२१ करोड रुपैयाँ नतिरेपछि आफ्नै ३ वटा डाम्नाओथारो
अहिले पनि काठमाडौंको आकाशमा जहाजहरु होल्ड भएर बस्ने समस्या कायमै छ । यसरी आकाश नै जाम हुने समस्याले गर्दा दुःखचाहिँ स्वदेश–विदेश दुबैतिरका यात्रुले व्यहोर्नुपरेको छ ।
विदेशबाट आउने विभिन्न जहाजले कारणवश यहाँ ओर्लन पाएनन् भने ती भारतका लखनऊ, कोलकातातिर डाइभर्ट हुनुपर्छ वा यहीँको आकाशमा केही समय फन्को मार्नु पर्ने हुन्छ । जसो गरे पनि इन्धन खपत बढ्ने नै भयो । अरू देशका त ढाका र भारततिर डाइभर्ट होलान् भए तर चिनियाँ विमानले त्यसो पनि गर्दैनन् । चीनको दुई कम्पनीका दुई विमान दैनिक काठमाडौं आवत–जावत हुन्छन् ।
आफ्नै भूमि फर्किनका लागि अढाईदेखि तीन घण्टाको थप उडान आवश्यक हुन्छ । त्यसैले विमानमा बढी इन्धन हालेर आउनुको विकल्प छैन । अझ सलाम, फ्लाई दुबई, एयर अरेबियाजस्ता बजेट एयरलाइन्सले त तेल बढी हाल्नुपर्ने कारण यात्रुका लगेजहरु उतै छाडेर आउँछन् । कतिपय यात्रुका लगेज महिनौँदेखि अलपत्र, बेपत्ता हुने अवस्था यसकारण विद्यमान छ ।
नेपालीको स्वामित्वमा रहेको र हाम्रा प्रधानमन्त्री विदेश जाँदा राष्ट्रिय ध्वजावाहक सरकारी विमान छाडेर प्रयोग हुने गरेको हिमालयन एयरलाइन्सको कुरै बेग्लै, उसले एयरपोर्टलाई २१ करोड रुपैयाँ तिरेको छैन । विदेशी सेक्टरका लागि उडान अनुमति लिने तर जहाज नउडाउने श्रीलंका, म्यानमारको लाइसेन्स लिने तर यात्रु नलाने । त्यस्तो हुँदा विमान सधैँ काठमाडौं विमानस्थलमा ओथारो लागेर बस्ने भयो । ठाउँ ओगटेर उसको तीनवटा जहाज बसिदिँदा विदेशबाट आउने अरु विमानको बाटो पनि रोकियो । एकातिर शुल्क तिर्दैन, अर्कातिर एयरपोर्ट कब्जा गरेर बसेको छ ।
केही महिनायता विमानस्थलको आगमनतर्फ मदिरा ल्याउने कुरामा कडाइ गरिए पनि दिल्लीबाट राति काठमाडौं ओर्लिने भारतीयहरुको हकमा भने मज्जा छ । एकजना यात्रुले एक बोतलसम्म मदिरा ल्याउन पाइन्छ । तर, कतिपय भारतीय यात्रुले आपसमा मिल्ने र एकैचोटिमा दर्जनौँ बोतल भिœयाउने गरेका छन् । अर्कातिर, कर्मचारीको बठ्याईं कस्तो भने, साउदी–कतारबाट गरिब नेपालीले ल्याएका मदिरा १५ वटा जफत भए मुचुल्कामा सात–आठवटा देखाउने, राति घर फर्कंदा ड्युटीवाल सिपाहीलाई एक बोतल दिएर अरु आफूले चिरिप्प पार्ने ।
ए जोइपोइ, तिम्रो भान्छा खोइ !
शक्तिशाली पार्टी, अपार जनादेश र सुदृढ संगठन भनेर मात्र के गर्नु, चालामाला बिग्रेपछि भताभुंग हुन केही बेर नलाग्दो रहेछ ।
सबैले ‘हाम्रो र राम्रो’ हेर्दा विभिन्न गुटभित्रका पनि उपगुट समस्यामा परेका छन् । जस्तै, रामबहादुर थापा (बादल) सहितको समूहले वैद्यसँग विद्रोह गरेपछि त्यताबाट जो–जो आए, तिनका नेता उनी बन्नु स्वाभाविकै हो । अहिले पनि बादलले नियमित भेट्ने र घनीभूत छलफल गर्ने भनेको तिनैसँग हो ।
एमालेसँग एकीकरण घोषणा हुनुअघि माओवादीमा बादलजस्ता विभिन्न १५ घटकको समायोजन भएको थियो । नयाँ शक्तिबाट देवेन्द्र पौडेल (सुनील) सहितको समूह, नेकपा (संयुक्त) का गणेश साहहरू, जनसमाजवादी पार्टीसहितका ती घटकमध्ये अधिकांशको अहिले हरिबिजोग छ । गणेश साहले स्थायी कमिटी सदस्य पाए । देवेन्द्र पौडेलले बाग्लुङबाट प्रत्यक्षतर्फ संसदको चुनाव नै जिते ।
बाँकीको बिचल्ली छ । केन्द्रमा भएका नेता प्रदेश र जिल्लामा परेका छैनन् । त्यसैले गुटको कुरै भएन, गुटभित्रका पनि उपगुट र घटकहरू यस्तो मारमा परेका छन् । तिनीहरूको रुवाई र पीडा आ–आफ्नो ठाउँमा छ । पद पाइएन भन्दैमा फर्किएर जाने ठाउँ पनि छैन । पार्टीभित्र शुरु भएको यो संक्रमणकालमा लिनेले आ–आफ्नो किसिमले फाइदा लिइरहेका छन् ।
