भारतीय लडाकु विमान काश्मिरमा पाकिस्तानले खसाल्यो, विमान पूर्णरुपमा ध्व्स्त



हाम्रो इकोनोमि

 

भारतीय लडाकु विमान काश्मिरमा पाकिस्तानले खसालेको छ । तर भारतले भने लडाकु विमान काश्मिरमा दुर्घटना भएको जनाएको छ । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।

 

भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।

 

भारत र पाकिस्तानमा को शक्तिशाली ?

 

भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । भारत सरकार र त्यहाँका मिडियाहरुको उत्तेजना हेर्दा कुनै पनि क्षण पाकिस्तानको धैर्यको बाँध फुट्न सक्ने खतरा देखिन्छ । यसबाट कुनै पनि समय दुई देशबीच युद्ध भड्किन सक्ने खतराले विश्व समुदायलाई चिन्तित बनाएको छ । यदि निर्णायक युद्धमा होमिएको खण्डमा दुबै देश ध्वस्त हुन सक्छन्, किनकि दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।

 

भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ । त्यसैले सरकारलाई जनताका अगाडि बढीभन्दा बढी राष्ट्रवादी देखिनु छ । भारतमा भोट बटुल्ने प्रमुख अस्त्र भनेकै धर्म र राष्ट्रवाद हो । र, राष्ट्रवादी देखिने प्रमुख अस्त्र भनेको पाकिस्तानमाथि जाइलाग्नु हो । त्यसैले पुलुआमा घटनाले भाजपा सरकारलाई ठूलो मौका मिलेको छ, उग्र राष्ट्रवाद प्रदर्शन गर्ने । यसमा भारतीय मिडियाले सरकारलाई थप मलजल गरिरहेका छन् ।

 

भारतीय मिडियाको उत्तेजना यतिसम्म छ कि मानौं उनीहरुको सेनाले चाहे पाकिस्तानलाई खर्लप्पै निल्न सक्छ ।

पाकिस्तान अहिलेसम्म प्रतिरक्षात्मक स्थितिमै देखिन्छ । तर, यसको अर्थ ऊ भारतका अगाडि निरीह भने पक्कै छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन् कि भारतले आक्रमण गरे उनीहरुले उचित जवाफ फर्काउनेछन् ।

तर, के यदि भारतले पाकिस्तानमाथि आक्रमण नै गर्‍यो भने पाकिस्तानले जवाफ फर्काउन सक्छ त ?

बाहिरबाट हेर्दा पाकिस्तानको तुलनामा भारत निकै शक्तिशाली देखिन्छ । पाकिस्तान राजनीतिक अस्थिरता, आन्तरिक कलह र भ्रष्टाचारले थिलथिलो अवस्थामा छ । भारतले भने राजनीतिक स्थिरता र सुदृढ अर्थतन्त्रसँगै विश्वस्तरमा आफ्नो प्रभाव बढाइरहेको छ । साथै, राष्ट्रियताको मामलामा सम्पूर्ण शक्तिहरुको आन्तरिक एकता भारतको विशेषता हो ।

 

सैन्य शक्तिमा भारत अगाडि

पहिले यी देशको सैन्य शक्तिको तुलना गरौं, जसमा पाकिस्तानभन्दा भारत प्रष्ट अगाडि देखिन्छ । भारतको भूगोल र जनसंख्या नै पाकिस्तानको भन्दा कयौं गुणा ठूलो छ । त्यसैले सैन्य जनशक्ति पनि ठूलो हुने नै भयो ।

१ अर्ब ३३ करोड जनसंख्या रहेको भारतसँग १२ लाखको सैन्य शक्ति छ । संख्याका आधारमा चीन र अमेरिकापछि विश्वमै सवैभन्दा धेरै सैनिक भारतसँग छन् । पाकिस्तान पनि धेरै पछाडि भने छैन । २० करोड मात्रै जनसंख्या रहे पनि पाकिस्तानसँग करिब ८ लाख सेना छन् ।

पाकिस्तानले जनसंख्याको अनुपातमा अत्यधिक सैनिक पाल्नुको कारण भारतसँगको सुरक्षा संवेदनशीलता नै हो । यसका अतिरिक्त भारतसँग २० लाख प्यारामिलिटरी फोर्स छन्, जसलाई सीमा क्षेत्रमा खटाइएको छ ।

