल्याउने टुङ्गो गरिएको दिनमा बजेट प्रस्तुत गर्न दिइएन । उहाँले मिडियासमक्ष अर्थमन्त्रीका रूपमा मैले बजेट ल्याउँछु नै भनेर आत्मविश्वासका प्रतिबद्धता राख्नुभयो । त्यस क्रममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार रहेको मैले उहाँलाई सञ्चार माध्यमसमक्ष प्रस्तुत हुन सँगसँगै उपस्थित भएर साथ दिएँ । खासमा यो उहाँको आग्रह थियो । त्यतिबेला उहाँले जुन घेराबन्दी र प्रहार खेप्नुभयो, त्यसलाई आफ्नो अनुभव र सुझबुझले नै छिचोल्नुभयो र भोलिपल्ट बजेट प्रस्तुत गरिछाड्नुभयो । भलै बजेटको गोपनियता कायम नभएको भनी छानविन समिति गठन गरेको संसद्ले पछि कहिल्यै केही त्यस्तो तथ्य सार्वजनिक गर्न सकेन ।
नेकपा (एमाले) ले राजनीतिमा उमेरहद ७० वर्ष कायम गरेपछि २०७१ सालको नवौँ महाधिवेशनदेखि उहाँ सक्रिय राजनीतिबाट अवकाश हुनुभयो । त्यसअघिसम्म उहाँ स्थायी समितिको सदस्य हुनुहुन्थ्यो । नवौँ महाधिवेशनमा म केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्दा उहाँले मेरो प्रस्तावक भई हस्ताक्षर गरिदिनुभयो र भन्नुभयो – ‘म त सधैँ युवाको पक्षमा छु ।’
देश र जनताकै चिन्ता
उपचारका क्रममा मैले उहाँलाई एक दर्जनभन्दा धेरैपटक अस्पतालमा पुगेर भेटेँ । पछिल्लोपटक उहाँको फोक्सोबाट कफ निकालेपछि आइसियूमा उहाँले मसँग कुराकानी गर्नुभएको थियो । उहाँले मलाई प्रष्ट चिन्नुभयो र खुशी हुनुभयो । त्यतिबेला पनि उहाँलाई पार्टी, देश र जनताको अवस्थाकै चिन्ता थियो । जबकि आफ्नो त्यस्तो हालत थियो ।
उहाँले मसँग सोध्नुभएको थियो, ‘म दुई–अढाई महिनादेखि अस्पतालमै छु । बाहिर के भइरहेको छ ? यो झगडा गर्ने बेला होइन तर नेताहरू त झगडा मात्रै गरिरहेका छन् भन्ने सुन्छु । पार्टी एकतालाई छिटो व्यवस्थित गर्नुप¥यो । जनताले धेरै ठूलो आशा गरेका छन् । यो अवसरको सदुपयोग गरेर जनताको आशा पूरा गर्न केन्द्रित हुनुप¥यो । यसमा तपाईंहरूले नेताहरूलाई भन्ने काम गर्नुहोला ।’
‘बेला न कुबेला भेनेजुएला’ को समय थियो त्यो । भेनेजुएलाको प्रसङ्गमा नेताहरू बाँडिनु आवश्यक नरहेको उहाँको सुझाव थियो । मैले सबै कुरा नेताहरूबीच सल्लाह भएर नै अब विवाद समाधान भइसकेको बताएँ । पार्टी एकता, देशको समृद्धि र अनावश्यक आन्तरिक विवाद अन्त्य गर्ने नै उहाँको खास चिन्ता थियो । मैले उहाँलाई अस्पतालको शैयामा हुनभएकाले उपचारमा नै केन्द्रित हुन भनेको थिएँ । देशभित्र उहाँको उपचार गर्न सक्दो कोसिस अवश्य भयो । राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र पार्टीका नेताहरू मेडिसिटी र ह्याम्स अस्पतालमा पुगेर स्वास्थ्यस्थितिबारे चासो राख्नुभयो । ह्याम्समा पु¥याएपछि त देशबाहिर लगेर उपचार गर्ने अवस्था घर्किसकेको थियो । औषधि चाहिँ विदेशबाट समेत ल्याएर उपचार गरिएको थियो ।
क्या बात् छोरीहरू !
