भारतले नेपाललाई गाभ्न त्रिभुवनलाई करोडौँको लोभ देखाएको थियो’



 

मान्छे मात्रको भलाइका लागि शासक र शासित वर्गबीच धैरै पहिलेदेखि सङ्घर्षहरू हुँदै आएको इतिहास हाम्रोसामु छ । तर ती सङ्घर्षहरूमा विजय प्राप्त गर्नेहरूको मात्र इतिहासका पानामा नाम लेखिएको पाइन्छ । अधिकांश इतिहास विजय हुनेहरूको गुणगान मात्र हो भन्ने गरिन्छ । हार्नेहरूको सङ्घर्षगाथा इतिहासमा कमै मात्र सुनाइन्छ र भेटिन्छ ।

 

सत्तामा हुनेहरूले इतिहासलाई आफू अनुकूल लेखाउँदै र व्याख्या गर्दै आएको कुरा सत्य हो । हामीले पनि त्यही इतिहासलाई अध्ययन गरी सत्य ठान्दै आयौँ । तर, अबको पुस्ताले इतिहासका हरेक घटनालाई आलोचनात्मक दृष्टिले अध्ययन र मूल्याङ्कन गर्ने तथा वास्तविक तथ्यगत सत्यको उत्खनन् गर्न दिशातिर आफ्नो अध्ययनलाई मोड्न जरुरी छ ।

 

यस्तै तथ्यगत सत्यको खोजीका क्रममा नेपालमा प्रजातन्त्र स्थापना भएको दिनलाई सम्झेर एक जिउँदो इतिहाससँग कुरा गरेका छाँै, जसले प्रजातन्त्रका लागि भएको सङ्घर्षमा प्रत्यक्ष अवलोकन गरे, लेखिएको इतिहास र भोगेको इतिहासका राम्रा नराम्रा दुवै पाटाको अनुभव र मूल्याङ्कन गरे । उनी हुन् इतिहासकार पुरुषोत्तम जबरा ।

 

रुद्र शमशेरका नाति ईश्वर शमशेरका छोरा हुन् पुरुषोत्तम शमशेर जबरा । उनको जन्म १९८२ चैत १५ मा भएको हो । तत्कालीन राणा सरकारले उनलाई काठमाडौँबाट निष्काशित गरेपछि परिवारसहित उनी पाल्पा दरबारमा गएर बसे । त्रियानब्बे वर्ष भइसक्दा पनि उनका आँखालाई चस्माको आवश्यकता परेको छैन । अझै पनि चस्माविना लेखपढ गर्न र टीभी हेर्न सक्छन् ।

 

जबराले करिब आधा दर्जन पुस्तक लेखेका छन् । इतिहासविद्, प्रजातन्त्र सेनानी तथा इतिहास साधकका रूपमा सम्मानित भएका छन् । उनै इतिहासकारसँग रातोपाटीकर्मी सुनिता न्यौपानेले कुराकानी गरेकी छिन् ।

 

तोरण शमशेर हाम्रै पार्टीमा सामेल

हामी पाल्पामा बसेका थियौँ । पाल्पामा हामीलाई मोहन शमशेरले पक्राउ गर्न पठाए । हामी त्यसपछि लखनउ गयौँ । एक दिन मोहन शमशेरको बिजुलीको तारमा मुसा हिँडेछ । मुसा हिँड्दा मोहन शमशेर डराएछन् । हामीले लखनउमा सञ्चार सेट राखेका थियौँ । हामी लखनउ बस्दा त्यस्ता खालका समाचार आउँथे । हामी लखनउबाट कलकत्ता  गयौँ । कलकत्ताको होटलमा कोठा लिएर बसेका थियौँ । महावीर शमशेर र सुवर्ण शमशेरकहाँ आउने जाने चलिरहन्थ्यो ।

 

