ट्रम्पसँग वार्ता गर्न रेलमा चढेर भियतनामतर्फ लागे उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन !
उत्तर कोरियाका सर्वोच्च नेता तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि भियतनामतर्फ प्रस्थान गरेका छन् ।
नेता किम रेलमार्गबाट भियतनामको राजधानी हनोइ पुग्ने छन् । उत्तर कोरिया शीर्ष नेताहरुले विदेश भ्रमण जाँदा पहिले पनि आफ्नै रेलको प्रयोग गर्दै आएका छन् ।
किम ईल सुङ र किम जोङ इले पनि चीनको भ्रमण जाँदा रेलमार्गकै प्रयोग गर्ने गर्दथे । स्थानीय समयअनुसार कि जोङ उन शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन् ।
ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनामको राजधानी होनईमा हुँदैछ । उनीहरुको बीचमा पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापुरमा भएको थियो ।
किम आफ्नी बहिनी किम यो जङ र पूर्वजनरल किम योङ चोल तथा अन्य सहयोगीका साथ भियतनामतर्फ प्रस्थान गरेका हुन् ।
ट्रम्पले गएको सेप्टेम्बर महिनामा अमेरिकामा एक र्यालीलाई सम्बोधन गर्दै किम र आफू प्रेममा परेको बताएका थिए । साथै किमले आफूलाई सुन्दर पत्र पठाएको समेत जनाएका थिए ।
विगत लामो समय देखि दुष्मनीपूर्ण सम्बन्ध रहेका अमेरिका र किम जोङ उनको बीचमा सिंगापुर समिट भएपछि दुई देशको बीचमा सम्बन्ध सुधार भएको छ । किम र ट्रम्पको शिखर वार्ताले अमेरिका र कोरियाको बीचमा रहेको असमझदारी अन्त्य हुने विश्वास गरिएको छ ।


