एसईईको चटारोमा माननीय : अर्थशास्त्रको परिभाषादेखि गणितका सूत्र घोक्दै शान्ता चौधरी



 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १० गतेबाट शुरू हुँदैछ । देशभरका साढे ५ लाखभन्दा बढी विद्यार्थी एसईईको अन्तिम तयारीमा छन् ।

सोही परीक्षाका लागि तयारीमा व्यस्त एक विद्यार्थी हुन्, प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी ।

 

संविधानको धारा-उपधारा तथा कानूनका दफा-उपदफासँग नजिक रहेर संवैधानिक काममा सक्रिय ३८ वर्षीया शान्तालाई अर्थशास्त्रको परिभाषा घोक्नु परेको छ ।

त्यतिमात्र हैन अंग्रेजीको ग्रामरदेखि गणितका सूत्रहरू समेत नबिराइ कण्ठ गर्नुपरेको छ ।

उनको दिनचर्या आफैंमा व्यस्त छ । राजनीतिक कामको सिलसिलामा कहिले कता, कहिले कता जानुपर्छ । भाषण गर्नुपर्छ । संसद् भवनभित्र सांसदहरूलाई बोल्ने समय उपलब्ध गराउने जिम्वेवारी त छँदैछ । यस्तो अवस्थामा परीक्षाको तयारी गर्नु के सहज हुन्थ्यो र !

परीक्षा तयारीबारे बुझ्न मंगलवार उनकै निवासमा पुग्दा शान्ता अध्ययनमा व्यस्त थिइन् । किताब हेरेर पढ्थिन् । महत्त्वपूर्ण कुरा कापीका पानामा टिप्थिन् । तयारी चलिरहेकै थियो ।

 

परीक्षाको तयारी कस्तो चल्दैछ ? भन्ने प्रश्नमा उनले भनिन्- ‘काम धेरै छ । थकान पनि छ । तर नपढी परीक्षा दिने कुरा पनि भएन । कहिलेकाहीँ त रातको १ बजेसम्म पनि पढ्छु ।’

उनले थपिन्, ‘राजनीतिसँगै किताबसँग पनि मेरो प्रेम छ । देशका लागि र जीवनका लागि यो आवश्यक छ ।’

पूर्व कमलरी समेत रहेकी चौधरी संविधान सभामा प्राकृतिक स्रोत साधन समितिको सभापति थिइन् । संसदीय समितिको सभापति कुशल ढंगले चलाएकी शान्ताले कमलरीदेखि संसद्‍सम्म पुस्तक पनि लेखिन्, जुन पुस्तकले निकै चर्चा पायो र सम्पूर्ण कमलरीहरूको आवाज बोल्यो ।

उनलाई अर्को किताब पनि लेख्ने रहर छ । ‘अर्को किताब पनि लेख्ने मन छ । पहिला गाह्रो थियो अब लेखपढ गर्न सहज भएपछि किताब लेख्न पनि झन् सहज होला भन्ने लाग्छ ।’

 

उनी निकै मेहेनत गरेर पढ्छिन्, तर केही समयमै पढेको कुरा बिर्सिन पुग्छिन् । ‘पढ्न अल्छी त लाग्दैन, पढ्दै जान्छु, तर केही समयपछि पहिले पढेका कुरा सबै बिर्सिसकेको हुन्छु,’ उनले लोकान्तरसँग भनिन्, ‘टुप्पी कसेर पढौं भने नि टुप्पी छैन, धेरै गाह्रो छ ।’

छोराछोरी प्लस टु पढ्दैछन्, तर शान्ता छोराछोरीलाई भेट्टाउन खोज्दैछिन् । आफू अनपढ हुँदा पहिलो संविधानसभामा बेहोर्नुपरेको अवहेलना र समस्याले पढ्ने ईख जागेको शान्ता बताउँछिन् ।

उनी तत्कालीन एमालेबाट समानुपातिक कोटामा सभासद् चुनिएकी थिइन् । त्यो समयमा आफ्नै सहयात्रीहरूबाट समेत अपहेलित हुनुपरेको तीतो अनुभव उनीसँग छ ।

 

कमलरी जीवनबाट मुक्त भएसँगै भूमिअधिकार आन्दोलनमा लागेकी शान्ता चौधरी संविधानसभाको निर्वाचन २०६४ मा समानुपातिकतर्फ नेकपा एमालेबाट सभासद् बनेकी थिइन् ।

प्रौढ कक्षामात्र पढेकी उनी संविधानसभा भवनभित्र छिर्दै गर्दा मुस्किलले आफ्नो नाम लेख्न सक्थिन् ।

८ वर्षको उमेरदेखि कमलरी बसेकी उनलाई साहुले पढाउनुपर्छ भन्ने सदासयता कहिल्यै देखाएनन् । २०३७ सालमा जन्मिएकी उनी आठ वर्षको उमेरमै कमलरी बनिन्, १६ वर्ष नपुग्दै बिहे भएको थियो ।

क्यान्सर रोगलाई जितेर उपचारबाट तंग्रिएकी चौधरी १८ वर्षसम्म कमलरी बसिन्।

संविधानसभामा प्रवेश गरेपछि उनलाई पढ्नुपर्ने रहेछ भन्ने महसूस भयो । त्यसपछि अनौपचारिक रूपमा अध्ययन गरेपछि उनी औपचारिक रूपमा सिधै कक्षा ८ मा भर्ना भइन् ।

 

त्यहीँबाट अघि बढेको उनको औपचारिक अध्ययन एसईईको पूर्वसन्ध्यामा पुगेको छ । शान्ताले यसपटक महेन्द्र मावि तुल्सीपुर दाङबाट एसईई परीक्षा दिँदैछिन् ।

शुरूमा पढाइ नभएका कारण अपहेलित बनेकी शान्ताको अवस्था अहिले फेरिएको छ । उनले अंग्रेजी बोल्न, लेख्न र बुझ्न पनि थालेकी छिन् ।

दाङबाट शुरू भएको उनको जीवन यात्रा अनेकौं रूपहरूमा बदलिँदै गयो । सामान्य कमलरीदेखि देशको हाइ-प्रोफाइल बन्न सफल शान्ताले उच्च शिक्षा अध्ययन गर्ने सपना पनि साँचेकी छिन् ।

 

पक्कै पनि उनको यस्तो अठोट सबैका लागि प्रेरणादायी बन्न सक्छ । औपचारिक अध्ययनका लागि उमेर र पेशाले कुनै फरक पार्दैन भन्ने उदाहरण पनि हो यो ।

मानिसले जीवनमा अनेकौं संघर्षहरू गर्नुपर्छ । शान्ता चौधरीको संघर्ष मनन गर्न लायक छ ।

माननीय शान्ता चौधरीको परीक्षा राम्रो होस् । राम्रो ग्रेड ल्याएर उत्तीर्ण होउन्, शुभकामना !

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च