पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ ।
पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको जानकारी गृहसचिव प्रेमकुमार राईले दिएका छन् । संसद्को राज्य व्यवस्था समितिमा उपस्थित भएका उनले हेलिकप्टर दुर्घटना भएको जानकारी गराएका हुन् ।
दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना सवार रहेका बताइएको छ।
भारत–पाक तनाव : नेपालको सीमा क्षेत्र र विमानस्थलमा उच्च सुरक्षा सतर्कता
भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो भएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मुलुकभरका सीमा जोडिएका क्षेत्रका प्रहरी कार्यालयहरुलाई अलर्ट हुन निर्देशन दिइसकिएको बताए ।
गलत मान्छेको आवतजावत नहोस् भनेर पनि सतर्कता अपनाइएको हो । यस्तो अवस्थामा अपराधिक गतिविधिमा संलग्नले पनि फाइदा उठाउन सक्ने सम्भावना हुन्छ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘त्यसैले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएका हौं ।’ उनका अनुसार कोही शंकास्पद मानिसहरु फेला पर्ने वित्तिकै तत्काल नियन्त्रणमा लिनसमेत निर्देशन दिइएको छ ।
यसअघि मंगलबार भारतीय वायु सेनाको एक लडाकु विमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको थियो । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।
बुधबार नियन्त्रण रेखा एलओसी पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । उसले एक जना पाइलटलाई पनि पक्राउ गरेको दाबी गरेको छ ।
भारत–पाकिस्तानबीचको तनावले नेपालको उडान प्रभावित, कुन कुन एयरलाइन्स रोकिए
भारत र पाकिस्तानबीच बढ्दो तनावले काठमाडौंमा त्रिभुवन विमास्थलबाट हुने उडान प्रभावित भएको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो ।
पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि हाल नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थलमै रोकिएको छ । यस्तै कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । उनले विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको बताउँदै पाकिस्ताले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको जानकारी दिए । ‘यात्रुको आवमागमनका कमी आएको छैन । अरु खालका कुनै प्रभाव विमानस्थलमा देखिएको छैन,’ क्षेत्रीले भने ।
यसैबीच भारत पाकिस्तान तनावका कारण भारतका पाँचवटा एयरपोर्टमा सर्वसाधारणको उडान प्रभावित भएको छ । भारतको श्रीनगर, जम्मु, लेह, अमृतसर र चण्डीगढ एयरपोर्टको उडान प्रभावित भएको हो ।