कहिले–कहिले भयो भारत र पाकिस्तान युद्ध ?



हाम्रो इकोनोमि

 

बेलायतीहरूबाट १९४७ अगस्ट १४ मा पाकिस्तान र १५ मा भारत मुक्त भएका हुन् । एउटै साम्राज्य रहेको भए पनि बेलायतले आफूले छोड्ने समयमा पाकिस्तान र भारत बनाएर बीचमा काश्मीरको धर्का समेत राखेर गएका थिए । पछि बंगालदेश समेत बनेर तीन मुलुकको रूपमा सँगै छन् । लामो शासनमा परेको भारत र पाकिस्तानको विकास उनै बेलायतीहरूले त्यतिबेलैदेखि गरिदिएका थिए । रेलमार्गदेखि सडकसम्मको पूर्वाधार र व्यवस्थित बन्दरगाह समेत उनीहरूले तय गरिदिएका थिए ।

 

भारत स्वतन्त्र हुनेनै भएपछि महिनौं राजनीतिक बहस चल्यो र अन्तिममा बेलायतीले भारत र पाकिस्तालाई दुई भागमा चिरा पारेर छोडिदियो । तर त्यसको २४ वर्षपछि त्यो दुई भाग चिरा तीनमा परिणत भयो । भारत, पाकिस्तान र बंगलादेश । बंगलादेश पूर्वी पाकिस्तानको रूपमा सन् १९७१ सम्म थियो । २०७१ को अन्त्यमा बंगलादेश छुट्टै मलुक बनेको हो ।

 

हिन्दु बाहुल्य भारतमा मुस्लिमहरू अल्पमतमा पर्नसक्ने भन्दै छुट्टै राज्य माग भए । अनि त्यहीअनुरूपको तयारी भएपछि भारत र पाकिस्तान बने । पहिला पाकिस्तान सिर्जना भएपछि भारत स्वतन्त्रताको निर्णय बेलायतीले लिए । जसले ठूला राज्य पञ्जाव र बंगाल समेत रेखांकनसहित विभाजित भए । त्यही विभाजनले अहिले संकट सिर्जना गरेको छ । त्यही बीचमा काश्मीरलाई त्यसै छोडिएको थियो ।

 

भारतभित्र रहेको भनिए पनि त्यसको भूभाग कता लैजाने निर्णय त्यहाँका महाराजालाई नै जिम्मा लगाइएको थियो । यद्यपि त्यो भाग पाकिस्तानले दाबी गर्दै आएको भएपनि महाराजाले भारतमा गाभिदिए । त्यसपछि द्वन्द्व थप चर्किन थाल्यो । हुन त भारत र पाकिस्तानबीच विभाजन भएको दुई महिनादेखि नै आपसी द्वन्द्व आरम्भ भएको थियो । पछि लाइन अफ कन्ट्रोल (एलओसी) बनाए तर पनि त्यस क्षेत्रमा नै हमला भइरहेका छन् ।

 

ही द्वन्द्वले करोड भन्दा बढी नागरिक शरणार्थी बनेका छन् । लाखौं मानिसले मृत्युवरण गरिसके । भारत-पाकको द्वन्द्वमा नेपाली पनि लडेका छन् । भारतीय सेनामा रहेका नेपाली गोर्खा लडे । कैयन्ले ज्यान गुमाए । त्यही समयदेखि नै मेलमिलापको प्रयास पनि भएको हो । तर सफलता चुम्न सकेन । त्यो विभाजनबारे कसैले बोल्न पनि सकेनन् । सबै स्वतन्त्रताको पछि लागे । तर जब विभाजन भयो त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध सधैं तिक्ततामा परिणत भयो । दुवै पक्ष अझै एक अर्कामा हार्दिकता अपनाउन सक्दैनन् । त्यही प्रकारका सिनेमाहरू बने जसले भारत-पाकिस्तान सम्बन्धलाई थप तिक्ततातिर लग्यो ।

 

दुवै मुलुकका नागरिकमा उग्रराष्ट्रवाद हुर्कंदै गयो । हुन पनि भारत र पाकिस्तानबीचको द्वन्द्व र तिक्तता विश्वकै सबैभन्दा लामो आपसी द्वन्द्व हो । यो तनावलाई भूराजनीतिक मात्र होइन भूगोलको बाँडफाँटको तनावको रूपमा लिइन्छ । यही तनावकै कारण दुवै मुलुकले आ-आफ्नो पारमाणविक अस्त्र नै विकास गर्दै अघि बढे । पाकिस्तानसँग दुईहजार परसम्म मार हान्न सक्ने आणविक हतियार छ भने भारतसँग पाँच हजार परसम्म हान्न सक्ने ।

 

दुवैले आफ्नो प्रतिरक्षा पनि उत्तिकै बढाएका छन् । यसरी दुवै मुलुक पारमाणिक शक्तिको रूपमा विकसित भएका छन् । यद्यपि पाकिस्तान आर्थिक हिसाबमा भारत भन्दा कमजोर छ । यी दुई मुलुकको तनावले यो क्षेत्र नै असजिलोमा पर्ने गरेको छ । अनि तनाव क्षेत्रीय विवादभन्दा दुईपक्षीय समस्या यहाँ बढिरहेको देखिन्छ । जसको मारमा क्षेत्रीय सहकार्य पनि परेको छ ।

 

सार्कले जुराउने भेट र हार्दिकता

यस क्षेत्रलाई समृद्ध बनाउन सहकार्यमा जुट्ने लक्ष्यसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापना १९८५ मा भयो । स्थापनादेखि नै सार्क सधैं यिनै दुई मुलुकको तिक्तताको छायामा पर्दै आएको छ । हजारौं प्रतिबद्धता सार्कमा भएका छन् तर कार्यान्वयन कमजोर अर्थात प्राय :शून्य । यसरी दुईपक्षीय छायामा पर्ने सार्कले कहिलेकाहीं यसमा नेताहरूलाई दुईपक्षीय सम्बन्धमा ब्रेक थ्रु गर्ने काम पनि गरेको छ ।

 

शिखर सम्मेलनले समयसमयमा दुई देशीय सहकार्य गरिदिने र गाँठो फुकाउने काम भएका छन् । भारत र पाकिस्तानको अविश्वासको कारण एक अर्का मुलुकमा सीधा आउजाउ समेत गर्न सकिन्न । यो दुई मुलुकबीच व्यापार पनि छ । खेलकुद (क्रिकेटमा लोकप्रियता) पनि हुन्छ तर आपसी सम्बन्ध अझै पनि नजिक हुन सकेको छैन ।

 

सन् २००२ को काठमाडौंको ११ शिखर सम्मेलनको स्मरण हुन्छ । भारत पाकिस्तानको तनाव कतिसम्म थियो भने भारतको भूभाग नभई चिनियाँ भूभागबाट पाकिस्तानका तत्कालिन राष्ट्रपति परबेज मुसर्रफ काठमाडौं ओर्लेका थिए । त्यो पनि एक दिन ढिलो गरेर । शिखर सम्मेलन अघि बढेको भन्दै त्यसलाई सफल पार्न त्यो एक दिन कुराएर भए पनि मुसर्रफ काठमाडौं आए । भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीले पनि धैर्यता देखाए । त्यतिबेला उनीहरूबीच भएको मिलन अझै स्मरणयोग्य छ ।

 

तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हाल संघीय संसद् भवन) मा भएको त्यो मिलन र सभ्य भाषामा भएको छेडछाड आफैंमा प्रशंसनीय थियो । काठमाडौंबाट नै त्यो वार्ता अघि बढेको थियो । हुन त त्यसअघि मे २००१ भारतको आग्रहमा भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफको भेटवार्ता उपलब्धि हुन नसक्दा यसको ब्रेक थ्रु सन् २००२ मा काठमाडौंबाट भएको थियो । स्मरणीय रहोस् फेब्रुअरी १९९९ भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयी नै पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेटेर शान्ति सम्झौता गर्ने भन्दै बस चढेर पाकिस्तानको लाहोर पुगेका पनि थिए ।

 