रक्षा बजेटको कुरा गर्दा भारत पाकिस्तानभन्दा निकै अगाडि छ । भारतको जीडीपी उच्च भएकाले रक्षा बजेट धेरै हुनु स्वभाविक नै हो ।

भारतले गत वर्ष ४ लाख करोड भारु सेनाका लागि छुट्याएको थियो । यसका आधारमा भारतीय सेना विश्वकै पाँच धनी सेनामध्ये पर्छ । पाकिस्तानको सैनिक बजेट ५० हजार करोड रुपैयाँ मात्र छ ।

 

अब तुलना गरौं सैन्य हतियारको ।

भारतीय सेनासँग चार हजार चार सय ट्याङ्क छन् भने पाकिस्तानसँग २९ सय ट्याङक छन् । यस्तै भारतसँग ६ हजार ८ सय ६ हजार ७ सय बख्तरबन्द लडाकु बहान छन्, जुन पाकिस्तानसँग २८ सयको संख्यामा छन् । पाकिस्तानसँग ४६५ सेल्फ प्रोपेल्ड गन छन् भने भारतसँग २९० वटा । रकेट लन्चर भारतसँग २९२ वटा छन् भने पाकिस्तानसँग १३४ वटा छन् ।

पाकिस्तानी सेनासँग भएको सबैभन्दा खतरनाक हतियार हो, अल खालिद ब्याटल ट्याङ्क । जसलाई पाकिस्तानी सेनाको मेरुदण्ड पनि भन्ने गरिन्छ । भारतले भने अर्जुन एमके–२ नामको नयाँ ट्यांक विकास गरिरहेको छ ।

स्थल सेनासँगै वायूसेनामा पनि भारत बलियो छ । भारतको वायूसेनासँग १७ सय एयरक्राफ्ट छन् । यस आधारमा भारत विश्वको चौथो ठूलो एयरफोर्स मानिन्छ । पाकिस्तानसँग ९६० एयरक्राफ्ट छन् ।

पाकिस्तान एयरफोर्सको बलियो पक्ष हो लडाकु हेलिकोप्टर । पाकिस्तानसँग ५१ वटा एएचवानएस कोब्रा हेलिकोप्टर छन् र १५ एएचवानजेड भाइपर छन् । भारतीय सेनासँग अट्याक हेलिकोप्टर पहिले थिएन । तर, अहिले रक्षा मन्त्रालयले ३९ वटा अट्याक हेलिकोप्टर किनेको छ ।

जलसेनामा भारत विश्वमै अग्रणी छ । भारतीय जलसेनामा ६७ हजार सैनिक छन् । पाकिस्तानसँग यसको आधा छन् । भारतीय जलसेनासँग ११ डिट्रोयर, १४ फ्रिगेट्स, १५ सबमरिन, २३ कोर्बेट, ७ माइन वारफेयर सिप र ७२ पेट्रोल सिप छन् । यसैगरी पाकिस्तानसँग १० फ्रिगेट्स, १ क्रुजर, ८ सबमरिन, ३ माइन वारफेयर सिप र १७ पेट्रोल सिप छन् ।

 

आणविक शक्तिमा पाकिस्तान अगाडि

सामरिक शक्तिको कुरा गर्दा सबैभन्दा महत्वपूर्ण मानिन्छ आणविक शक्ति । भारत र पाकिस्तान दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् । यसमा भारतभन्दा पाकिस्तान केही अगाडि छ । पाकिस्तानसँग १३० आणविक हतियार छन् भने भारतसँग ११० वटा छन् ।

तर, आणविक हतियारको प्रयोग भनेको अन्तिम विकल्प हो । यो प्रयोग गर्नुको अर्थ दुवै देशले आफू पनि सिद्धिन तयार हुनुपर्छ ।

दुवै राष्ट्रसँग आणविक हतियारहरु प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र छन् ।

भारतसँग ९ प्रकारका अपरेसनल मिसाइलहरु छन्, जसमा अग्नि–३ सबैभन्दा खतरनाक हो । वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटिजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का अनुसार यो क्षेप्यास्त्रले ३ हजार देखि ५ हजार किलोमिटरसम्म मार हान्न सक्छ ।

 

पाकिस्तानले चीनको सहयोगमा आफ्नो मिसाइल प्रोग्राम बनाएको छ, जसमा चलायमान छोटो तथा मध्यम दूरीमा प्रहार गर्न सक्ने हतियार छन् । यी हतियारले भारतको कुनै पनि भागमा आक्रमण गर्न सक्ने सीएसआईएसले जनाएको छ । पाकिस्तानको ‘द सासिन २’ ले २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

सन् २०११ मा पाकिस्तानले रणनीतिक आणविक हतियार क्षमता हासिल गरेको पुष्टि गरेको थियो । यसका साथै ५० देखि १०० किलोमिटर क्षमताका मिसाइलहरुले पनि भारतलाई तर्साउन सक्छन् ।

पाकिस्तानसँग १४० देखि १५० वटा न्यूक्लियर वारहेडहरु छन्, जुन भारतसँग १३० देखि १४० वटासम्म छन् ।

न्युक्लियर वारहेडको कुरा गर्दा अमेरिका र रसियाको विश्वमै प्रभुत्व छ । अमेरिकासँग ६ हजार ४ सय ५० र रसियासँग ६ हजार ८ सय ५० आणविक अस्त्र छन् । अर्थात विश्वभर रहेका आणविक अस्त्रमध्ये ९२ प्रतिशत अमेरिका र रसियासँग छन् । त्यसैले यदि भारत–पाकिस्तान युद्ध भयो र त्यसमा अमेरिका–रुसले भारतलाई समर्थन गरेको खण्डमा पाकिस्तान सहजै धराशयी हुन सक्छ ।

आणविक अस्त्रको प्रयोग सम्वन्धमा भारतले एनएफयू (नो फस्र्ट युज) नीति अवलम्वन गरेको छ । अर्थात्, उसले आणविक अस्त्र प्रयोग आक्रमणमा होइन, प्रत्याक्रमणमा मात्र गर्न सक्छ । तर, युद्धमा उत्रिसकेपछि कागजी नीतिको खासै अर्थ भने हुँदैन ।

 

पाकिस्तानको भन्दा थोरै आणविक हतियार भए पनि पाकिस्तानको भूगोल सानो भएकाले सहजै सिध्याउन सकिने भारतीयहरुले सोचेका छन् । अर्कोतर्फ पाकिस्तानले पनि आफ्नो आणविक अस्त्रसँग डराएर भारतले आक्रमण गर्न नसक्ने अनुमान गरेको छ । पाकिस्तानको आणविक अस्त्र प्रयोगसम्वन्धी स्पष्ट नीति छैन ।

भारतले सन् १९७४ मा पहिलोपटक आणविक परीक्षण गरेको हो भने पाकिस्तानले सन् १९९८ मा आएर मात्रै गरेको हो ।

भारतीय मिडियाको प्रोपोगान्डा

आजको विश्वमा मिडिया पनि एउटा ठूलो शक्ति हो । विश्व जनमतलाई प्रभावित बनाउन मिडियाको ठूलो भूमिका हुन्छ ।

मिडियाको कुरा गर्दा पाकिस्तान भारतभन्दा धेरै पछाडि छ । भारतीय मिडिया प्रपोगान्डा फैलाउनमा विश्वमै अगाडि छन् । तिललाई पहाड बनाउने कला उनीहरुलाई राम्रोसँग थाहा छ । ठूला अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि भारतीय सञ्चारकर्मीहरु राम्रै संख्यामा छन् ।

अहिले भारतीय मिडियाले पाकिस्तानलाई आतंकवादको संरक्षकको रुपमा तीव्र प्रचार गरिरहेका छन् र पाकिस्तानविरुद्ध कडा नीति लिन सरकारलाई उक्साइरहेका छन् । जब कि पलुआमा हमलामा पाकिस्तानी सरकारको संलग्नता देखिँदैन, उसको देशमा क्रियाशील अतिवादी समूहले यसको जिम्मेवारी लिएको छ ।

भारतीय लडाकु विमानले सोमबार राति पाकिस्तानी सीमाक्षेत्रभित्र बमबारी गरेको विषयलाई यति अतिरञ्जित बनाएका छन् कि कुनै पनि तटस्थ व्यक्तिलाई यसले दिक्क लगाउन सक्छ । भारतीय मिडियाको यस्तो प्रचार चलिरहँदा पाकिस्तानी मिडियाको भने विश्वस्तरमा खासै उपस्थिति देखिँदैन ।

भारतीय मिडियाले पाकिस्तानमा घुसेको लडाकू विमानले करिब ३ सय जना आतंककारीलाई मारेको प्रचार गरेका छन् । तर, पाकिस्तानी मिडियाले भने त्यहाँ केही सल्लाका रुखहरु भाँचिएको बाहेक कुनै मानवीय क्षति नपुगेको बताएका छन् ।

भारतको मुस्लिम जनमत

अंग्रेजले सन् १९४७ को अगष्ट १४/१५ मा अंग्रेजले भारत छोड्ने क्रममा पाकिस्तानलाई अलग राष्ट्र बनाइदिएका थिए । मुस्लिम बहुल क्षेत्रहरु पाकिस्तानमा गए भने हिन्दु बहुल क्षेत्र भारतमा ।

तर, हिन्दू बहुल भारतमा अझै पनि उल्लेख्य संख्यामा मुस्लिमहरु छन् । सन् २०११ को जनगणना अनुसार त्यहाँ १७ करोड २० लाख मुस्लिमहरु छन्, जुन कुल जनसंख्याको १४.२ प्रतिशत हो ।

हिन्दू कट्टरपन्थी भारतीय जनता पार्टी सत्तामा आएपछि भारतमा मुस्लिमहरु निकै दबाइएको विपक्षीहरुले गुनासो गर्दै आएका छन् । राष्ट्रियताप्रति उनीहरुको समर्पणमा हिन्दुवादीहरुले शंका गर्ने गर्छन् ।

चलचित्र क्षेत्रका तीन सुपरस्टार आमिर खान, शाहरुख खान र सलमान खान मुस्लिम भएकाले नै बारम्बार राष्ट्रदोहीको आरोप खेप्न बाध्य छन् ।

भारतीय मुस्लिमहरु कुनै हालतमा पनि पाकिस्तानसँग भारतको युद्ध होस भन्ने चाहँदैनन् । किनकि पाकिस्तानीहरु उनीहरुका दाजुभाई हुन् । रगत एउटै हो उनीहरुको । पाकिस्तानसँग भारतको तिक्तता बढ्दै जाँदा भारतमा रहेका मुस्लिमहरु झन् बढी प्रताडित हुने उनीहरुलाई डर छ ।

यदि युद्ध भएको खण्डमा भारतीय मुस्लिमहरुको भूमिका कस्तो हुनेछ भन्ने यसै भन्न सकिँदैन । पाकिस्तानमा भने हिन्दू जनसंख्या अत्यन्त नगण्य छ ।

 

अन्तर्राष्ट्रिय जनमत

अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको तुलनामा भारतको प्रभाव अत्यधिक छ । बलियो कुटनीति र प्रभावशाली मिडियाको माध्यमबाट भारतले पाकिस्तानलाई आतंकवादलाई प्रश्रय दिने मुलुकका रुपमा अन्तर्राष्ट्रिय स्तरमै बदनाम बनाइरहेको छ ।

विश्व शक्ति राष्ट्र अमेरिकासँग पाकिस्तानको सम्वन्ध त्यति न्यानो छैन । युद्धमा यदि अन्तर्राष्ट्रिय समुदायसमेत मुछिने स्थिति आयो भने अमेरिकाले भारतलाई सघाउने सम्भावना बढी हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलेदेखि नै भारत र भारतीयप्रति सद्भाव राख्ने व्यक्ति हुन् । यसैगरी सुरक्षा परिषदका अन्य सदस्य राष्ट्रहरु पनि पाकिस्तानभन्दा भारतसँगै बढी नजिक छन् ।

 

दक्षिण एशियाको कुरा गर्दा चाहिँ यहाँ भारतविरोधी जनमत कम छैन । भारत पाकिस्तानबीचको टकरावमा दक्षिण एशियाली राष्ट्रहरुको सहानूभुति पाकिस्तानलाई हुनेछ, किनकि यी राष्ट्रहरु भारतको हस्तक्षेपकारी नीतिबाट आजित छन् ।

तर, यस्तो सहानुभूतिले पाकिस्तानलाई खासै सहयोग गर्न सक्दैन किनकि अन्य दक्षिण एसियाली राष्ट्रहरु सामरिक रुपमा कमजोर छन् र पाकिस्तानलाई सघाउने क्षमता राख्दैनन् । त्यसैले पाकिस्तान धेरै हदसम्म चीनसँग निर्भर छ ।

त्यसो त मुस्लिम बहुल राष्ट्रहरु पनि पाकिस्तानको समर्थनमा छन् । केही मुस्लिम राष्ट्रहरु समृद्ध भएकाले पाकिस्तानलाई आर्थिक सहायता प्राप्त हुन सक्छ । तर, सामरिक सहायता भने खासै उनीहरुबाट पाकिस्तानले अपेक्षा गर्न सक्दैन ।

के हो काश्मिर मुद्दा ?

 

भारत र पाकिस्तानको लामो समयदेखि लफडाको विषय भनेको काश्मिर नै हो । यो विवादित क्षेत्रमा दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् ।

काश्मिर विवाद सन् १९४७ देखिकै हो, जतिबेला भारत र पाकिस्तान अंग्रेजबाट स्वतन्त्र भए । त्यसबेला काश्मिर स्वतन्त्र देशका रुपमा रहेको थियो । राजा हरी सिंहले काश्मिरमा शासन गरिरहेका थिए । उनी हिन्दू राजा थिए । तर, देशको जनसंख्या भने मुस्लिमबाहुल्य थियो ।

सन् १९४७ मा मुस्लिम समुदायले काश्मिरको राजधानी श्रीनगरमा आन्दोलन चर्काए । त्यसपछि राजा हरि सिंह भागेर भारत गए । भारत पुगेर उनले अक्टोबर २६ मा काश्मिरलाई भारतमा गाभ्ने प्रस्तावमा हस्ताक्षर गरिदिए । तर, काश्मिरी जनता भने भारतमा गाभिन तयार थिएनन् । यसरी यो भूभाग आजपर्यन्त भारत र पाकिस्तानबीच कलहको बिउका रुपमा रहेको छ ।

 

अहिले जम्मु र काश्मिर राज्यको ४३ प्रतिशत क्षेत्रमा भारत शासित छ भने ३७ प्रतिशत क्षेत्र पाकिस्तान शासित छ । बाँकी रहेको २० प्रतिशत आवादीरहित क्षेत्र भने चीनको नियन्त्रणमा छ ।

जम्मु, काश्मिर उपत्यका, लद्दाख र सियाचेन ग्लेसियर भारतको नियन्त्रणमा छन् । यसैगरी आजाद काश्मिर र गिलगित बालिस्तान पाकिस्तानको नियन्त्रणमा छन् ।

काश्मिरको विवादमा भारत र पाकिस्तानले तीनपटक युद्ध लगिसकेका छन् । सन् १९४७, १९६५ र १९९९ मा ती युद्धहरु भएका थिए । यी युद्धमा दुवै तर्फका हजारौंको ज्यान गएको थियो ।

काश्मिरमा भारतले मानवअधिकार उल्लंघन गर्ने र हत्या हिंसालाई बढावा दिने गरेको पाकिस्तानको आरोप छ भने भारतले चाहिँ त्यहाँ पाकिस्तानीहरुबाट आतंकवादी क्रियाकलाप हुने गरेको आरोप लगाउने गरेको छ ।

राजा हरि सिंहले हस्ताक्षर गरिसकेको हुनाले काश्मिर भारतको भूमि भएको भारतीइ दाबी छ भने पाकिस्तानले चाहिँ काश्मिरको भविश्य काश्मिरी जनताले निक्र्यौल गर्ने गरी संयुक्त राष्ट्र संघले निर्णय गरेको हुनाले सोहीअनुसार अघि बढ्नुपर्ने तर्क गर्दै आएको छ ।

अन्ततः करिब ६० वर्ष अघिदेखिको काश्मिर विवाद अहिलेसम्म दक्षिण एशियाको अशान्ति एवं संकटको कारक तत्व बन्दै आइरहेको छ । र, अहिले भारत र पाकिस्तानवीच बढेको तनावको जड पनि यही काश्मिर विवाद नै हो ।

 एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...