शेर्पाको पार्थिव शरीर निजी निवास लगियो, आइतबार यसरी हुनेछ अन्त्येष्टि
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मुत्यु भएका पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पाको शेर्पा जातीय परम्परा अनुसार आइतबार अन्त्येष्टि गरिने भएको छ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै सार्वजनिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा शेर्पाको शवपनि राखिएपनि कार्यक्रम सकिएलगत्तै उनको शव वालुवाटारस्थित निजी निवास लगिएको छ।
श्रद्धाञ्जली कार्यक्रममा स्व शेर्पाको शवपनि अन्य शव राखिएजस्तै बाकसमा राखिएको थियो। तर, अन्त्येष्टि शेर्पा परम्परा अनुसार गरिने भएपछि निवास लैजाँदा छुट्टै वाकस प्रयोग गरियो।
अन्त्येष्टी कर्ममा संलग्न लामा गुरु किङछेप शेर्पाका अनुसार स्व शेर्पाको शवलाई आइतबार (१९ फागुन) सम्म पूजापाठ गरिनेछ। र, त्यसपछि टेकुस्थित गुम्बामा लगिनेछ।
शेर्पा परम्परा अनुसार, अन्त्येष्टिका लागि पूर्वको साइत निस्केमा जम्मु गोठाटार, पश्चिम साइत निस्केमा स्वयम्भू गुम्बा र दक्षिण साइत निस्केमा टेकु गुम्बा लगिने गरिएको छ।
शुक्रबार (१७ फागुन) देखि आइतबारसम्म गरी तीन दिन २० जना लामा गुरुहरुले पुजापाठ स्व शेर्पाको शवमा पुजापाठ गर्नेछन्। स्व शेर्पाको घरमा चाहिँ बुधबारदेखि नै पुजापाठ सुरु भइसकेको छ।
अन्त्येष्टी भइसकेपछि पनि मृत्यु भएको दिन (बार) पारेर ७ हप्तासम्म प्रत्येक बुधबार स्व शेर्पाको घरमा पुजापाठ हुनेछ। लामाहरुको भाषा अनुसार उच्च पदस्थ लामाहरू बाट ‘फोवा’ हाल्नु पर्दछ ।
स्व शेर्पाको शवलाई धार्मिक विधि अनुसार ‘ठु’ (पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेरेर सिङ्गारिएको स्थानमा राख्ने र लामाबाट शवको संस्कार गर्ने साइत हेराइन्छ। स्व शेर्पाको अन्त्येष्टिको साइत आइतबार (१९ फागुन) जुरिसकेकाले त्यसै दिन उनको अन्त्येष्टि हुनेछ।


