नेपाली काङ्ग्रेस राजा सहित हिन्दु राज्यको पक्षमा नेता बालकृष्ण खाण



हाम्रो इकोनोमि

 

नेपाली काङ्ग्रेसभित्र हिन्दूराष्ट्रको एजेण्डाले नयाँ उचाइ प्राप्त गरेको छ । काङ्ग्रेसका प्रभावी नेता मानिने बालकृष्ण खाण हिन्दूराष्ट्रका पक्षमा निकै दृढताका साथ प्रस्तुत भएपछि उक्त एजेण्डाले नयाँ उचाइ लिने सम्भावना बढेको हो ।

 

नेता खाणले भनेका छन्, ‘पार्टीको आगामी महाधिवेशनमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति मै हुनेछु ।’ खाण मात्र होइन, कपिलवस्तुका लोकप्रिय नेता एवम् सांसद अख्तर कमाल मुसलमानले पनि हिन्दूराष्ट्रको एजेण्डालाई समर्थन गर्ने दृढता प्रकट गरेका छन् । बौद्धमार्गी नेता बहादुरसिंह तामाङले आफू हिन्दू धर्मावलम्बी नभए पनि हिन्दूराष्ट्रको एजेण्डालाई समर्थन गर्ने बताएका छन् । तामाङको भनाइ छ, ‘नेपाल हिजो पनि हिन्दूराष्ट्र थियो र भोलि पनि हुन्छ भने मलाई कुनै आपत्ति छैन ।’

 

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको चालू बैठकमा नेताहरूले उपरोक्त विचार व्यक्त गरेका हुन् । गत माघ १७ गते शुरु भएको कार्यसमितिको बैठक बीचबीचमा स्थगित हुँदै निरन्तर जारी रहेको छ । पछिल्लोपटक फागुन १ गतेसम्म चलेको बैठक अब फागुन ९ गते बस्ने भएको छ । गत १ गतेको बैठकमा धर्मनिरपेक्षताको ठेकेदारका रूपमा समेत चिनिएका विमलेन्द्र निधिले आफूद्वारा महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन सहभागी सदस्यहरूलाई बाँडेका थिए ।

 

उक्त प्रतिवेदनमा धर्मनिरपेक्षतालाई ‘विशिष्ट उपलब्धि’ भनी उल्लेख गरिएकोप्रति आपत्ति जनाउँदै युवानेता शङ्कर भण्डारीले त्यसअघिकै बैठकमा धर्मनिरपेक्षतालाई उपलब्धिका रूपमा उल्लेख गर्न नहुने धारणा जोडदार ढङ्गले राखेका थिए । हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर गरी निवेदन दिने करिब साढे सात सय महासमिति सदस्यको प्रस्तावबारे छलफल गर्न पनि भण्डारीले बैठकमा आग्रह गरेका थिए ।

 

भण्डारीलाई नेताहरू डा. नारायण खड्का, एनपी साउद र पुष्पा भुसाललगायतले पनि साथ दिएका थिए । तर, फागुन १ गतेको बैठकमा निधिले ‘विशिष्ट’ शब्द मात्र हटाएर धर्मनिरपेक्ष उपलब्धि भएको भन्ने व्यहोरा राखी प्रतिवेदन वितरण गरेका थिए ।

 

यसरी महासमितिका सदस्यको निवेदन र केन्द्रीय सदस्यहरूको भावनाको उपेक्षा गर्दै निधिले प्रतिवेदन पारित गराउने उद्देश्यका साथ बैठकमा प्रस्तुत गरेपछि नेता खाणको धैर्य टुटेको बताइन्छ । बैठकमा उनले ‘संसारका एक अर्बभन्दा बढी जनताको आस्थाको राष्ट्र नेपाल हिन्दूराष्ट्र बन्न किन नहुने’ भन्ने प्रश्न गर्दै भनेका थिए, ‘नेपाल हिन्दूराष्ट्र हुन्छ । साढे सात सयजना महासमितिका सदस्यले पेस गरेको निवेदनमा यहाँ छलफल हुनुपर्छ । हिन्दूराष्ट्रको एजेण्डामा अहिले नै ठोस निर्णय नगर्ने हो भने पार्टीको आगामी महाधिवेशनमा म यही एजेण्डालाई लिएर अघि बढ्छु र पहिलो हस्ताक्षर गर्ने व्यक्ति म नै हुनेछ ।’

 

यसरी नेता बालकृष्ण खाणले जोडदार ढङ्गले आफ्ना कुरा राखेपछि काङ्ग्रेस बैठकको माहौल बदलिएको थियो । खाणपछि बोल्दै नेता अख्तहर कमाल मुसलमानले भनेका छन्, ‘म मुसलमान हुँ, तर हिन्दूराष्ट्रको एजेण्डालाई समर्थन गर्छु ।’ यसरी नेताहरू बालकृष्ण खाण, अख्तर कमाल मुसलमान र बहादुरसिंह तामाङसहितले हिन्दूराष्ट्रको पक्षमा धारणा व्यक्त गरेपछि पार्टीभित्र यस एजेण्डाले मूर्तरूप लिने सम्भावना बढाएको छ । तनहुँ काङ्ग्रेसमा गोविन्दराज जोशीका मुख्य प्रतिद्वन्द्वीसमेत मानिने रामचन्द्र पौडेल, जनकपुरका विमलेन्द्र निधि र झापाका कृष्ण सिटौला अहिलेसम्म हिन्दूराष्ट्रको एजेण्डाविरुद्ध देखिएका छन् ।

 

स्मरणीय छ, गत मङ्सिर–पुसमा सम्पन्न काङ्ग्रेस महासमितिको बैठकमा युवानेताहरू शंकर भण्डारी, कर्ण मल्ल, शंकर पाण्डे, लोकेश ढकाल र चन्द्र केसीलगायतले हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर अभियान चलाएका थिए । बिनातयारी चलाएको उक्त अभियानमा सात सय पैंतीस महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

 

उक्त हस्ताक्षरसहितको निवेदन युवानेता कर्ण मल्लले पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेस गरेका थिए । विजयकुमार गच्छदारलाई दिइएको दुई सयजनाको ‘कोटा’सहित काङ्ग्रेस महासमितिमा करिब १६०० सदस्य रहेका छन् । तीमध्ये कम्तीमा १३०० सदस्य हिन्दूराष्ट्रको पक्षमा भएको विश्वास गरिन्छ ।

 

काङ्ग्रेसको चालू बैठकमा महामन्त्री डा. शशाङ्क कोइराला र डा. शेखर कोइरालाले आफ्नो धारणा प्रकट गरेका छैनन् । यदाकदा हिन्दूराष्ट्रको पक्षमा अभिमत जाहेर गर्ने गरेका हुनाले यी नेताहरूबाट पनि हिन्दूराष्ट्रको एजेण्डालाई साथ रहने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...