गृहमन्त्री रामबहादुर थापाले भने कहाँ छ नेपालमा ठूला माछा, मलाई थाह छैन ?
गृहमन्त्री रामबहादुर थापा बादलले धादिङमा प्रहरीले समातेको ‘सुन’ काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । धादिङबाट प्रहरीले सुन भनेर बरामद गरेको ४ किलो धातु तामा रहेको पुष्टि भएको भन्दै धादिङका तत्कालीन एसपी डम्बरबहादुर विकलाई सरुवा गरिएको थियो ।
उक्त घटनाबारे प्रश्न सोध्ने सांसद र जवाफ दिने गृहमन्त्री दुवैले तामालाई पित्तल भनेर गलत तथ्य पेश गरे । राष्ट्रिय सभामा बुधवार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले प्रहरीले समातेर राजस्वमा बुझाएको धातु सुन या पित्तल (तामा) के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।
‘सुन भनेर समातेको राजस्वमा बुझाउँदा पित्तल भन्ने आयो । प्रहरीले सुन समाएर राजस्वमा बुझाउँछ । मुचुल्का गरेर बुझाइएको हो । त्यो पित्तल रहेछ भन्ने कुरा आएको छ । त्यसको छानबिन चलिरहेको छ,’ मन्त्री थापाले भने, ‘सुन भनेर पित्तल बुझाइयो या सुन बुझाइएको पित्तल कसरी भयो यो कुराको छानबिन भइरहेको छ ।’
ठूला माछा भनेर कसलाई इंगित गर्न खोज्नुभएको ?
गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न ठूला माछा समातिने क्रम चलिरहेको र बाहिर रहेकाहरू पनि छिट्टै जालमा पर्ने दाबी गरे । ‘ठूलो माछाको कुरा फेरि आयो । ठूलो माछा भनेर कसलाई भन्न खोज्नुभएको हो ? मन्त्रीलाई हो कि राजनीतिक नेतृत्वलाई इंगित गर्नुभएको हो ?’ मन्त्री थालाले प्रतिप्रश्न गरे । ३३ किलो सुनसँग सम्बन्धित लगानीकर्ताहरू पक्राउ परिसकेको र उनीहरूको जालो तोडिएको समेत मन्त्री थापाको जिकिर छ ।