राजेश हमाललाई पत्नीको जन्मदिन पनि थाहा छैन



 

महानायक राजेश हमालले धेरै चलचित्रहरुमा श्रीमान वा प्रेमी बनेर अभिनय गरेका छन् र धेरै रोमान्टिक सिनहरु दिएका छन् । वास्तवित जीवनमा चाहिँ उनी कति रोमान्टिक होलान् ?

 

विवाहको ७ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता दिए । हिमालय टेलिभिजनमा आइतबार आउने कार्यक्रम जीवनसाथीको पहिलो एपिसोडमा उनीहरु प्रस्तुत भएका थिए । उक्त कार्यक्रममा हमालको प्रस्तुति हेर्दा लाग्यो कि उनको दाम्पत्य जीवनमा रोमान्टिक होइन, बोरिङ रहेछन् ।

 

पहिलोपटक आफूहरुको बैवाहिक सम्वन्धबारे खुलेको यो जोडीको फरक-फरक स्वाभाव देखियो । हमाल स्वयम्ले आफू ‘विवाह र घर व्यवहार गर्ने खालको व्यक्ति नभएको’ बताए । मधु भने समझदार लागिन् । पहिलोपटक टेलिभिजनमा यसरी आफ्नो दाम्पत्य सम्वन्धबारे खुलेकी उनले राजेशलाई आफ्नो आदर्श बताइन् । तर, उनका केही स्वभावप्रति गुनासो पनि गरिन् ।

 

हरेक पत्नीहरुले चाहन्छन् आफ्नो जन्मदिनलाई पतिले विशेषरुपमा लेओस् । पतिलाई ‘आज मेरो जन्मदिन हो है’ भनेर सम्झाउनुपर्दा उनलाई पक्कै पनि खुशी लाग्दैन । तर, मधुको जन्मदिन कहिले हो भन्नेसम्म हमाललाई थाहा रहेनछ ।

 

कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले दुबैलाई एक-अर्काको विषयमा ५-५ प्रश्न सोधेकी थिइन् । जसमा मधुले ५ मध्ये ४ प्रश्नको सही उत्तर दिइन् । राजेशले चाहिँ ५ मध्ये २ प्रश्नको गलत उत्तर दिए भने एउटा कागतालीमा मिलाए ।

 

माल्भिकाले ‘मधुजीको जन्मदिन कहिले हो ?’ भन्ने प्रश्न हमाललाई सोध्नासाथ मधुले भनिन्, ‘यो पक्कै उहाँलाई थाहा छैन ।’ नभन्दै हमालले भन्न सकेनन् । निकैबेर घोत्लिएर भने, ‘आई थिंक नोभेम्बरमा हुनुपर्छ । ७ तारिख हो कि ?’ मधुले भनिन्, ‘अहँ होइन ।’

 

तर, श्रीमानले आफ्नो जन्मदिन बताउन नसक्दा मधुले चित्त चाहिँ दुखाइनन् । ‘उहाँलाई यस्ता कुरा थाहै हुँदैन’ भनेर बचाऊ गरिदिइन् । सो कार्यक्रममा राजेश हमालले मधुभन्दा अगाडि आफ्ना धेरै विदेशी महिलासँग अफेयर रहेको गर्वसाथ बताए ।

 

‘नायिकाहरुसँग त मेरो भएन । तर, विदेशीहरुसँग भयो । उनीहरुसँगको सम्वन्ध बिहे गर्नका लागि थिएन । तर, मैले पहिले अफेयर गरेका केटीहरुभन्दा मधु एकदम सोझी थिइन् । उनीसँग सम्वन्ध राखेपछि बिहे नै गर्नुपर्ने हुन्थ्यो,’ हमालले सुनाए । मधुले थपिन्, ‘म त अहिले पनि सोझी नै छु । उहाँले आफ्नो विगतका सम्वन्धबारे मलाई भन्नुभएको छ ।’

 

हरेक महिलाहरु आफ्नो श्रीमानबाट प्रशंसाका शब्द सुन्न आतुर हुन्छन् । यसमा पनि मधु अभागी देखिइन् । पतिले कहिल्यै मुख खोलेर प्रशंसा नगरेको उनले बताइन् । र, हमालले पनि यो स्वीकारे । ‘मेरो स्वाभाव नै त्यस्तो छैन । मेरो व्यवहारबाटै माया व्यक्त हुन्छ । मेरो आँखाबाटै व्यक्त हुन्छ । मुखले भनिरहनुपर्छ जस्तो लाग्दैन,’ हमालले भने ।

 

त्यसपछि मधुले भनिन्, ‘तर कम्प्िटमेन्ट सुन्न त कसलाई मन लाग्दैन र ? म सँधै तपाईंको आँखामा हेरेर बस्न पनि त भ्याउँदिनँ । कहिलेकाहीँ त प्रशंसा गरिदिए हुन्थ्यो भन्ने लागिहाल्छ ।’ राजेशले आफूलाई कहिल्यै मुख खोलेर ‘आई लभ यू’ नभनेको समेत मधुले सुनाइन् । ‘मैले आई लभ यू भनिरहनु पर्छ र ?’ राजेश भन्दै थिए । मधुले भनिन्, ‘हजुरको मुखबाट यो शब्द पहिलोचोटि सुन्दैछु ।’

 

उनीहरुलाई एकअर्कासँग बिताएको सबैभन्दा मीठो पलका बारेमा सोधियो । मधुले राजेशसँग लामो यात्रा गरेका क्षणहरु आफ्नो लागि अविस्मरणीय रहेको बताइन्  ‘घरबाहिर घुम्दा उहाँको अर्कै व्यक्तित्व देख्छु । निकै बिन्दास बन्नु हुन्छ । त्यो व्यक्तित्व मलाई मन पर्छ । कहिल्यै यो यात्रा नटुंगियोस जस्तो लाग्छ,’ मधुले भनिन् ।

 

राजेशले भने मधुसँगको मीठो पलबारे सोध्दा कुनै क्षण उल्लेख गर्न सकेनन् । बरु भने, ‘मलाई पनि घुम्न मन पर्छ । म पहिलेदेखि नै विदेश घुमिरहेको मान्छे हुँ । खासगरी थाइल्यान्ड मन पर्छ ।’ राजेशले आफ्नी पत्नीलाई समय चाहिँ कत्तिको दिन्छन् त ?

 

यो प्रश्नमा मधुले भनिन्, ‘उहाँ धेरै विजी होइसिन्छ । प्राय ट्राभलमै हुनुहुन्छ । तर, फुर्सदको समयचाहिँ मसित नै बिताउनुहुन्छ । त्यसैले मेरो कुनै गुनासो छैन ।’ कार्यक्रमको अन्त्यमा राजेशलाई पत्नीको हात समातेर केही रोमान्टिक शब्दहरु भन्न लगाइन् माल्भिकाले । तर, राजेशले मन गरेनन् ।

 

‘यस्तो कुरा मलाई मन पर्दैन । मैले धेरै फिल्महरुमा रोमान्टिक डाइलग बोलेको छु । त्यसैले एक्टिङ गरेको जस्तै लाग्छ,’ उनले भने । तर, माल्भिकाले कर गरेपछि उनले पत्नीको हात समाते । मधुले निकै लजाएर हात दिइन् । तर, हमालले रोमान्टिक संवाद बोल्नुको साटो उटपट्याङ गीत गाउन थाले ।

 

आफ्नो मन पर्ने गीत भन्दै उनले गाएको गीत थियो 

तिम्रो माया लाग्छ है साइँली सम्झन्छु छिनछिन
तिमीले माया नगरे पनि सम्झन्छु दिनदिन
आज त मैले भातै र खाएँ तिहुन गाभाको
तिमीले माया के लाउँथ्यौ साइली मजस्तो जाभाको
सेतो र चोली रातो र चोली उनैले सिएको
यो गीत मैले गाएको होइन सम्झाइदिएको

‘तर, म त साइँली होइन, जेठी भनेको भए हुन्थ्यो,’ मधु भन्दै थिइन् ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको