प्रधानमन्त्रीसहित १२ मन्त्री ‘फेल’, सात मन्त्री ‘जस्ट पास’ कसको नम्बर कति ? सरकारी एप्स यस्तो भन्छ



हाम्रो इकोनोमि

 

 

सरकारको प्रधानमन्त्री कार्यालयको एप्स सफ्टवेयरमार्फत लिएको परीक्षामा प्रधानमन्त्रीसहित १२ जना मन्त्री फेल भएका छन् ।

बिगत ६ महिनाको कार्यावधिलाई लिएर गरिएको २१ मन्त्रालयको परीक्षामा ९ मन्त्री मात्रै पास भएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यो परीक्षामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रथम भएका छन् भने सबैभन्दा कम नम्बर ल्याएर ‘फेल’ हुनेमा खानेपानीमन्त्री वीना मगर रहेकी छिन् ।

अहिको चालु आर्थिक वर्षको श्रावण यताको ६ महिनालाई मुल्यांकन गर्दा १२ मन्त्रीहरु ‘अनुत्तीर्ण’ भएका छन् ।

उनीहरुले ३२ प्रतिशत पनि काम गर्न सकेका छैनन् । उत्तीर्णका लागि ३२ प्रतिशत काम गर्नु पर्ने तोकिएको थियो ।

यो अवधिमा एउटा मात्र मन्त्रालयले ६० प्रतिशत काम सम्पन्न गरेको छ ।

प्रथम भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ।

यो परीक्षामा नौ वटा मन्त्रालय मात्रै उत्तीर्ण भएका छन् । त्यसमा द्वितीय श्रेणीमा उत्र्तीण हुने मन्त्रालयको संख्या तीन मात्रै छ ।

यो कुनै संस्थाले लगाएको आरोप होइन, प्रधानमन्त्री कार्यालयको ‘एप्स’ले देखाएको परिणाम हो ।

गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूलाई आफ्नो वार्षिक कार्ययोजना पेश गर्न निर्देशन दिएका थिए ।

जसमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयले एक सय ८६, वनले एक सय ४४, संघीय मामिलाले एक सय ३१, खानेपानी मन्त्रालयले एक सय १३ वटा कार्ययोजना प्रस्तुत गरेका थिए ।

त्यस्तै उर्जा तथा जलश्रोत मन्त्रालयले एक सय १२, उद्योग तथा वाणिज्यले ९९ वटा वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

उनीहरु आफैंले पेश गरेको कार्ययोजनाअनुसार काम गर्न असफल साबित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको सफ्टवेयरको ठम्याइ छ ।

प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरेको अनुगमनमा ६ महिनाको अवधिमा एउटा मात्र मन्त्रालय प्रथम श्रेणीमा ‘उत्तीर्ण’ भएको छ ।

त्यो हो‌ परराष्ट मन्त्रालय । उसले समीक्षा अवधिमा ६० प्रतिशत काम पूरा गरेको छ । परराष्ट्रले ५१ वटा कार्ययोजना पेश गरेकोमध्ये ६० प्रतिशत पूरा गरेको उल्लेख छ ।

सबैभन्दा कम नम्बर ल्याएर ‘फेल’ भएकी खानेपानीमन्त्री वीना मगर ।

त्यस्तै द्वितीय श्रेणीमा उत्तीर्ण हुने मन्त्रालयको संख्या तीन मात्रै छ । ३२ प्रतिशत काम पूरा गरेर उत्तीर्ण हुने मन्त्रालयको संख्या सात वटा छन् ।

बाँकी १२ वटा मन्त्रालय अनुत्तीर्ण हुनेको सूचीमा दर्ज भएका छन् । सबैभन्दा काम गर्न नसक्ने मन्त्रालयमा परेको छ, खानेपानी मन्त्रालय ।

अर्थ मन्त्रालयले सबैभन्दा बढी कार्ययोजना पेश गरेको थियो । उसले एक सय ८६ वटा कार्ययोजना प्रधानमन्त्रीसमक्ष पेश गरेकोमा ५२ प्रतिशत काम सम्पन्न गरेको छ ।

त्यस्तै गृहले वार्षिक ५४ वटा कार्ययोजना प्रस्तुत गरेकोमा ५१ दशमलव ८५ प्रतिशत सम्पन्न गरेको छ भने रक्षा मन्त्रालयले सबैभन्दा कम नौ वटा मात्र कार्ययोजना प्रस्तुत गरेको थियो ।

