जन्मकैदको सजाय पाएपछि अब के हुन्छ रेशम चौधरीको सांसद पद ?



हाम्रो इकोनोमि

 

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि उनको सांसद पदको भविष्यबारे प्रश्न उठेको छ ।  निलम्बित अवस्थामा जेलमा रहेका रेशमको संसद्‍मा फर्किने बाटो बन्द भएपनि उनको पद बर्खास्त हुने कि नहुने भन्नेमा आम चासो देखिएको छ ।

 

राष्ट्रिय सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी जन्मकैदको फैसलापछि सांसद  निलम्बित अवस्थामा नै रहने बताउँछन् ।

‘निलम्बन भन्ने शब्द नरहे पनि त्यो निलम्बित जस्तै अवस्था हो,’ बिडारी लोकान्तरसँग भने, ‘यस्तो अवस्थामा सांसदले पाउने कुनै पनि सुविधा पाइँदैन ।’

फौजदारी अभियोगमा सांसद पद निलम्बन हुने कि नहुने भन्ने विषयमा संसद् नियमावली बनाउने क्रममा विवाद भएको थियो ।

प्रतिनिधिसभा नियमावलीको नियम २४४ मा ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने उल्लेख छ ।

गतवर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले गत पुस १९ गते सांसद पदको शपथ लिएका थिए । राजपाको दवावका कारण सरकारले चौधरीलाई शपथ गराउन सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको थियो ।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।

सो घटनामा दोषी रहेको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...