विप्लवलाई जहाँ भेटेपनि पक्राउ गर्नु -गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा बादलले पहिले उन्मुक्ति दिएपनि विप्लव नेतृत्वको नेकपालाई अव छुट नदिने बताएका छन् । आइतवार एनसेलमाथी गरिएको आक्रमणलाई लिएर संसदको राज्य ब्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले राजनीतिक आडमा गरिएको अपराधलाई छुट दिन नसकिने बताए । शुक्रबार एनसेलको मुख्यालयदेखि २० जिल्लामा रहेका टावरमाथी आक्रमण गरिएको थियो । आक्रमण विप्लव नेतृत्वको नेकपाले गरेको गृहमन्त्री थापाले बताए ।
‘राजनीतिक आडमा गरिएका अपराधलाई पहिले छुटमा उन्मुक्ति दिइयो अब छुट दिइदैन’ गृहमन्त्री थापाले भने ‘अपराध अपराध नै हो, चाहे राजनीतिक आडमा गरियोस, चाहे समुहगतरुपमा गरियोस् ।’ गृहमन्त्री थापाले एनसेलमाथी बम हमला विप्लव नेकपाले गरेको बताएपनि उनीहरुले भने आधिकारिकरुपमा जिम्मा लिइसकेका छैनन् । ‘हालसम्म कसैले जिम्मेवारी लिएको त छैन। तर अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले गरेको बुझिएको छ’ थापाले भने ।
गृहमन्त्री थापाले केही दिनअघि विप्लव समुहको बैठक बसेको र एनसेलमाथी आक्रमण गर्ने योजना पारित भएको जानकारी गृहमन्त्रालयमा आएको बताए । विप्लव नेकपाको केन्द्रीय योजना अनुसार नै देशभर आक्रमण भएको दावी गर्दै गृहमन्त्री थापाले सत्ता उल्टाउनका लागि उनीहरुले यस्ता हर्कतहरु गरिरहेको बताए ।
‘केही दिनअघि उनीहरुको बैठक बसेको रहेछ, सत्ता पल्टाउनका लागि आक्रमणमा जाने योजना बनाइएको रहेछ, त्यो डकुमेन्ट राज्यसँग फेला परेको छ । अब हामि विप्लवलाई जहाँ भेटेपनि पक्राउ गरेर जेलमा कोच्ने छौ उनले भने ।
नख्खु बम हमलाको जिम्मा विप्लव नेकपाले लियोः पाँच कारणले एनसेलमाथी आक्रमण
एनसेलको मुख्यालयलाई लक्षित गरी शक्तिशाली बम विस्फोट र २० भन्दा बढि टावरमाथी गरिएको आक्रमणलाई विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको छ । शुक्रवार एकै रातमा एनसेलमाथी ठुलो आक्रमण भएको थियो । आक्रमण भएको तीन दिनपछि विप्लव नेकपाले घटनाको जिम्मा लिएको छ ।
एनसेलमाथी आक्रमण गर्नुको पाँच कारण पनि खुलाएको छ । ७२ अर्बभन्दा बढि राज्यलाई कर नरिको, सर्वाेच्च अदालतको फैसला उलंघन गरेको, नाफाको केही अंशपनि नेपालमा लगानी नगरी विदेशमा लिएको, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथी खलल पुरयाउन दलाल पूजीवादलाई संस्थागत गरेको र नेपाल सरकारको स्वामित्वमा रहेको दुरसञ्चारबाट ठुलो जनशक्ति खरिद गरी उपभोक्ता बढाएकोले कारवाही गरिएको विप्लव नेकपाले जनाएको छ ।
आक्रमण विप्लव नेतृत्वको नेकपाले गराएको र त्यसको डकुमेन्ट आफुसँग भएको दावी गृहमन्त्री रामबहादुर थापाले गरिरहेका बेला घटनाको जिम्मा लिएको छ । घटनाको जिम्मा लिँदै विप्लव नेकपाले मानवीय क्षति भएकोमा भने दुख ब्यक्त गरेको छ ।
शुक्रवार भएको नख्खु बम आक्रमणमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते छन् । सर्वसाधरण घाइते भएपछि आक्रमणकारीमाथी चौतफी आलोचना गरिएको छ । घटनाको जिम्मा लिँदै मानवीय क्षति भएकोमा दुख पनि जनाएको छ । नेकपाले एक बिज्ञप्ती जारी गर्दै देश लुट्ने एनसेललाई कारवाही गर्दा मानवीय क्षति हुन पुगेको जनाएको छ ।