एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: कति पाउँछन् मृतक परिवारले बीमा रकम?
गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश ती व्यक्ति थिए जसले नेपालको उड्डयन नीति बनाउँथे, कार्यान्वयन गर्थे।
उनीहरुको बुझाईमा नेपालको हवाइ यात्रु सुरक्षा, बीमासहित अन्य नीतिनियमहरु निर्देशित हुँदै आएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा सहित ७ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए।
दुर्घटनापछि उड्डयन नीति निर्माण गर्नेहरूका परिवारले अब बीमा बापत कति रकम पाउँछन् त? नेपाल उड्डयन प्राधिकरण तथा हेलिकोप्टर कम्पनीकाअनुसार पीडित परिवारले वार्सा महासन्धि र हेग प्रोटोकलअन्तर्गत रहेर बीमा रकम पाउनेछन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा गत मंसिर २९ देखि लागू भएको छ। अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाइयात्रुहरुको दुर्घटनाबाट मृत्यु भएमा, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडीआर (अन्तर्राष्ट्रिय) मुद्रा कोषको मौद्रिक इकाइ) बराबर बीमा पाउँछन्।
यो रकम भनेको १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर बराबर हो। तर यो महासन्धि आन्तरिक उडानमा लागू नहुने उड्डयन अधिकारीहरूको भनाइ छ।
हवाइ उडानसम्बन्धी वार्सा महासन्धि र हेग प्रोटोकलअन्तर्गत रहेको नेपालको आन्तरिक उडानमा बीमा दायित्व २० हजार अमेरिकी डलर उल्लेख छ। सोहीअनुसार मृतकका परिवारले कम्तिमा २० हजार अमेरिकी डलर पाउने उनीहरू बताउँछन्। यो रकम वायुसेवा कम्पनीले आफ्नो बीमा नीतिअनुसार दिने हो।
विमान कम्पनीले आफ्नो बीमा नीतिअनुसार बीमा रकम दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले नेपालखबरलाई बताए।
एयर डाइनेस्टी स्रोतका अनुसार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएमा हेलिकोप्टर पाइलट प्रभाकर केसीको एक करोड रुपैयाँ हाराहारीको बीमा छ। यो रकम उनको परिवारले पाउनेछ। यात्रुहरुको हकमा २०/२५ लाख रुपैयाँसम्मको बीमा छ। तर यो एयर डाइनेस्टीले अनौपचिारक रुपमा दिएको जानकारी हो। आधिकारिक रुपमा उसले केही बताएको छैन।
बुधबार ताप्लेजुङ, फुङलिङ–१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर एएस ३५० दुर्घटना भएको थियो।


