प्रहरीको खरिदमा ठेकेदारको सेटिङ



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीमा १८ किसिमका सामानको टेण्डर खुलेको छ । १ पटक १६ र अर्को पटक २ वटा गरी १८ किसिमका सामानको टेण्डर प्रहरीले खुलाएको छ । पछिल्लो पटकको २ वटा सामानमा हिमाली ज्याकेट र ट्राफिक ज्याकेट हो । ती दुवै ज्याकेटको स्पेसिफिकेसन नै परिवर्तन गरी श्रवण अग्रवालको फर्मलाई मात्र पर्नेगरी सेटिङ भइसकेको छ ।

 

प्रहरी स्रोत भन्छ–हिमाली र ट्राफिक ज्याकेट अग्रवालकै कम्पनीले पाउनेगरी प्रबन्धका हाकिमहरुले सेटिङ मिलाइसकेका छन् । बाँकी १६ किसिमका सामानहरुको भारतको दिल्लीस्थित इन्टरट्रेक कम्पनीबाट गुणस्तर टेष्ट गरेको हुनुपर्ने भनिएको छ ।

 

भारतको दिल्लीस्थित गुणस्तर टेष्ट गर्ने कम्पनी एसजीएसले परीक्षण गर्दिन भनेपछि सर्भिसबाट इन्टरटेकको टेष्ट रिपोर्ट मागेको हो । यसअघि ठेकेदारहरुले चलखेल गरेकाले एसजीएसले टेष्ट नगर्ने जनाउ एक बर्षअघि नै प्रहरीलाई दिइसकेको छ । एसजीएसमा सेटिङ गर्न पल्किएका ठेकेदारहरुले इन्टरटेकमा पनि गरेको स्रोतले बताएको छ ।

 

केदार श्रवण अग्रवालले इन्टरटेकका म्यानेजर तहका जोगेशकुमारसँग कनेक्सन गरी १६ वटा सामानको गुणस्तर पास भएको रिपोर्ट ल्याइसकेका छन् । त्यसमा ८ किसिमका सामान श्रवण अग्रवालसहितको ठेकेदलार ग्रुपले मात्र पाउने १६ वटाको गुणस्तर टेष्टको रिपोर्ट ल्याएका छन् ।

 

अग्रवालको ठेकेदार टोलीमा टेलिकमका जागिरे ठेकेदार टोपेन्द्र बीसी, वीरेन्द्र श्रेष्ठसहितको समूह छ । यिनीहरुको समूहले १० किसिमका सामान गुणस्तर पास गरेकोमा ८ वटा उनीहरुले नै पाउने निश्चित भएको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार ४ वटा सामानको ठेक्का पिताम्बर मुन्काको फर्मले पाउने भएको छ भने ४ वटाको रितेश अग्रवालको कम्पनीले पाउँदैछ ।

 

श्रवण अग्रवालसहितको ठेकेदारको यो समूहमा नियोजित रुपमा अर्का ठेकेदार राजमान मिश्रलाई बाइकट गरिएको छ । मिश्र यो समूहबाट किकआउट भएका छन् । प्रबन्धका इन्स्पेक्टर केशव गौतमले मिश्रलाई पनि १–२ वटा सामानको ठेक्का दिनका लागि भन्दा पनि उनीहरुले उनलाई ग्रुपमा नपारेको समाचार छ ।

 

प्रहरी स्रोतका अनुसार मिश्रलाई किकआउट गरेकोभन्दा पनि उनले हालेको दर नै उच्च भएकाले नपाएका हुन् । गुणस्तर पास भएकामध्ये कम दरको टेण्डर कबोल गरेकालाई ठेक्का दिनुपर्ने भएकाले पनि मिश्र नपरेका हुन् । तर गौतम भने मिश्रलाई अझै पनि ठेक्का दिनका लागि सकारात्मक नै रहेका छन् ।

 

कसरी पास गरियो गुणस्तर ?
दिल्लीको गुणस्तर टेष्ट गर्ने चर्चित कम्पनी इन्टरटेकमा श्रवण अग्रवालले त्यहाँको मेनेजर तहका कर्मचारी जोगेश कुमारलाई सेटिङ गरेको स्रोतले बताएको छ । यसअघि एसजीएसमा सुवास चन्दलाई मिलाएर सेटिङ गरेर गुणस्तर पास गराइसकेपछि ५ जना कर्मचारी निकालेको थियो । कर्मचारीलाई घुस खुवाएर गुणस्तर टेष्ट गर्दा गुणस्तरहीन सामानलाई पनि गुणस्तरीय भनेर रिपोर्ट दिएको फेलापरेपछि नेपालको सामान नै टेष्ट नै नगर्ने निर्णय दिल्लीको एसजीएसले गरेको कुरा सार्वजनिक भएको थियो ।

 

त्यही भएर अहिले टेण्डरमै इन्टरटेकमा टेष्ट भएको हुनुपर्ने उल्लेख गरिएको थियो । गुणस्तर परीक्षणमा अन्तर्राष्ट्रिय मापदण्डको कम्पनी इन्टरटेकमा पनि ठेकेदार अग्रवालले सेटिङ गरी आफ्नो सामान पास गराएका छन् । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं श्रवण अग्रवालजस्ता ठेकेदारहरुले इन्टरटेकमा पनि सेटिङ गरी सामान टेष्ट गरी पास गराएर ल्याएका छन् ।

 

प्रहरी स्रोतका अनुसार यी ठेकेदारहरुले ठेक्का पाएर ती सामान प्रहरीले लिइसकेपछि अर्को गुणस्तर परीक्षण गर्ने दिल्लीको इन्टरटेकबाहेकको निकायमा पठाएमा फेल हुनेछ । दिल्लीबाहेकको इन्टरटेकको गुणस्तर टेष्ट गर्ने निकाय चेन्नाई, सिंगापुरमा पठाएमा पनि सामान गुणस्तरहीन फेलापर्नेछ ।

 

विगतमा नेपालको गुणस्तर तथा नापतौल विभागमा टेष्ट गराउने गरिएकोमा सेटिङ हुने गरेपछि दिल्लीको एसजीएस पठाइयो । त्यहाँका सुवास चन्दलाई हातमा लिएर सेटिङ भएपछि इन्टरटेकमा पठाए । त्यहाँ पनि सेटिङ भएकै कुरा आएकाले प्रहरीले गुणस्तरीय सामान लाउनै नपाउने अवस्था छ ।

 

प्रहरीको खरिद हेर्ने प्रबन्धमा प्रताप थापा प्रमुख हुँदादेखि नै प्रहरीले गुणस्तरीय सामान प्रयोग गर्न पाएका छैनन् । अहिले पनि ठेकेदारको समूहले प्रबन्धका केशव गौतम र आर्थिक प्रशासन महाशाखाका प्रमुख दीपक थापासँग कारोबार मिलाएर काम फत्ते गर्न लागेका छन् । ठेकेदारहरुसँगको कनेक्सन एसपी हुँदा बजेटमा भएकाले दीपक थापा र प्रबन्धका केशव गौतमसँग छ । बजेटमा हुुँदा पनि ठेक्कामा चलखेल गरेको आरोप एसएसपी थापामाथि छ ।

 

आइजीपी सर्वेन्द्र खनालले प्रबन्धको डीआइजीमा नारायणसिंह खड्कालाई ल्याए पनि उनलाई खरिदको कुनै अनुभव नभएकाले सबै ठेक्कापटटाको जिम्मा एसएसपी दीपक थापा र इन्स्पेक्टर केशव गौतमलाई दिइएको स्रोतको दाबी छ । यो समाचार आजको साँघु साप्ताहिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...