भोलि राष्ट्रिय शोकको घोषणा, अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने
सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो ।
भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ ।साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।
मन्त्रिपरिषद् बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा सबैजनाको घटनास्थलमै मृत्यु भएको हो।
सरकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ बिदाइ गर्ने भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी
अकालमै भगवानका प्यारा भएका रबीन्द्र अधिकारीको विगत फर्केर हेर्दा…
बुधबार राष्ट्रले एक आशा लाग्दा युवा नेता एवं मन्त्रीलाई गुमाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारी बुधबारबाट भगवानका प्यारा भए ।
छोटो समयमै राजनीतिको उच्च तहमा पुग्न सफल अधिकारी जनतमाझ निकै लोकप्रिय थिए । कास्कीमा उनले कहिल्यै संसदीय निर्वाचन हार्न परेन ।
कास्कीबाट तीन पटक लगातार सांसद जितेका प्रखर वक्ता, विकासप्रेमी र बौद्धिक छवि बनाएका अधिकारी अघिल्लो वर्ष पहिलोपटक मन्त्री भएका थिए । अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष चैत २ गते मन्त्री नियुक्त गरेका थिए ।
२०६४ र ०७० को संविधानसभा निर्वाचनमा कास्की क्षेत्र–३ विजयी अधिकारी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र–२ बाट विजयी भएका थिए । लेखा समितिदेखि विकास समिति सभापतिसम्म आइपुग्दा उनले चर्चा कमाएका थिए । विकास समिति सभापति हुँदा उनले गरेको काम सम्झिने धेरै छन् ।
सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिलाउन पहल गरेर धेरैको नजरमा परेका थिए । गायक प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसको उपाधि खोस्ने आन्दोलनले अधिकारीले ख्याति कमाएका थिए । त्यो आन्दोलनको नेतृत्व अधिकारीले नै गरेका थिए ।
अधिकारी पृथ्वीनारायण क्याम्पसदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति हुने बेलामै धेरैका नजरमा आशालाग्दा नेताका रुपमा थिए ।
अधिकारीले मन्त्रीको जिम्मेवारी सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक सुधार गरेका थिए । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले तीव्रता पाएको थियो । विमानस्थल आउँदाे कार्तिकभित्र सञ्चालनमा ल्याउने गरि काम चलिरहेको छ ।
मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने गरि पूर्वाधार निर्माण लगायतका कामहरु पनि अघि बढाएका थिए ।
२०२६ साल बैशाख २२ गते कास्की जिल्लाको भरतपोखरीमा जन्मिएका अधिकारी अखिलबाट राजनीतिमा आएका हुन् । उनका बुवा ईन्द्रप्रसाद र आमा लक्ष्मी अधिकारी पोखराको मालेपाटनमा बस्दै आएका छन् । अधिकारी भने श्रीमती र छोरासहित काठमाडौँ बस्दै आएका थिए ।
अधिकारीका १० र १८ वर्षका (विराज र विराट) दुई छोरा छन् । उनले तत्कालीन अखिलकै नेतृ विद्या भट्टराईसँग विहे गरेका थिए । पत्नी भट्टराई त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यापन गर्छिन् ।


