स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म, साली र श्रीमतीलाई भान्सेमा नियुक्ति



हाम्रो इकोनोमि

 

गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्तास्वरूप जनही ३० हजार भुक्तानी दियो ।

 

गत आर्थिक वर्ष मात्र यो नगरपालिकाका मेयरसहित सदस्यहरूले गैरकानुनी रूपमा बैठकभत्ता शीर्षकमा २६ लाख २ हजार ३ सय ५० रुपैयाँ बुझेका छन् । महालेखाले गैरकानुनी रूपमा लिएको बैठकभत्ता उनीहरूबाट असुलउपर गर्नुपर्ने बताएको छ ।

 

नगरपालिकाले जिल्लाका नेता सांसद र संघको मन्त्री बनेकामा बधाई दिँदा मात्रै गत वर्ष एक लाख ७१ हजार राज्यकोषबाट खर्च गरेको छ । यसैबीच गत आर्थिक वर्षमा नगरपालिकाले इन्धन शीर्षकमा ८ लाख ५५ हजार ४ सय खर्च गर्‍यो । जनप्रतिनिधिका आफन्तका निजी सवारीसाधनमा समेत सरकारी पैसाबाट इन्धन हालियो । तर, इन्धनमा ८ लाख ५५ हजार खर्च भएको बिल नगरपालिकासँग छैन ।

खाजा र अतिथि सत्कारमा ३७ लाख ९१ हजार ६ सय ३२ रुपैयाँ खर्च गरेको लेखे पनि नगरपालिकाले प्रमाण देखाउन सकेको छैन ।

 

नगरपालिकाले ११ वटा वडालाई प्रशासनिक खर्च शीर्षकमा प्रतिवडा ५ लाखका दरले जम्मा ५५ लाख दियो । त्यो पैसा सीधै वडाध्यक्षले पाए । पहिले नै इन्धनमा ८ लाखको खर्च देखाइसकेको नगरपालिकाले दिएको ५५ लाख पनि वडाध्यक्षको इन्धन, खाजा, स्टेसनरीमा खर्च भएको फर्जी बिल पेस गरेको छ । महालेखाले यसमा प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको छ ।

 

मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्सेको नियुक्ति दिएरसमेत तलब लिँदै छन्
फुङलिङ नगरपालिका ताप्लेजुङका पदाधिकारी तथा कर्मचारीले प्रदेश कानुनले तोकेभन्दा बैठक, यातायात र भ्रमण खर्चका नाममा १५ लाख बढी रकम लिएका छन् । प्रमाणबिनै योजना अनुगमनका नाममा भुक्तानी लिएका छन् ।

 

मेयर छत्रपति प्याकुरेलले स्थानीय कुमार मादेनलाई सल्लाहकार नियुक्त गरी गत आर्थिक वर्षमा मात्र तीन लाख भुक्तानी दिलाएका छन् । स्थानीय तहका प्रतिनिधिले स्वीकृत दरबन्दीमा रहेका कर्मचारीलाई मात्र काममा लगाउन पाउँछन् । आफूखुुसी नियुक्त गर्न र सुविधा दिन पाउँदैनन् । तर, मेयरले त्यतिमात्र होइन, आफ्नै नीजि घर मर्मतका लागि सरकारी कोषको करिब ९ लाख खर्च गरेको भनेर सरकारी भुक्तानी लिएका छन् ।

 

निजी घर मर्मतबापत सरकारी बजेट खर्च गरेको विषयमा जिज्ञासा राख्दा मेयर प्याकुरेलले नयाँ पत्रिकासँग भने, ‘ मेरो घरमा त्यस्तो ठूलो मर्मत भएको छैन । मर्मतको नाममा केकति खर्च भयो मलाई थाहा छैन । खासमा नगरपालिकाले मेरो घरको कोठाको माथि प्लाइउड र भुइँमा कार्पेट लगाइदिएको छ । म मेयर सधैँ हुने होइन, मेयरबाट हटेपछि त्यो उप्काएर लान्छन् । त्यसैले अनावश्यक सरकारी खर्च भएको छैन ।’

 

त्यस्तै, मेयर प्याकुरेलले नै साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगी भनेर नियुक्ति दिलाएका छन् । तर, उनलाई घरमा भान्सेको रुपमा काममा लगाएका छन् । नगरपालिकामा उनको हाजिरी समेत छैन । त्यस्तै, सालीको छोरोलाई सहयोगीको रुपमा नियुक्ति दिलाएका छन् । तर उनी इटहरीमा बस्छन् ।

 

त्यस्तै, उपमेयर बमबहादुर भट्टराईले पनि श्रीमती बालकुमारी भट्टराईलाई भान्से भनेर नियुक्ति दिलाएका छन् । उपमेयरको भान्सेको रुपमा श्रीमती भट्टराईले नगरपालिकाबाट मासिक १६ हजार रुपैयाँ तलब बुझ्दै आएकी छिन् ।

 

गाउँपालिकाले उपभोक्ता समितिमार्फत १५ लाखको ह्युमपाइप खरिद गरेको बिल पेसेको छ । प्राविधिकले पनि ह्युमपाइप किनेर बिच्छ्याएको कार्यसम्पन्न प्रतिवेदन दिएको छ । तर महालेखा भन्छ, त्यो पाइप कुन स्थानमा, कसले प्रयोग गरेको भनी खोज्दा भेट्न सकिएन । महालेखाले पाइप जडान भएको नाप र नक्साको प्रमाण नदेखिएकाले १५ लाख बेरुजु देखाएको छ ।

 

पाँचथरको हिलिहाङ गाउँपालिकामा राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकार
गाउँपालिकाले पाश्र्वचित्र प्रकाशन गर्न ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । गणकलाई तालिम तथा खर्च, विवरण संकलन, बैठक भत्ता, आदिमा ५ लाख ३३ हजार रुपैयाँ खर्च गरे पनि पाश्र्वचित्र प्रकाशन भएको छैन ।

 

स्वीकृत दरबन्दीमा नरहेका सल्लाहकार र स्वकीय सचिव भनी नियुक्त गरिएकालाई पनि तलब भत्ता दिइएको छ । राजनीतिक सल्लाहकारलाई ६० हजार, प्रेस सल्लाहकार र कानूनी सल्लाहकारलाई जनही १ लाख २० हजार र स्वकीय सचिवलाई २ लाख ६६ हजार गरी कुल ५ लाख ६६ हजार भुक्तानी दिइएको छ ।

 

पूर्वाधारका नाममा धमाधम मन्दिर, गुम्बा र चर्च निर्माण

स्थानीय तहले आर्थिक विकास, गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने, जीवनस्तर उकास्ने, रोजगारी बढाउने योजनामा मात्र खर्च गर्नुपर्छ । तर, ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाका पदाधिकारीले डेढ घन्टाको पैदल दूरीमा जाँदा पनि तीन दिनको भ्रमणभत्ता स्वीकृत गराएका छन् । यो गाउँपालिकाले यस वर्ष भ्रमण तथा अनुगमन मूल्यांकन खर्चमा ३३ लाख ७१ हजार खर्च गरेको छ ।

 

त्यस्तै, सामुदायिक भवन, क्लब भवन, चर्च, गुम्बा निर्माण/मर्मत, खेलकुद मैदानजस्ता योजनामा बढी रकम खर्च गरेको छ । यस्ता १५ वटा अनुत्पादक क्षेत्रका योजनामा १८ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । ताप्लेजुङकै फत्ताङलुङ गाउँपालिकाले सामुदायिक भवन, क्लब, चर्च, गुम्बालगायत निर्माणमा १ करोड ५९ लाख ३९ हजार रुपैयाँ खर्च गरेको छ । ५८ वटा अनुत्पादक योजना छनोट गरेको छ भने ७ वटा चर्चका लागि झन्डै १३ लाख र १० वटा गुम्बाका लागि ५६ लाख ६८ हजार रुपैयाँ खर्चेको छ ।

 

लमजुङको मध्यनेपाल नगरपालिकाका जनप्रतिनिधिले बैठक भत्तामा १९ लाख १२ हजार खर्च गरेका छन् । प्रदेश सरकारले १ वैशाख ०७५ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यले बैठकभत्ता लिन नपाउने, तर ०७४ साउनदेखि मासिक सुविधा दिने घोषणा गर्‍यो । यो नगरपालिकाका पदाधिकारीले ०७५ वैशाखमा ऐनअनुसार ०७४ साउनदेखिकै सुविधा एकमुष्ट लिए ।

 

त्यसअघि लिँदै आएको तर ऐनले लिन वञ्चित गरेको बैठकभत्ता फिर्ता गरेनन् । अझै पनि निरन्तर बैठकभत्ता लिइरहेका छन् । उनीहरूले गत आर्थिक वर्षसम्ममा गैरकानुनी रूपमा १९ लाख १२ हजार रुपैयाँ बैठकभत्ता लिइसकेका छन् । त्यो रकम उनीहरूबाट असुलउपर हुनुपर्ने महालेखाको भनाइ छ ।

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...