जसले सकेका छैनन्, उनीहरूको कन्तबिजोग हेरिनसक्नुको छ । तत्कालिन माओवादी केन्द्रमा मिसिएका घटकहरू तलबाटै दबाब अभियान चलाउने, नेतृत्वलाई आग्रह गर्ने भनेर सरसल्लाह गर्दै छन् । उनीहरूको बुझाइ छ, पूर्वएमालेमा राजनीतिक चेत कम रहेछ । उनीहरू सन्तुलन मिलाएर बसेका छन्, जमेको तलाऊजस्तो । आफ्नै कोटरीमा रमाएर बस्ने, रूपान्तरण नहुने तहमा छन् ।
एकता प्रक्रियालाई लम्ब्याउँदा त्यसको फाइदा महाधिवेशनसम्ममा लिन सकिने उनीहरूले बुझेका छन् । सरकार एउटै पार्टीको भनिएको छ । तर, नियुक्तिहरू आ–आफ्ना मन्त्रालयअन्तर्गत आ–आफ्ना मान्छेको मात्रै गरिएको छ ।
कुरा नमिलेका जोई–पोईको घरभित्र अलग–अलग भान्सा, बाहिरचाहिँ सँगै देखिनुपर्ने बाध्यताजस्तो बनेको छ, एकता । भित्री रणनीति के पाइयो भने, महाधिवेशनसम्म आ–आफ्नो जोड–घटाऊको स्थितिले जाने र एकतालाई यसरी नै लम्ब्याइरहने † पार्टीभन्दा सत्ताप्रमुख । एमालेभित्रको समस्या माओवादीलाई थाहै हुन छाड्नु । माओवादी पनि एकीकृत भएको देखिनु ।
प्रचण्ड साझा नेता त भए । तर, उनले पनि सबै सन्तुलन मिलाउन नसकेको गुनासो बाक्लो छ । बादललाई अलिक बढी च्याप्दा अन्यत्र समस्या भयो । कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ता जनतामा अत्यधिक सम्पर्कमा रहनुपर्छ भन्ने मान्यता त हो । तर, एकतापछि झन् बढी सत्ताकेन्द्रित हुँदा भएको जनसम्बन्ध पनि बिच्छेदको स्थिति छ ।
अहिले जनसम्बन्धबाट सबभन्दा टाढा कोही छ भने त्यो नेकपा नै हो । परिणामस्वरूप स–साना देखिने, तर गहिरिएर हेर्दा त्यस्तै साना–साना असफलता बढेर पार्टी संकटमा पर्ने घटनाहरू देखिन थालेका छन् । जस्तो कि, देशका विभिन्न भागमा भएका विद्यालय व्यवस्थापन समिति, खानेपानी उपभोक्ता समिति, टोल सुधार समितिहरूका चुनावमा नेकपाका मान्छेहरूले व्यहोर्दै रहेको असफलता ।
तल्लो कमिटीहरूमा काम गर्ने अगुवा स्थानीय तहको पदाधिकारी बनेका छन् । पार्टी कमिटी छैन । निर्वाचित जनप्रतिनिधिलाई जनतासँग जोड्ने पार्टी कमिटीले हो । त्यसको अभाव हुँदा ‘राजा र रैती’ भनेजस्तो, जनता र जनप्रतिनिधि भएका छन् ।
टाउको फुटाउने, पैसो उठाउने
गत वर्षको तुलनामा कर राजश्वको हिसाब गर्दा अहिले ३० प्रतिशतले बृद्धि भएको छ । राजश्व सचिवमा उपराष्ट्रपति कार्यालयबाट लालशंकर घिमिरे गएका छन् । उनी मन्त्रालयमा बहालीलगत्तै अनुगमनका लागि नयाँ तरिका अपनाइएको छ । कर्मचारीलाई दिइएको पत्रमै ‘राजश्व सचिवज्यूको निदेशानुसार’ लेख्ने गरिएको छ । त्यसरी खटिएका कर्मचारीले कुनै पनि बेला ठूला व्यापारिक गृह, थोक पसल र शहरका मुख्यमुख्य व्यापारिक स्थलमा छान मार्न थालेपछि व्यापारी त्राही–त्राही छन् ।
खटिने कर्मचारी पनि उत्तिकै त्रस्त । दिउँसो ३ बजे खटिएको कर्मचारीले ५ बजेभित्र काम सिध्याएर विवरण पनि पेश गर्नुपर्ने † यसरी राजश्व त बढी उठेकै छ । तर, विकास खर्चमा भने कमी आएको छ । त्यसले गर्दा असन्तुलित हुन जान्छ । मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइ आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय प्राथमिकताका आयोजनाहरू सम्पन्न गर्नेतिर सुरसारै देखिन्न । त्यसमाथि काम गर्ने क्रममा अख्तियारबाट आइलाग्ने झमेला अर्कै छ ।
त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको अध्यक्षमा हालै पूर्वसचिव बालानन्द पौडेल संसदीय सुनुवाईबाट स्वीकृति पाई नियुक्तिपत्र बुझ्ने प्रक्रियामा छन् । त्यसले अब प्रदेशहरूलाई पैसा बाँड्नुपर्ने छ । उसका लागि पनि पैसा छुट्टयाइदिनुपर्ने छ । त्यो पैसा कहाँबाट ल्याउने ? तिनै करदाताबाट † अनि, बलिदान हुने पालो परेको छ करदाता, अर्थात् व्यापारी र सर्वसाधारणको । जनआस्थाबाट