१२ वर्षपछि अर्का मन्त्रीको ज्यान लियो ताप्लेजुङले
सुदूरपूर्वको जिल्ला ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीको पीएसो अर्जुनकुमार घिमिरेको मृत्यु भएको छ ।
यस्तै, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको पनि दुर्घटनामा मृत्यु भएको छ ।
यसअघि पनि २०६३ सालमा पनि वन तथा भू–संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको ज्यान जाने गरि ताप्लेजुङमै हवाई दुर्घटना भएको थियो । २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री राईसहित उनकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुलीको मृत्यु भएको थियो ।
यस्तै, ,राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।
घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो हुस्सुका कारण घुन्साको फले भिरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो ।
र, बुधबार १२ वर्षपछि ताप्लेजुङमै अर्का बहालवालामन्त्रीले हवाई दुर्घटनामै ज्यान गुमाउनु परेको छ । बुधबार भएको दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाको कारण त खुल्दै जाला तर, रबीन्द्र अधिकारीजस्तो उज्यालो सम्भावना बोकेका नेता यो देशमा जन्मिन पक्कै समय लाग्नेछ ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।
‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।
उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । हाल मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवारी ७ जनाकै शव भेटिएको उनले बताए ।
उनका अनुसार मन्त्री अधिकारी र उनका पीएसओ सेनाका जमदार अर्जुन घिमिरको शव पहिचान भएको छ । अन्यको भने शव पहिचान भएको छैन ।
पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटना
नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।
भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए ।

हेलिकोप्टर ११:४५ मा पाथीभरा पुगेको थियो । हेलिकोप्टरमा सवार सातै जनाको मृत भेटिएको र शव संकलनको काम सकिएको उनले जानकारी दिए ।
यही कार्यक्रमलाई सम्बोधन गरेर हेलिकप्टर चढेका अधिकारी काठमाडौं फर्किएनन्, के भनेका थिए अन्तिममा ?
फोटोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी बोलिरहेका छन्। तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे।
करिब १० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे। खाना त्यहीँ खाए र पाथिभरा मन्दिर दर्शनका लागि उडे।
मन्दिर दर्शनबाट फर्किने क्रममा उनी चढको हेलिकप्टर दुर्घटनामा पर्यो। जबकी उनले थुम्की डाँडामा बन्न लागेको विमानस्थलबारे बोलेका खबर सम्वाददाता भर्खर लेख्दै थिए वा लेख्ने तयारीमा थिए। तर त्यो खबर समाचार कक्षमा आइनपुग्दै अर्को ठूलो समाचारले चैनहराम गर्यो- पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटना। अलिबेरमा पुष्टि भयो- अधिकारीसहित सातको मृत्यु।
के भनेका थिए अधिकारीले अन्तिम कार्यक्रममा ?
राष्ट्रिय राजनीतिबारे कम बोलेका उनले विमानस्थलको निर्माण र सञ्चालनमा आफू सम्वेदनशील रहेको बताएको कार्यक्रममै रहेका आठराइ चुहानडाँडा गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए।
‘देशैभर बन्द रहेका एअरपोर्ट सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाउँदै छौँ’, उनले भने, ‘यहाँ पनि एअरपोर्ट बनाउने हो, म त्यसैका लागि यहाँ आएको छु।’ राष्ट्रिय राजनीतिबारे उनले खासै बोलेनन्। सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप सही नभएको उनले बताएका थिए।

उनले वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण र टेन्डर गरी विमानस्थल बनाउन ३ वर्षको समय लाग्ने अधिकारीले कार्यक्रममा बताएका थिए। कार्यक्रम सकेर खाना खाइसकेपछि उनी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि उडेका थिए।


