भरतपुर क्यान्सर अस्पतालमा माफियाको रजगज : तीन करोड नपर्ने उपकरण छ करोडमा खरीद



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार गठन भएपछि सुशासन कायम हुने जनअपेक्षा थियो । एक बर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी सुखी र समृद्ध नेपाल बनाउने प्रतिबद्धता जनाएकै कारण मतदाताले झन्डै दुई तिहाईकै हाराहारीमा बहुमत दिए । तर, नेकपाको सरकार गठन भएको एक बर्षमा भ्रष्टाचार ह्वात्तै बढेको छ ।

 

हरेक सरकारी निकायका ठेक्कादेखि खरीदसम्म सेटिङ मिलाएर भ्रष्टाचार हुने क्रम झन् संस्थागत हुँदै गएको छ । त्यसको ज्वलन्त उदाहरण स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालका उपकरण खरीददेखि मर्मतका नाममा हुने करोडौं करोड रुपैयाँ भ्रष्टाचारबाट नै पुष्टि हुन्छ ।

 

भरतपुर महानगरकी मेयर रेनु दाहाल अध्यक्ष रहेकोे सरकारी स्वामित्वको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपकरण खरीदमा दसौं करोड रुपैयाँ अनियमितता हुँदैआएको छ । पछिल्लो पटक भरतपुर क्यान्सर अस्पतालले बोलपत्र अनुसार स्पेसिफिकेसन नै नमिलेको तीन करोड रुपैयाँ पनि नपर्ने अप्रेसन थिएटरका लागि आवश्यक उपकरण छ करोड भन्दा बढीमा खरिद गरी भ्रष्टाचार गरेको छ ।

 

यो एक प्रतिनिधि उदाहरण हो, हस्पिटेक इन्टरप्राइजेजबाट सरकारी अस्पतालहरूले उपकरण खरीददेखि मर्मतमा बार्षिक दसौं करोड भ्रष्टाचार हुँदैआएको छ । महालेखा परीक्षकको ५५ औं बार्षिक प्रतिवेदन २०७४ मा स्वास्थ्य मन्त्रालयअन्तर्गत ब्यवस्थापन महाशाखाबाट अस्पतालहरूको उपकरण मर्मतमा पण्डितको हस्पिटेक र लाइफलाइनलाई ठेक्का दिई करोडौं रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।

 

स्पेसिफिकेसन एउटा खरीद गरियो अर्कै 

वीपी क्यान्सर अस्पताल भरतपरले २०७५ कात्तिक ७ मा बोलपत्र नम्बर BPKMCH/ICB/1/ 075/076 The supply, Installation and commissing of modular operation theate-6 unit  मार्फतको बोलपत्र आह्वान गरेकोमा उक्त बोलपत्र स्वीकृत गर्दा चरम अनियमितता गरिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।  २०७५ पुस २२ मा परेको उजुरीको दर्ता नम्बर १४००८ हो ।

 

उक्त उजुरीमा भरतपुर क्यान्सर अस्पतालले बोलपत्र स्वीकृत गर्दा कुनै पनि प्राविधिक स्पेसिफिकेसन नमिलेको भए पनि हस्पिटेक इन्टरप्राइजेज प्रालिको उपकरण खरीद गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको छ । स्वास्थ्य क्षेत्रमा मेडिकल माफियाका रुपमा परिचित हस्पिटेक इन्टरप्राइजेजका संचालक विशाल पण्डित र सुदेशबाट भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. विजय आचार्य र डेपुटी निर्देशक डा. निर्मल लामिछानेसहितको टोलीले ठूलो रकम घुस लिएर अत्यन्तै कमजोर क्षमताको अर्थात् अस्पतालले माग गरेबमोजिमभन्दा भिन्न प्राविधिक स्पेसिफिकेसनमा खरीद गरेको दाबी स्रोतको छ ।

 

प्राविधिक स्पेसिफिकेसन नमिले पनि करोडौं आर्थिक चलखेलमा हस्पिटेकको ठेक्का स्वीकृत भएकाले अख्तियारबाट बोलपत्रका सम्पूर्ण कागजात खिचेर आयोगबाट खटिएका बायोमेडिकल इन्जीनीयरबाट अध्ययन गराउन र अनियमिततापूर्ण ढंगले स्वीकृत गरिएको टेण्डर रद्द गरी दोषीमाथि कारबाही गर्न अख्तियारमा गुहार मागिएको छ ।

 

सार्वजनिक खरीद नियमावली परिच्छेद ४ को दफा २५ बमोजिम मालसामान आपूर्ति गर्ने बोलपत्रदाताको योग्यताका आधार प्राविधिक क्षमता र प्राविधिक स्पेसिफिकेसन हुनुपर्छ । तर, भरतपुर क्यान्सर अस्पतालले माग गरेको उपकरणहरूको प्याकेजमा स्वीकृत गरेको बोलपत्रदाताले पेश गरेको प्रस्तावमा अधिकांश उपकरणहरूको प्राविधिक स्पेसिफिकेसन अस्पतालले माग गरेअनुरुप नभई कमजोर  प्राविधिक क्षमताका उपकरणहरू मात्र छन् । अस्पतालले कोट गरेको अथवा अस्पतालले मागे अनुसार अधिकांश उपकरणहरूमा हस्पिटेक इन्टरप्राइजेजको प्राविधिक क्षमता र स्पेसिफिकेसन नमिल्ने समेत उजुरीमा उल्लेख छ ।

 

अस्पतालमा शल्यक्रिया कक्ष(अप्रेसन थिएटर) अति संवेदनशील क्षेत्र मानिन्छ । जसमा अलिकति पनि लापरबाही र त्रुटि भए बिरामीको ज्यानसमेत जानसक्ने खतर हुन्छ । यस्तो संवेदनशीलतालाई मध्यनजर राखी भरतपुर क्यान्सर अस्पतालले मोडुलर ओटीको प्याकेजमा भएका उपकरणहरूको प्राविधिक क्षमता र स्पेसिफिकेसन तयार गर्दा अस्पतालमा हुन जाने साधारणदेखि जटिलतम शल्यक्रियालाई ध्यानमा राखी संसारमा उपलब्ध भएका उच्च प्रविधियुक्त उत्कृष्ट उपकरणहरू माग गरेको देखिन्छ ।

 

तर बोलपत्रको मूल्यांकन गर्दा प्र्राविधिक कुरालाई पूर्णतया नजरअन्दाज गरी अत्यन्तै कमजोर न्यून प्राविधिक क्षमता र अस्पताललाई अत्यन्त आवश्यक भएका महत्वपूर्ण प्राविधिक पक्ष र स्पेसिफिकेसन नमिल्ने हस्पिटेक इन्टरप्राइजेजको बोलपत्र स्वीकृत भएको छ । जसले गर्दा अस्पतालले सोचेको र मागेको अनुसारको  मोडुलर ओटी तयार हुन नसक्ने जनाइएको छ ।

 

हस्पिटेकका संचालक पण्डितले चलाखीपूर्ण तरिकाले उनकै अर्को कम्पनी लाइफलाइन ट्रेड इन्टरनेशलनबाट रु. ९ करोड ८५ हजार १ सय २५ मा अर्को बोलपत्र पेश गरेका थिए । जसमा सबै प्राविधिक स्पेसिफिकेसन मिलाएर पेश गरिएको थियो । तर जुन हस्पिटेकको बोलपत्र स्वीकृत गरियो, त्यसमा उल्लेख भएको उपकरणको मूल्य ३ करोड पनि नपर्ने अख्तियारले छानबिन गरे स्पष्ट हुनेछ ।

 

वीपी क्यान्सर अस्पतालका निर्देशक तथा खरीद प्रक्रियामा संलग्न कर्मचारी र हस्पिटेक, लाइफलाइन ट्रेड इन्टरनेशनलका संचालक विशाल पण्डित र सुदेशको मिलेमतोमा एउटा बोलपत्र प्राविधिक स्पेसिफिकेसन मिल्नेगरी र अर्को बोलपत्र नमिल्ने गरी २ वटा पेश गरिएको थियो । २ मध्ये प्राविधिक स्पेसिफिकेसन नमिल्ने हस्पिटेकको ६ करोड ९६ लाख ९६ हजार रुपैयाँको बोलपत्र स्वीकृत गरिएको छ ।

 

सार्वजनिक खरीद ऐनको उल्लंघन

बोलपत्र मूल्यांकन गर्दा सार्वजनिक खरीद ऐनको दफा २३ को उपदफा २ (घ) दफा २४ को (घ), दफा २५ को उपदफा १, दफा २६(क) र सार्वजनिक खरीद नियमावलीको नियम ६०, ६१ को ५, ६२(ख), ६३ र ६४ बमोजिम हुनुपर्नेमा सो अनुसार प्राविधिक, ब्यापारिक र आर्थिक मूल्यांकन नभएको उजुरीकर्ताको दाबी छ । यसका साथै  वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वीकृत भएको बोलपत्रदाताको उपकरणहरू अस्पतालको मागअनुसार नभई अत्यन्त कमजोर र न्यून प्राविधिक क्षमताको भएकाले अस्पतालको आवश्यकता पूरा नगर्ने उल्लेख छ ।

 

यसले भविष्यमा अस्पतालको मोडुलर ओ.टी.मा गरिने बिरामीको साधारण तथा जटिल शल्यक्रियाहरूमा समेत गम्भीर असर पर्न जाने हुँदा हस्पिटेकले पेश गरेको प्राविधिक क्षमता र स्पेसिफिकेसनमा अध्ययन गरी बोलपत्र पुनर्मूल्यांकनको माग गरिएको छ । स्पेसिफिकेसन मिल्ने बोलपत्रलाई मात्र छनोट प्रक्रियामा सहभागी गराउन र सार्वजनिक खरीद ऐन बमोजिम मूल्यांकन गर्ने ब्यवस्था मिलाउन उजुरीमा माग गरिएको छ । साथै दोषीलाई कारबाही गर्नुपर्ने उल्लेख छ ।

 

अस्पतालले बोलपत्र स्वीकृत भएको आसयको सूचना २०७५ पुस ९ मा प्रकाशित गरेपछि ७ दिनभित्रै बोलपत्रदाताहरूले इमेलमार्फत् बोलपत्र पुनरावलोकन गरिपाउँ भनी निवेदन दिएका थिए । तर, पुनरवलोकन गर्न माग गरिएको निवेदन दर्ता गर्न जाँदा आज आठौं दिन हो, दर्ता गर्न मिल्दैन भनी बोलपत्रदाताहरूलाई हप्कीदप्की गरी फर्काइएको थियो ।

 

अस्पतालले विभिन्न कम्पनीसँग कोटेसन माग गर्दा सामानहरूको अर्डर गर्दा समेत इमेलबाट गर्ने र उक्त कार्यलाई मान्यता दिने प्रावधान थियो र त्यसैअनुसार भइरहेको थियो । तर पुनरवलोकनको निवेदन इन्टरनेटबाट अस्पतालको आधिकारिक इमेल ठेगानामा समयभित्रै पठाएर हार्डकपी बुझाउन जाँदा बुझ्न नमानेकाले अस्पताल र सप्लायर्स हस्पिटेकसँगको मिलेमतो प्रष्ट देखिएको उजुरीमा उल्लेख छ ।

 

भ्रष्ट निर्देशकविरुद्ध विप्लव माओवादीको एक्सन
मोडुलर ओ.टी.  खरिद प्रकरण पछिल्लो भ्रष्टाचारको उदाहारण हो । यसअघि अस्पतालका निर्देशकदेखि लेखा शाखाका कर्मचारीहरूलाई मोटो कमिसन खुवाएर विशाल पण्डितहरूले औषधि र उपकरणको टेण्डर हत्याँउदै आएका छन् ।  अन्य अस्पतालहरूझैं चितवनको भरतपुर अस्पतालमा औषधि र उपकरणको खरीदको एकलौटी ठेक्का पण्डितहरूले सेटिङमै हात पार्दै आएका छन् ।

 

यसरी भरतपुर क्यान्सर अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटासहितले खरीद, पदपूर्ति, कर्मचारी कार्यमूल्यांकन समितिदेखि अन्तर्वार्ता समितिमा समेत बसेर गलत निर्णय गरी अनियमितता गरेकाले विप्लव माओवादीले एक बर्षअघि कालामोसो नै दलेको थियो ।

 

 

भरतपुर क्यान्सर अस्पतालले १ बर्षअघि एमआरआई मेसिन खरीद गर्दा बजार मूल्यभन्दा ५ करोड बढी भुक्तानी गरिएको थियो । त्यस्तै अस्पतालका लागि आवश्यक नपर्ने एएमसी र सिटी सेमुलेटर मेसिन खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर हस्पिटेकलाई भुक्तानी गरिएको थियो । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...