देशले काँचुली फेर्न आँटेको छ – प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पुन अस्थिरतातर्फ धकेल्ने प्रयास भईरहेको बताउनु भएको छ । उहाले विभिन्न बहानामा पुरानै शासन व्यवस्था ल्याउन खोज्ने प्रयास भईरहेको भन्दै त्यो कुनै हालतमा सफल नहुने बताउनु भएको हो ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित मुल समारोहलाई सम्वोधन गर्दै उहाले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताउदै त्यो सह्य नहुने स्पष्ट पार्नुभयो । ‘यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ’, उहाको भनाई थियो ।
मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन लगभग सम्पन्न गरेको बताउदै उहाले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको पनि सुनाउनु भयो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।
सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।
त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।
समारोहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा आ–आफ्नो क्षेत्रका विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । प्रजातन्त्र दिवसको कार्यक्रम हेर्न टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजन र रेडियो नेपाललगायत विभिन्न विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधान न्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु,
विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु।
१. २००७ साल फागुन ७ गते आजकै दिन हामी नेपालीले एकतावद्ध संघर्षबाट निरंकुश जहानियाँ राणा शासनको अन्त्य गरेका थियौं। त्यस गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउँदै आएका छौं। आज हामी ६९ औं प्रजातन्त्र दिवस मनाइरहेका छौं।
प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफू ई वलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु।
आजको दिन प्रजातान्त्रिक हक–अधिकारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत् आन्दोलनमा आफूलाई समाहित गर्ने वीर विरङ्गनाहरुको स्मरण गर्ने दिन हो। आजको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो। साथै, आजको दिन विगतमा भए गरेका की कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र अघि बढ्न सङ्कल्प गर्ने दिन पनि हो।
२. नयाँ संबिधान जारी भएपछि आयोजना गरिएको आम निर्वाचन पछि बनेको यस सरकारले भरखरै आप्mनो कार्यकालको एक वर्ष पूरा गरेको छ। सो सन्दर्भमा, गएको फागुन २ गते गरिएको सम्बोधनमा मैले सरकार सञ्चालनका अनुभव र भएका प्रगतिको बारेमा मेरा धाराणा सार्वजनिक गरेको थिएँ।
सरकार सञ्चालनको यस बर्षलाई आधार बर्षको रुपमा मैले चर्चा गरेको थिएँ। र, त्यो आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजनलाई उल्लेख गरेको थिएँ। सरकारले एक वर्षमा पूरागर्नु पर्ने प्राथमिक अभिभाराहरु यिनै थिए।
३. अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको छ। द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनायो। आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले नेपालको आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको छ। अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको छ।
४. मैले यसअघि पनि भनेको छु, अहिले हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौं। जनताको सार्वभौमसत्ता कायम भएको पहिलो राजनीतिक परिवर्तनपछि सात दशकमा अनेकौं आरोह–अवरोह पार गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आजको नविन युगमा प्रवेश गरेका छौं। अबको हाम्रो यात्रा सुशासन र विकासतर्फको हो, जुन मार्गमा हामीले तीव्र गतिका साथ अघि बढ्नु छ।
परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन्। हाम्रो जिम्मेवारी पनि बदलिएको छ। निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं। आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने दिशामा अग्रसर छौं। सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं। हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध छौं।
५. यतिखेर सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ। स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिंदैछ। लोकतन्त्र प्राप्तीको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं। यसका लागि म हार्दिक अभार व्यक्त गर्न चाहन्छु। समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलन मार्फत विकास अभियानमा पनि पनि सहकार्य हुने मैले अपेक्षा गरेको छु।
६. देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्वित भएका छन्। जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय छन्।
यस्ता कतिपय गतिविधिहरु आपराधिक समेत छन्, जुन सैह्य हुँदैनन्। राजनीतिक रङमा रङ्गिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैनन्। यस्ता गतिविधि गर्नेहरु बिरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ। म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन।
७. प्रजातन्त्रको लागि भएको लामो संघर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्यौं। आजको यस विशेष अवसरमा म पुनः एक पटक नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको स्मरण गर्न चाहन्छु। र, दशकौं देखिको हामी नेपालीको विकास र समृद्धिको अटूट सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्दछु।
लोकतन्त्र अमर रहोस्।
धन्यवाद।
२०७५ फागुन ७ गते