कतिपयले सार्क अध्यक्ष मुलुक नेपालले भारत र पाकिस्तानको वार्ता गराउन सक्ने धारणा पनि सार्वजनिक गरेका छन् । अर्काथरि विश्लेषकले भने दुवै पक्षले पत्याउन सक्ने नेतृत्वले मात्र यस्ता कार्य गर्नसक्ने धारणा राखेका छन् । विश्वमा नै यस्तो नेतृत्वका अभाव हुँदै गएको छ । हुन त, चार वर्षअघि काठमाडौंमा सम्पन्न १८ औं शिखर सम्मेलनमा पनि भारत र पाकिस्तानका प्रधानमन्त्रीहरू के गर्लान् भन्ने नै थियो ।

 

राष्ट्रिय सभा गृहको होल्डिङ रुममा नरेन्द्र मोदी र नवाज सरिफले हात मिलाउँदा समाचार बनेको थियो । धुलिखेलमा भएको रिट्रिटमा उनीहरूले दुईपक्षीय मामिलाबारे छलफल नै गरे । यसरी प्रधानमन्त्री स्तरमा हुने छलफलले बेलाबेलामा सम्बन्धलाई सकारात्मक मोड दिने गरे पनि यिनै नेतृत्वको छायामा परेको छ सार्क । अनि नेपाल, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानले पनि उनीहरूलाई अघि बढाउन सकेका छैनन् ।

आरोप प्रत्यारोप

स्वतन्त्र भएको दुई महिनादेखि नै भारत-पाकिस्तानबीच लगातार तनाव चलिरहँदा भारतीय सेनाको सहयोगमा सन् १९७१ तत्कालिन पूर्वी पाकिस्तान स्वतन्त्र बन्यो । अनि नयाँ मुलुक बंगलादेश जन्मियो । भारत र पाकिस्तानको सम्बन्धको तिक्तताको परिणाम नै हो बंगलादेश ।

पूर्वी पाकिस्तानको समस्या समाधान भए पनि समस्याको जरो काश्मीरले दुवैलाई सताइरहेको छ । मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रलाई तत्कालीन राजा हरि सिंहले भारतको अंश हुनुपर्ने निर्णय लिए । जसको कारण त्यसपछि काश्मीरको विषयमा द्वन्द्व भयो । मुसलमान बाहुल्य उक्त राज्यका महाराजाले लिएको निर्णयलाई मुस्लिमहरूले स्वीकार्न नसकेपछि समस्या झन् जकडियो । अनि भारतीय र पाकिस्तानी फौज काश्मिरको नियन्त्रणका लागि लड्न थाले । युद्ध नै घोषणा तीन पटक भए पनि यसको अन्य फाटफुट आक्रमण धेरै भएका छन् । पहाडी र हिमाली क्षेत्र भए पनि सम्बन्धका हिसाबले यो क्षेत्र सधैं तातिरहन्छ ।

 

शान्तिको संकेत

आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तान भारतीय पक्षलाई बुझाउने निर्णयले सम्बन्धमा निकटता ल्याएको छ । भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमान्डरलाई भारत र पाकिस्तानको सिमाना रहेको बाघा-अटरी बोर्डरमा ल्याइसकिएको छ । जेनेभा अभिसन्धिअनुसार अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई जिम्मा लगाउने प्रक्रिया आरम्भ भएको थियो ।

 

पाइलट वर्तमानलाई अटारी सीमामा पन्जावका मुख्यमन्त्री अमरिन्दर सिंहले स्वागत गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत बुधबार उनले उडाएको मिग-२१ लडाकु जेटलाई पाकिस्तानी सेनाले खसालेपछि प्यारासुटबाट ओर्लिएका अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । लगत्तै भारतले पाकिस्तानलाई सुरक्षित रूपमा रिहा गर्न भारतले आग्रह गरेको थियो । यदि अस्वीकार गरे जुनसुकै कदम चाल्न पनि पछि नहट्ने चेतावनी दिएको भारतलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले युद्धमा नजाने संकेतस्वरूप पाइलट फिर्ता गरिएको विश्लेषण बाहिर आएको छ ।

 

दुई मुलुकबीच भएका द्वन्द्व र युद्ध

हुन त भारत र पाकिस्तान स्वतन्त्र भएको दुईमहिनापछि नै युद्ध आरम्भ भएको हो । भारत र पाकिस्तान स्वतन्त्र भएको ७१ वर्ष पुग्दा समेत उनीहरू एक आपसमा लडिरहेकै छन । तीन युद्ध नै भए । सन् १९९९ यता यस्तै हमलाहरू भइरहेको भएपनि आपसी युद्ध भने भएको छैन । पछिल्लो घटनादेखि आरम्भसम्मका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएको तथ्यको आधारमा तय सूची ।

 

२०१९  :पाकिस्तानमा रहेको जैश ए मोहम्मद समूहद्वारा अर्धसैनिक बल सीआरपीएफका ४० जनाको ज्यान जानेगरी काश्मीरको पुलवामा विद्रोहीद्वारा आत्मघाती विस्फोट । त्यसको दुई सातापछि भारतद्वारा जवाफी कारबाही । अनि चर्कियो दुईपक्षीय द्वन्द्व ।

 

२०१६ :काश्मीरको उरीमा रहेको भारतीय सैन्य अखाडामा विद्रोहीले हमला गर्दा १९ सैनिकको मृत्यु । भारतद्वारा पाकिस्तानी काश्मीरमा सैन्य कारबाही (अहिलेकै जस्तो) । अनि त्यही वर्ष काश्मीरको पठानकोटस्थित भारतीय वायुसेनाको अखडामा आक्रमण । चार दिन लामो आक्रमणमा जारी दुवैतर्फ हताहत ।

 

२००८  :मुम्बई हमला । रेलवे स्टेसन, होटेलहरूमा आक्रमण । चारदिने उक्त घटनामा झन्डै दुई सयको मृत्यु । पाकिस्तानमा रहेको लश्कर ए तोइबा समूहले गराएको भारतीय दाबी ।

२००७  :मुम्बई हमलाको अघिल्लो वर्ष भारत र पाकिस्तान आउजाउ गर्ने रेलमा बम विस्फोट । ६८ को जानको ज्यानसमेत गयो ।

२००१  :काश्मीरको विधानसभामा आक्रमण गर्दा ३८ जनाको मृत्यु । त्यसको दुई महिनापछि दिल्लीस्थित भारतीय संसद्मा सशस्त्र आक्रमण । १४ जनाको मृत्यु ।

 

१९९९ :पाकिस्तानी सेनाले विद्रोहीसँग मिलेर कारगिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा गरेपछि छोटो लडाइँ नै भयो । भूभागको विषय भएकाले यो लडाइँमा पाकिस्तान पछि सर्‍यो । त्यसपछि युद्ध भएको छैन ।

 

१९७१  :पूर्वी पाकिस्तानको स्वतन्त्रताको लडाइँमा आरम्भ । ठूलो युद्ध अनि भारतको समर्थन । भारतीय सेनाको साथ अनि वायुसेनाद्वारा पाकिस्तानमा बमबारी गरेपछि पूर्वी पाकिस्तान छुट्टिएर अहिलेको बंगलादेश नै बन्यो ।

१९६५  :काश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीच लामो लडाइँ । स्वतन्त्रतापछिको पहिलो लडाइँ थियो ।

 

पुलवामा हमला गरेपछि आतंककारी समूहलाई सिध्याउन भन्दै भारतले ती क्षेत्रमा आक्रमण गरेको हो । दुई सातापछि भारतले त्यहाँ आक्रमण गर्‍यो । भारत- पाकिस्तान सीमा नै उल्लंघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण गरेकोले आफूहरूले जवाफी कारबाही गरेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जनाए । उनले आफूले युद्ध नचाहेको तर सार्वभौकितामाथि आच आउन नदिने धारणा पनि राखे । भारतले आफूले गरेको सर्जिकल स्ट्राइकमा लडाकु समूह जैश-ए-मोहम्मदको शिविर नष्ट गरिएको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...