जसमध्ये ५५ दशमलव ५५ प्रतिशत काम पूरा भएको विवरणमा उल्लेख छ ।

उद्योग मन्त्रालयले ३४ दशमलव ३४ प्रतिशत काम पूरा भएको विवरणमा उल्लेख छ । त्यस्तै कृषि मन्त्रालयले वार्षिक ७८ वटा कार्ययोजना पूरा गर्न लक्ष्य प्रस्तुत गरेकोमा ३७ दशमलव १७ प्रतिशत काम सम्पन्न गरेको छ भने वनले एक सय ४४ वटा वार्षिक कार्ययोजना ल्याएकोमा ३८ दशमलव ८५ मात्र पूरा गरेको छ । महिला बालबालिकासँग २८ वटा वार्षिक कार्ययोजना रहेको थिए । जसमा ३९ दशमलव २८ प्रतिशत पूरा भइसकेको जनाइएको छ ।

यसैगरी, पर्यटनसँग ३३ वटा कार्ययोजना रहेकोमा ३९ दशमलव ३९ काम सम्पन्न भएको विवरणमा जनाइएको छ । यता ८५ वटा वार्षिक कार्ययोजना पस्केको श्रम मन्त्रालयले ४१ दशमलव १७ काम सम्पन्न गर्न सफल भएको छ ।

खानेपानी मन्त्रालयले प्रधानमन्त्रीसमक्ष एक सय १३ वटा वार्षिक कार्ययोजना प्रस्तुत गरेको थियो । जसमध्ये हालसम्म ६ दशमलव १९ प्रतिशत काम पूरा भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले ५८ वटा वार्षिक कार्ययोजना प्रस्तुत गरेकोमा समीक्षा अवधिमा ६ दशमलव ८९ प्रतिशत कार्ययोजना पूरा गर्न सकेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग एक सय ३१ वटा वार्षिक कार्ययोजना पेश गरिएकोमा हालसम्म १३ दशमलव ७४ प्रतिशत काम मात्र पूरा गर्न सकेको छ ।

उसो त प्रधानमन्त्री कार्यालय आफैं अनुत्तीर्ण भएको छ । कार्यालयसँग वार्षिक ८४ वटा कार्ययोजना रहेको मध्ये हालसम्म १४ दशमलव २८ प्रतिशत काम पूरा भएको छ । त्यस्तै अनुत्तीर्ण हुने मन्त्रालयको सूचीमा कानुन, शिक्षा, सञ्चार, खेलकुद, शहरी विकास, भूमि तथा सहकारी, उर्जा तथा जलश्रोत र भौतिक पूर्वाधार मन्त्रालय छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारीअनुसार कानुन मन्त्रालयले यो अवधिसम्ममा १८ दशमलव ९ प्रतिशत काम मात्रै सम्पन्न गरेको छ । यस्तै सञ्चार र खेलकुदले वार्षिक योजना अनुरुप जम्मा २० प्रतिशत काम मात्र पूरा गर्न भ्याएको छ । शिक्षा मन्त्रालयले २५ दशमलव २६ प्रतिशत सम्पन्न गर्दा शहरी विकास मन्त्रालयले २७ दशमलव १६ प्रतिशत काम सम्पन्न गरेको छ ।

त्यस्तै भूमि तथा सहकारी मन्त्रालयले वार्षिक कार्ययोजना अनुसार जम्मा २८ प्रतिशत काम सम्पन्न गरेको छ भने उर्जा तथा जलश्रोत मन्त्रालयको २८ दशमलव ५७ प्रतिशत काम पूरा गरेको छ । भौतिक पूर्वाधारले २९ दशमलव २६ प्रतिशत काम मात्रै गर्न सकेको छ ।

प्रधानमन्त्री कार्यालयमा जडान गरिएको एप्सले कामको प्रतिशत अनुसार, चिह्न देखाउने गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, ८० प्रतिशत बढी काम पूरा गरेका मन्त्रालयलाई हरियो चिन्ह देखाउँछ । यसलाई उत्तम मानिएको छ । ८० प्रतिशतसम्म काम गरेकालाई पहेँलो चिन्ह देखाउँछ, यसलाई सन्तोषजनक मानिएको छ ।

यसैगरी, ५० प्रतिशतभन्दा कम काम गरेका मन्त्रालयलाई रातो चिन्ह दिन्छ, यसलाई नकारात्मक सूचक मानिएको छ । यो सफ्टवेयरले प्रधानमन्त्री कार्यालयलाई पनि रातो चिह्न देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...