एक दिन बुबालाई सुवर्ण शमशेरको फोन गरे । फोनमा तोरण शमशेर नेपालबाट लखनउ आएका छन् । उनलाई हाम्रो पार्टीमा मिलाउन कसो होला ? बुबाले म तोरण दाइकहाँ जान्छु । तोरण दाइलाई भेट्छु भन्ने कुरा भएपछि सल्लाह गरौँला भन्नुभयो । हामी तोरण बसेको घरमा गयौँ । बुबालाई देख्नासाथ तोरण शमशेरले खुसी भएर अँगालो हाले । सुवर्ण शमशेरलाई मैले फोन गरेँ । फोन गरेपछि ऊ पनि आयो । सुवर्णलाई देखेर तोरण शमशेर दङ्ग पर्याे । बुबाले तोरण शमशेरलाई भन्नुभयोे, ‘दाइ तपाईं पनि  हाम्रो पार्टीमा  मिल्नुपर्यो । तोरण शमशेरले एकदम जोसका साथ ‘मिल्छु म, किन मिल्दिनँ’ भने । हामी जिल्ल पर्यौं । बुबाले दाइ किन उत्तेजित भएको भन्नुभयो ।

 

खास के भएको रहेछ भने, मोहन शमशेर राजा भएपछि आफ्ना मान्छेहरूलाई कसैलाई जर्नेल, कसैलाई कर्नेल बनाएका रहेछन् । तोरण शमशेर कर्नेल थिए । उनले आफूले जर्नेल पाउनुपर्छ भनेछन् । तोरण शमशेर जस्तोले पनि जर्नेल पद माग्ने भनेर मोहन शमशेर र उनका मानिसले गिज्याएछन् । त्यसले उनका मनमा चोट परेको रहेछ । यही कारण यसरी तोरण शमशेर हाम्रो पार्टीमा मिल्यो । वीर शमशेरका छोरा गेहेन्द्र शमशेर, गेहेन्द्र शमशेरकी भित्रिनी पट्टिका नाति हुन् तोरण शमशेर ।

 

भारतले त्रिभुवनलाई भ्रममा राखेको थियो ।

राजा त्रिभुवन २००६ कात्तिक २२ गते भारतको दिल्ली शरण लिन पुगे । सुरुमा भारतले त्रिभुवनसँग कसैलाई भेट्न दिएको थिएन । नेपाल सरकारतर्फका केशर शमशेर, मोहन शमशेरको कान्छो छोरा विजय शमशेर, सिंह शमशेरलाई पनि भेट्न दिएन । हामी प्रजातन्त्र काँग्रेसतर्फ लागेका थियौँ । सुरुमा हामीलाई पनि भेट्न दिइएन ।

 

पछि केदार शमशेरले राजासँग भेटे । पछि नेपाल सरकारको मान्छेलाई भेट्न दियो । हामी त्रिभुवनका मान्छे थियौँ तर पनि हामीलाई भेट्न दिइएन । राजाले भेट्न अस्वीकार पनि गरेका थिएनन् । त्यो कुरा हामीले त्रिभुवनका सचिवसँग गर्यौं । अनि मात्र भेट्न दिइयो ।

 

ठूलो सुरुवाल, कोट र ढाका टोपी लगाएर राजा त्रिभुवन बाहिर आए । उनैले समाएर हामीलाई आफू बस्ने ठाउँमा लिएर गए । त्यहाँ त्रिभुवनलाई पत्रिका पनि हेर्न दिइँदैनथ्यो ।

 

भारतले राजा त्रिभुवनलाई ठूलो भ्रममा राखेको थियो । भारत सरकारले त्रिभुवनलाई करोडौँ दिन्छौँ, नेपालाई भारतसँग मिलाऊ भनेर लोभ देखाएको थियो । तर त्यो समयमा त्रिभुवनले हुन्छ वा हुन्न भन्न सक्ने परिस्थिति थिएन ।

 

त्यही समयमा बल्लभ भाइ पटेलको मृत्यु भयो । उनको मृत्युपछि त्रिभुवनलाई राहत भयो । उनको मृत्यु नभएको भए सायद आज हामी भारतीय पो हुन्थ्यौँ कि ? त्यसपछि त्रिभुवनले हामीलाई दिनदिनै बोलाउन थाले । म प्रत्येक दिन त्रिभुवनलाई पत्रिका पुर्याउन जानेगर्थें ।

 

जा र गिर मैले कहिल्यै गरिनँ

मैले जागिर खाइनँ । मातृका र विश्वेश्वरले जागिर खाऊ भन्नेगर्थे । म जा अनि गिर गर्छु ? उनीहरूले कर गर्दा पनि मैले जागिर खाइनँ । मातृका र विश्वेश्वरले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । मलाई बजार घुमाउने पनि उनै हुन् ।

 

त्रिभुवनले सबैलाई चुरोट बाँडे तर आफ्ना छोराहरूलाई बाँडेनन्

त्यतिबेला हाम्रो भेट बीपीसँग पनि भयो । हामी लखनउमा थियौँ । एउटा फ्ल्याट लिएर बसेका थियौँ । मेरो बुबा, काका सबै सँगै थियौँ । एक दिन मेरो बुबाको नाममा ‘बुधबार तिमी दिल्ली आइपुग्नू’ भनेर त्रिभुवनको टेलिग्राम आयो ।  हामीलाई काम लगाउन बोलाउनुभयो भन्ने ठान्यौँ र दिल्ली गयौँ ।

 

त्यहाँ सुवर्ण शमशेर, मोहन शमशेर र महावीर शमशेर तीन जना मोटरभित्र बसेका थिए । बुबाले भन्नुभयो, ‘हामीलाई मात्र बोलाएको रहेनछ, उनीहरूलाई पनि बोलाएको रहेछ ।’ त्यहाँ काँग्रेसका महामन्त्री महेन्द्रविक्रम शाह र सूर्यप्रसाद उपाध्याय आए । एकछिन पछि मातृका र विश्वेश्वर पनि आए । त्रिभुवनको सचिव आएर हामी सबैलाई त्रिभुवन भएको ठाउँमा लिएर गए । जति जना हामी थियाँै, त्यति सिट त्यहाँ मिलाएर राखिएको रहेछ ।

 

त्रिभुवन जुरुक्क उठे । उनी उठेपछि हामी पनि उठ्यौँ । उनले कोटको खल्तीबाट चुरोट झिकेर सबैलाई बाँडे । तर आफ्नो छोराहरूलाई भने चुरोट दिएनन् । मेरो बुबालाई त्रिभुवनको यो चाल देखेर रिस उठ्यो । बुबाले खल्तीमा राख्नुभयो । राजाले खाऊ न भने । बुबाले झर्केर खानकै लागि राख्या हो भन्नुभयो । राजाले चुरोट बाँड्ने ? भन्ने भयो । बुबाले खल्तीमा राखेपछि सबैले खल्तीमा हाले ।

 

‘म्यानर’ नभएका मानिस थिए बीपी

मोहन शमशेर प्रधानमन्त्री भएपछि काँग्रेसको तर्फबाट पाँच जनालाई मिलाएर समिति गठन गर्ने कुरा भयो । त्यति भन्नासाथ विश्वेश्वरले मेच सँगै लिएर अगाडि सरे । हल्का खालको मेच थियो । त्रिभुवनको घुँडासँग घुँडा जोडेर समितिमा एक जना म रहन्छु भने । आफू बसेकै ठाउँबाट म पनि बस्छु भनेको भए पनि हुने थियो ।

 

कुर्सी नै बोकेर एकजना म, एक जना ऊ भनेर सुवर्ण शमशेरलाई देखाए । नेताको यो पारा देखेर मेरो मन नै विरक्त भयो । बीपी ‘म्यानर’ नभएका मानिस थिए । म ती मानिसलाई घृणा गर्छु । त्यो अवस्था देखेर त्रिभुवन हेरेको हेरै भए । त्रिभुवनले आफ्नो तर्फबाट एकजनालाई सिफारिस गरे । ती  मानिस भद्रकाली मिश्र रहेछन् । भद्रकाली मिश्रलाई हामीले चिनेका नै थिएनौँ । त्रिभुवनले फेरि सूर्यप्रसाद र ईश्वर शमशेरको नाम थपे ।

 

मेरा बुबा कमान्ड चिफ भएर बसेको मान्छे, मोहन शमशेरभन्दा सानो भएर किन बस्ने ? बुबाले मान्नुभएन । त्रिभुवनले बहादुर शमशेरलाई कमान्ड चिफ दिनुपर्छ भने । बहादुर शमशेरलाई कमान्ड चिफ बनाउनुपर्छ भनेर बुहारीहरूले त्रिभुवनलाई दिक्क पारेका थिए । बहादुर शमशेर त्रिभुवनका बुहारीहरूको फरियाको नाताले कमान्ड चिफ हुन पुगेका हुन् ।

 

मेरा बुबाले कमान्ड चिफ बहादुर शमशेरलाई दिइयो भने पश्चिम विभागले फेरि विद्रोह सुरु गर्छ भन्नुभयो । त्रिभुवनले भने होइन ईश्वर मैले त एउटा राय मात्र राखेको हुँ । तर त्रिभुवनलाई भने कमान्डर चिफ बहादुर शमशेरलाई दिन मन थिएन । ईश्वर शमशरले त्यसो भन्ने बित्तिकै त्रिभुवनलाई हुन्न भन्न सजिलो भयो । त्रिभुवनले भने, ‘बाटो सजिलो गराउन मैले त्यसो भनेको हो, दिनलाई भनेको होइन ।’

 

बीपीको शनिबारको निवास नै भरत शमशेरको घरमा

बीपी र तुलसी गिरी भारत शमशेरको घरमा हरेक शनिबार आउने गर्थे । शनिबार आएर त्यहीँ हराउने आइतबार कतिबेला बीपी फर्किन्थे भन्ने कसैलाई थाहा हुँदैनथ्यो । एक दिन तुलसी गिरीकी श्रीमती र वसन्त शमशेरको छोरी चोकमा जगल्टा समातेर लडाइँ गर्दै थिए । तुलसी गिरीले छुट्याउन खोजे तर सकेनन् । तीन घण्टासम्म उनीहरू लडिरहे । तीन घण्टापछि बीपी आए अनि के गरेको भनेर रिसाउन थालेपछि लड्न छोडे । तुलसी गिरीले तीन घण्टासम्म मिलाउन नसकेको झगडा बीपीले एक सेकेन्डमा मिलाए ।

 

बीपीले तुलसी गिरीलाई पार्टीमा ल्याउनुको कारण उनले बीपीलाई महिला व्यवस्था गरिदिन्थे भन्ने पनि सुनिन्छ । पार्टीमा योगदान तुलसी गिरीको केही थिएन । दुई महिला तीन घण्टासम्म पुरुषको विषयमा झगडा गर्नुको कारण अहिले यो नै हो भन्ने लाग्छ ।

 

नर शमशेर राम्रो मानिस थियो

नर शमशेर हामी बसेको होटलमा आए । नचिन्नेले उनलाई नराम्रो मानिस भन्थे । चिनेकाका लागि उनी राम्रा मानिस थिए । सहिदहरूलाई गोली हान्न लगाएको भनेर सबैले नराम्रो मान्थे । तर उसले गोली हानेको होइन । मार्नु भन्ने अर्डर उसलाई दिइएको थियो । त्यो काम गर्न हुन्न भनेर उसले त्यो काम अरूलाई लगाएको थियो । आदेश दिएपछि गोली हान्नु त पर्ने नै थियो । मानिस मर्याे भनेर नेवारहरूले बाजा बजाउँदै आए । मान्छे मर्दा नेवार समुदायमा बाजा बजाउने परम्परा अझै छ ।

उसले गोली हान्न सकेन । हान्ने भनेर बन्दुक पनि समाते । हात थर थर काम्यो । अन्त्यमा अर्काे मानिसले नै गोली हान्यो । ‘उसले नगरेको भए मैले गर्नैपर्ने अवस्था आइसकेको थियो’ नर शमशेरले भनेका छन् ।

 

त्रिभुवनको नेपाल सवारी

हामी त्रिभुवनसँगै एउटै प्लेनमा भारतबाट आएका थियौँ । प्लेनबाट काठमाडौँ उत्रिएपछिको दृश्य हेर्नलायक थियो । त्रिभुवनको स्वागत गर्न हुलका हुल मानिसहरू आएका थिए । मोहन शमशेर पनि एयरपोर्ट आएका थिए । प्लेनबाट झरेपछि त्रिभुवन आफ्नै दरबारतिर लागे । काठमाडौँमा हाम्रो आफ्नो निवास थिएन । हाम्रो दरबार बहादुर शमशेरले लिएका थिए । हामी जुद्ध शमशेरकी कान्छी महारानीको छोरीकहाँ गएर बस्यौँ । उहाँको नाम मिस्री फुजु थियो । कब्जा भएको हाम्रो दरबार र जमिन फिर्ता भएन । त्यही पाप पनि काँग्रेसलाई लागेको होला ।

(पुरुषोत्तम जबरा रातोपाटीबाट)

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा