इमरान खानले हानेको एउटा ‘छक्का’



 

इमरान खान एक पूर्वक्रिकेटर हुन्, जसले विगतमा पाकिस्तानी क्रिकेट टिमको नेतृत्व गरेका थिए । अहिले उनी प्रधानमन्त्री पदमा रहेर देशकै नेतृत्व गरिरहेका छन् ।

 

क्रिकेट टिमको नेतृत्व गर्नु र देशको नेतृत्व गर्नुबीच खासै तादम्यता त नहोला । तर, स्पोर्ट्सम्यानसीपको आवश्यकता दुवै भूमिकामा उस्तै पर्दो रहेछ । यतिबेला भारत र पाकिस्तानबीचको एउटा क्रिकेट म्याचको सम्झना गर्नु सान्दर्भिक हुनेछ । उक्त म्याचमा पाकिस्तानी टोलीका कप्तान थिए इमरान ।

 

खेल तनावपूर्ण मोडमा रहेका बेला पाकिस्तानी बलर बकार युनिसले भारतीय कप्तान क्रिस श्रीकान्तलाई एलबीडब्लू धरापमा पारे । अम्पायरले तुरुन्त आउट दिए । तर, श्रीकान्तले मैदान छोड्न चाहेनन् । अम्पायरको निर्णयमा असहमति जनाउँदै चर्को प्रतिवाद गरेपछि तनावको स्थिति सिर्जना भयो ।

 

अम्पायरले लिएको निर्णय ठिक थियो वा थिएन आफ्नो ठाउँमा छ । तर, जुनसुकै खेलमा अम्पायरको निर्णय नै अन्तिम हुन्छ । खेलाडीले त्यसलाई चुनौती दिन सक्दैनन् । अन्यथा अनुशासनको कारवाही भोग्न तयार हुनुपर्छ । त्यसैले भारतीय कप्तान श्रीकान्त कारवाहीमा पर्ने सम्भावना प्रबल थियो ।

 

तर, त्यतिबेला पाकिस्तानी कप्तान इमरानले साहसिक निर्णय लिए । उनले श्रीकान्तलाई आउट गर्ने निर्णय रद्द गर्न अम्पायरलाई सल्लाह दिए । यसबाट पाकिस्तानी खेलाडीहरु चकित परे । किनकी श्रीकान्तको विकेट पाकिस्तानका लागि निकै महत्वपूर्ण थियो । यसबाट खेल पाकिस्तानको पक्षमा मोडिन सक्थ्यो । तर, इमरानलाई आफ्ना बलरमा ठूलो भरोसा थियो ।

 

इमरानको सल्लाहबमोजिम अम्पायरले श्रीकान्तलाई फेरि ब्याटिङ गर्न अनुमति दिए । तर, उनको दुर्भाग्य ! बकार युनुसले लगत्तै अर्को बलमा श्रीकान्तलाई विकेटकिपरबाट क्याचआउट गराए । यसपटक श्रीकान्तसँग चुपचाप मैदान छोड्नुभन्दा अर्को विकल्प थिएन । अन्ततः त्यो खेल पाकिस्तानले जित्यो । खेल मात्र होइन, भारतीय समर्थकको मन पनि जिते इमरानले ।

 

इमरानको यही स्पोर्ट्म्यानसीप अहिले प्रधानमन्त्रीको भूमिकामा पनि प्रकट भएको छ । भारतसँग तनाव बढिरहेका बेला उनले एउटा साहसिक निर्णय लिएका छन् । त्यो निर्णय हो, आफ्नो कब्जामा रहेका भारतीय पाइलट भारतलाई फिर्ता गरिदिने । उनको यो निर्णयले भारत-पाकिस्तानमा मात्रै नभएर विश्वभर नै तरंग पैदा गरेको छ ।

 

नेपालीहरुले पनि सामाजिक सञ्जालमा उनको प्रशंसा गरिरहेका छन् । भारतीय मिडियाले भने आफ्नै शैलीमा पाकिस्तानमाथि भारतको ठूलो जित भएको भन्दै खुशीयाली मनाएका छन् । तर, अभिनन्दनकी आमाले टेलिभिजनमा इमरानको मन्तव्य हेर्दै आँशु झारेको तस्वीर -तस्वीरको सत्यता पुष्टि हुन बाँकी) ले धेरै कुरा बोल्छ ।