आफ्ना पिताजीको शव बोकेर आर्यघाट पुग्ने, अन्तिम संस्कारका सम्पूर्ण कर्मको जिम्मेवारी बहन गर्ने र सामुहिक दागबत्ती दिने काम उहाँका छोरीहरूले गरेको क्षण ! आमा सविता अधिकारीसँगै प्याराडाइज हाइट सानेपामा पिताको किरियासमेत बस्नुभएको छ – लुना, लिमा र लिजा, अर्थात् दिवङ्गत भरतमोहन अधिकारीका छोरीहरू ।
आदरणीय नेताको निधनपछि उहाँका सचेत र सुयोग्य छोरीहरूलाई आम मान्छेले सार्वजनिक रूपमा देखे र यसरी चिन्न पाए । आफ्ना पिताजीको निधनको शोक कुन चाहिँ छोरीलाई नहोला र ? तर झण्डै तीन महिना लामो अस्पताल बसाइ र महङ्गो उपचारको व्यवस्थापन, हरपल रेखदेख, आमाको हेरविचार, पीडा लुकाएर हरक्षण सामान्य स्थितिमै आगन्तुकहरूसँग बोलचाल ! यी दिदीबहिनीहरूको साझा विशेषता रह्यो । जबकि यसैबीचमा कान्छी छोरी लिजाले त पहिले ससुरा र अहिले बुबा दुबैको अवशानको शोक साथसाथै जस्तो भोग्नुप¥यो । मैले ह्याम्स अस्पताल पुगेर यो सारा स्थिति आफैँले देखेँ र महसुस गरेँ ।
समझदार र योग्यतम् छोरीहरू सायद यस्तै हुन्छन् कि !
२०७५ फागुन १८ गते राती ९ः३५ बजे उहाँको निधनपछि छोरीहरू जसरी सम्हालिनुभयो, अनि शोक र श्रद्धाञ्जलि एवं अन्त्येष्टिमा छोरासरह नै कर्तव्य र जिम्मेवारी पूरा गर्न जुट्नुभयो, यो सामान्य कदापि होइन । यथास्थितिमा यो भिन्न नै हो । छोरीहरूले यति गरेपछि किन छोरा नै चाहियो त ? अनि छोरा र छोरीबीचमा के नै अन्तर बाँकी रह्यो र ? छोरीहरूलाई अन्तरहृदयबाट बधाई छ । सबैका छोरीहरूले यति गरेको पाइँदैन । ‘जस्ता बाबुका तस्तै छोरीहरूको यो व्यवहार’ अरूका लागि पनि प्रेरणादायी छ ।
अन्त्यमा
नेपाली जनताका प्रिय नेता र लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारी भौतिक रूपमा अब हामीमाझ हुनुहुन्न तर उहाँले पार्टी, जनता र देशका लागि गर्नुभएका अतुलनीय योगदानले उहाँलाई सधैँभरि अमर बनाइरहने निश्चित छ । उहाँ २०४६ सालपछिका अर्थमन्त्रीहरूमध्ये जनपक्षीय र लोककल्याणकारी कामहरूको ‘ट्रेण्ड सेटर’ हुनुहुन्थ्यो । यो सम्मान नेपाली जनताले, खासमा बृद्धबृद्धाले शवयात्रा र मलामीमा हजारौँको सङ्ख्यामा उपस्थित भएर नेपाली जनताले प्रदान गरे । हालको दुई तिहाई बहुमतको सरकारको सफलताबाट, खासगरी निरन्तर जनताको दिल जितेर लोकप्रिय एवं जनउत्तरदायी सरकार सञ्चालन गर्नु नै भरतमोहन अधिकारीप्रतिको सच्चा श्रद्धाञ्जलि र सम्मान हुनेछ ।
(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ)