निर्मलाका आमाबुबा १०३ दिनपछि धर्ना स्थगित गर्दै, उधारो तिर्न चन्दा संकलन गरिने
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तका आमाबुबाले जारी राखेको धर्ना स्थगित गर्ने भएका छन् । २४ घण्टे धर्नाका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुले धर्ना स्थगित गर्न लागेका हुन् ।
गत कात्तिक २५ गतेबाट निर्मलाको परिवारले न्यायका लागि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए । अधिकारकर्मी शारदा चन्दका अनुसार यही फागुन १० गतेबाट धर्ना स्थगित गर्न लागिएको हो । उनले भनिन्, ‘‘निर्मलाका बुबा यज्ञराजलाई त्रिवि शिक्षण अस्पतालका चिकित्कसले एक महिनाअघि नै उपचारका लागि बोलाएका थिए । यज्ञराजले डिप्रेसनको औषधी लिँदै आएका थिए । कान्छी आमा लक्ष्मीमा पनि टाउको दुख्ने, शरीर सुन्निने लगायतका समस्या देखिएका छन् ।’’
चन्दका अनुसार फागुन १० गते धर्ना स्थगित गर्दै यज्ञराज र लक्ष्मी सिधै काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आउनेछन् । फागुन १० गते पीडित परिवारले संघर्ष समितिमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने छ । धर्नाको अवधिमा विभिन्न कार्यका लागि लागेको २३ हजार ३ सय ४५ रुपैयाँ ऋण तथा काठमाडौंमा यज्ञराजको उपचार र लक्ष्मीको सहयोगका लागि चन्दा संकलन गरिने चन्दले बताइन् ।
गत साउन १० गते साथीको घर निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको हत्या कसले गरेको हो भन्ने अझै पत्ता लागेको छैन । केन्द्रीय अनुसन्धान ब्युरोलगायतको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान साघुरिँदै गएको बताउँदै आएपनि अभियुक्त भने सार्वजनिक गर्न सकेको छैन बह्रखरीले जनाएको छ ।
६ महिनापछी प्रहरीले निर्मलाको हत्यारा पत्ता लगायो, पहुँचवाला बलात्कारीको यस्तो छ हुलिया
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ । निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ ।
निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ । सो प्रकरणलाई सरकारको असफलतासँग जोडेर प्रतिपक्षीसहितले आवाज उठाउँदै आएका छन् ।
सरकारले भने ९५ प्रतिशत अपराधका घटनामा नेपाल प्रहरीलाई सफलता मिलेको दाबी गर्दै निर्मला प्रकरणमा गम्भीर छानबिन भइरहेको बताउँदै आएको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने’ बताएका थिए ।
निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरु डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका छन् ।
यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ । यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बतायो । हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ ।
निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।