 

गत १४ फेबु्रअरीमा काश्मिरको पलुअवामा आक्रमण गरी ४६ जना भारतीय सैनिकको मृत्यु भयो । भारतले आक्रमणको दोष पाकिस्तानमाथि लगायो । पाकिस्तानले आतंकवादी समूहहरुलाई संरक्षण गरेको उसले दावी गर्दै आएको छ ।

 

प्रतिउत्तरमा पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई अनुसन्धानमा सहयोग गर्ने अफर दिए । तर, भारतले यदि आफ्नो भूमिमा आक्रमण गरे त्यसको उचित जवाफ दिने चेतावनी दिन पनि पछि परेनन् । भारत पाकिस्तानसँग संवाद गर्न तयार भएन ।

 

भारतीय वायुसेनाले पलुअमा आक्रमणको बदला लिने भन्दै गत मंगलबार पाकिस्तानी एयरस्पेसमा पसेर बमवारी गर्‍यो । यो बमवारीबाट आतंकवादी समुह जैश ए मोहम्मदको किल्ला ध्वस्त भएको र कैयौं हताहत भएको भारत सरकारको दाबी छ । तर, यसको कुनै प्रमाण सार्वजनिक गरेको छैन । पाकिस्तानले भने बमवारी भएको स्वीकारेको र जनधनको क्षति नभएको बताएको छ ।

 

उक्त घटनापछि प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमारान खानले भनेका थिए, हामी उचित समयमा यसको जवाफ दिनेछौं । नभन्दै भोलिपल्टै पाकिस्तानी वायूसेनाले भारतीय एयरस्पेसमा पसेर उही तरिकाले बमवर्षा गर्‍यो । त्यसपछि भारतीय र पाकिस्तानी लडाकु बिमानबीच आकाशमा भिडन्त भयो र भारतीय बिमानका पाइलट अभिनन्दन वर्धमान प्यारासुटबाट पाकिस्तान नियन्त्रित काश्मिरमा खसे । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लियो ।

 

आफ्ना विङ कमान्डर पाकिस्तानी नियन्त्रणमा पुगेपछि भारत ब्याकफुटमा आएको थियो । नेगोसिएसनमा पाकिस्तानको हात माथि थियो । उसले पाइलटलाई भारतसँग बार्गेनिङ चिपका रुपमा प्रयोग गर्न सक्ने आशंका भारतीय पक्षले गरेका थिए । तर, प्रधानमन्त्री इमरानले नसोचिएको कदम चाले । उनले पाइलट भारतलाई सुपुर्दगी गर्ने घोषणा आफ्नो संसदमा गरे र यो कदमलाई पिस गेस्चर -शान्ति संकेत) का रुपमा ब्याख्या गरे । यसमा उनले आफ्नो देशको घाटानाफा भन्दा पनि दुई देशबीच तनाव घटाउने दिशामा आफूलाई केन्दि्रत गरेको देखिन्छ ।

 

आफ्ना पाइलट फिर्ता पाउने भएपछि भारतको क्रोध कम भएको छ । दुई देशबीच तनाव केही मत्थर भएको मानिएको छ । तर, कतिपय भारतीय मिडियाहरुले यसलाई ‘पाकिस्तानमाथि भारतको ठूलो जित’ को रुपमा प्रचार गरेका छन् । कतिपयले चाहिँ जेनेभा महासन्धीअनुसार पाकिस्तानले पाइलटलाई छोड्न वाध्य भएको पनि बताएका छन् । तर, दुवै दाबी सही होइनन् ।

 

भारतीय पाइटल अभिनन्दन रिहा हुनु भारतको होइन, पाकिस्तानको नैतिक जित हो । यसबाट पाकिस्तान शान्ति चाहन्छ भन्ने सन्देश विश्वमाझ प्रवाह भएको छ । इमरान खानले आफ्नो कद बढाएका छन् । जहाँसम्म जेनेभा महासन्धीको दाब छि, यो यहाँ आकषिर्त हुँदैन किनभने भारत र पाकिस्तानबीच औपचारिक युद्ध भएको छैन र भारतीय पाइलट युद्धवन्दी होइनन् । पाकिस्तानी सेनाले उनलाई स्थानीयवासीहरुको आक्रमणबाट बचाएर आफ्नो नियन्त्रणमा लिएको थियो । आफूलाई पाकिस्तानी सेनाले सम्मानित व्यवहार गरेको पाइलटले बताएका छन् ।

 

भारत र पाकिस्तानबीच पछिल्लो तनावमा भारतीय पक्ष अत्याधिक आक्रामक देखिँदै आएको छ भने पाकिस्तानी पक्ष रक्षात्मक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्ध उत्तेजक अभिव्यक्तिहरु दिइरहँदा पाकिस्तानी प्रधानमन्त्री भने शान्तिको अपिल गरिरहेका छन् । आफ्ना हरेक भाषणमा उनले भारतलाई संवादबाट समस्या हल गर्ने प्रस्ताव गरेका छन् । आफूले पटक-पटक संवादको प्रयास गर्दा पनि भारतीय पक्ष अनिच्छुक रहेको उनको गुनासो छ ।

 

पाकिस्तानभन्दा भारतको सैन्यशक्ति बलियो छ । तर, पाकिस्तान पनि आणविक शक्ति सम्पन्न राष्ट्र हो । इमरानले आफ्नो आणविक शक्तिको घमन्ड देखाएका छैनन् । न त उनले चीनलाई देखाएर भारतलाई तर्साउन खोजेका छन्, जसरी भारतले अमेरिकालाई देखाउने गरेको छ ।

 

इमरानले प्रधानमन्त्री पद सम्हालेको पाँच महिना भयो । प्रधानमन्त्री भएलगत्तै उनले देशको ढुकुटी जोगाउने भन्दै सरकारको खर्च घटाउने केही लोकपि्रय घोषणाहरु गरेका थिए । त्यसबाहेक यो पाँच महिनामा उनले कुनै ठूलो नीतिगत उद्घोष गरेका छैनन् । राजनीतिक अस्थिरता र भ्रष्टाचारले थिलथिलो भएको पाकिस्तानको अर्थतन्त्र उकास्ने मुख्य चुनौती उनीसँग छ । तत्कालको लागि चाहिँ भारतसँगको समस्या हल गर्नुछ । यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन आवश्यक भएको उनी स्वीकार गर्छन् । यो काम सजिलो छैन, किनकी कुटनीतिक क्षमतामा भारत विश्वमै अग्रणी मानिन्छ ।

 

इमरानको कम्युनिकेसन स्किल राम्रो छ । उनी आफ्नो कुरालाई प्रष्ट र घुमाउरो दुवै तरिकाले भन्न सक्छन् । बेलायतमा राजनीतिशास्त्र पढेका उनी बौद्धिक पनि मानिन्छन् ।

 

र, सबैभन्दा महत्वपूर्ण उनी सकारात्मक सोचका धनी छन् । उनी प्रष्ट छन् कि युद्धबाट कसैको हित हुँदैन । पाइलटलाई रिहा गर्ने घोषणा गरेर उनले भारतविरुद्ध छक्का प्रहार गरेका छन् तर थोरै चुक गरेको खण्डमा उनी आफैं बोल्ड हुन सक्छन् ।

 

पाकिस्तान पहिलेदेखि नै आफ्नो पश्चिमी सीमामा चरमपन्थविरुद्ध लडाई लडिरहेको छ । पाकिस्तानी सेना पनि चाहँदैन कि लडाई होस् । इमरान पाकिस्तानलाई सही दिशामा लैजान चाहन्छन् । अफगानिस्तानसँगको लडाई अन्त्य गर्ने दिशामा उनी प्रयत्नशील छन् । उनले भनेका छन्, ‘लडाईंको पीडा के हुन्छ पाकिस्तानलाई थाहा छ किनकी हामीले ७० हजार जनता लडाईँमा गुमाएका छौं ।’

 

यता भारतीय प्रधानमन्त्री मोदीको अवस्था फरक छ । तीन महिनापछि हुने लोकसभा चुनावका कारण उनी पाकिस्तानप्रति कडा रवैया अपनाउन वाध्य छन् । किनभने थोरै मात्रै लचिलो देखिएको खण्डमा पनि चुनावमा उनको दल पछि पर्न सक्छ । पाकिस्तानलाई झुकाउन सफल भएको सन्देश जनतालाई दिन सकेको खण्डमा उनले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्छन्

(एजेन्सीको सहयोगमा)

 

हेर्नुस भिडियो 

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त

बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष