यस्तो पनि हुन्छ नेपालमा, विद्यार्थीले दाउरा नलगे निःशुल्क खाजा खान नपाउँने



 

ग्रामीण क्षेत्रका गरिब परिवारका बालबालिकालाई लक्षित गरी सरकारले आधारभूत तहमा निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । विपन्न बालबालिकालाई विद्यालयमा आकर्षण गर्न सरकारले विश्व खाद्य परियोजनाको सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । तर, बाजुराका आधारभूत तहका विद्यार्थी भने विद्यालयमा दाउरा नलगे सरकारी दिवा खाजाबाटै वञ्चित हुने गरेका छन् ।

 

विद्यालयहरूले सरकारले खाद्यान्न दिए पनि पकाउने इन्धन नभएका कारण विद्यार्थीलाई दाउरा बोकाउनु बाध्यता भएको जनाएका छन् । तर, दाउरा ल्याउन नसक्ने विद्यार्थीलाई खाजा नै नदिएर विद्यालयले साना केटाकेटीमाथि यातना दिएका छन् ।

 

गौमुल गाउँपालिका–५ स्थित जीवनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत प्रविता बोहराले दाउरा नलगे खाजा नपाइने बताइन् । ‘दाउरा नलिई विद्यालय गए खाजा नदिई सरले घर पठाउनुहुन्छ, दिनदिनै लानैपर्छ,’ बोहराले भनिन् ।

 

उनकी बहिनी सञ्जिताले पनि शिक्षकको निर्देशनअनुसार आफू र अन्य सबै साथीले हरेक दिन दाउरा बोकेर जाने गरेको सुनाइन् । शनिबार बिदाको दिन जंगल गएर दाउरा बटुल्ने र हरेक दिन विद्यालय जाँदा लैजाने गरेको उनीहरूले बताए ।

 

अधिकांश विद्यालयमा दाउरा लैजानैपर्ने नियम
बाजुराका अधिकांश विद्यालयमा दिवा खाजाका लागि विद्यार्थीले दाउरा अनिवार्य लैजानुपर्ने नियम छ । सरकारले निःशुल्क खाजा भने पनि दाउरा नलगेको दिन वञ्चित गरेर विद्यालयले यातना दिएको अभिभावकहरूले गुनासो गरेका छन् । स्थानीय शंकर मिजारले दाउरा नलगेको दिन केटाकेटी भोकै घर फर्किने गरेको बताए ।

 

गौमुल–६ स्थित जुगाडा नवज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक चित्रबहादुर रोकायाले सरकारले खाजाका लागि खाद्यान्न व्यवस्था गरे पनि इन्धन नदिएकाले विद्यार्थीलाई दाउरा बोकाउनुपरेको स्विकारे । तर, दाउरा नल्याउनेलाई खाजा नै खान नदिएको आरोप गलत भएको दाबी गरे । उनले दाउरा पनि सकेसम्म अभिभावकलाई ल्याउन भनेको बताए । दिवा खाजा जिल्लाका १४२ विद्यालयमा सञ्चालन छ ।

 

खाजा ढुवानीका लागि रकम दिइएको छ
नन्दराज उपाध्याय विश्व खाद्य परियोजना एकाइ प्रमुख, बाजुरा
क्षेत्रीय कार्यालयबाट जिल्लाको मुख्य गोदाम फालसैनसम्म विश्व खाद्य संस्थानले खाजाका लागि खाद्यान्न ढुवानी गरेको छ । मुख्य गोदामबाट बाजुराका शाखा गोदासम्म लैजान ढुवानी खर्च दिइएको छ । प्रत्येक शाखा कार्यालयसम्म ढुवानीका लागि उपभोक्ता समिति गठन गरेर उसलाई प्रतिकेजी नेपाल सरकारको नियमअनुसार ढुवानी भाडा दिइएको छ । उनीहरूले ढुवानी खर्च लिइसकेका छन् ।

 

विद्यार्थीलाई खाजा दिन्नँ भन्न मिल्दैन
वैकुण्ठ अर्याल  प्रवक्ता, शिक्षा मन्त्रालय
दाउरा नल्याएको विद्यार्थीलाई खाना नदिने भन्ने हुँदैन । विद्यालयले पकाउनका लागि दाउरा ल्याउन आग्रह गरेको हुनसक्छ, तर नल्याउनेलाई खान दिन्न भन्न मिल्दैन । विश्व खाद्य कार्यक्रमको सहयोगमा दुई मोडेलमा दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ । हाल ११ जिल्लामा हलुवा पकाएर विद्यार्थीलाई खुवाउने कार्यक्रम छ, ३० जिल्लामा नगद दिइन्छ । कर्णालीका विद्यार्थीलाई २० रुपैयाँ र अरु जिल्लामा १५ रुपैयाँ दिने व्यवस्था छ । यो कार्यक्रम ४१ जिल्लामा सञ्चालन छ ।

 

विद्यार्थीलाई दाउरा बोक्न लगाउनु बाध्यता
गोरख रोकाया खाजा व्यवस्थापन समितिका अध्यक्ष, जीवनज्योति आधारभूत विद्यालय

दिवा खाजा खान विद्यार्थीलाई दाउरा बोकाउने स्पष्ट निर्णय गरिएको छैन । पकाउने इन्धन र खाजाको ढुवानी खर्च भने सम्बन्धित विद्यालयले नै व्यहोर्ने गरी विश्व खाद्य कार्यक्रमसँग वार्षिक सम्झौता भएकाले इन्धन जुटाउनुपर्ने बाध्यता छ । यसकारण विद्यार्थीले दाउरा बोक्नुपरेको हो ।

 

त्यस्तो भेटिए कारबाही हुन्छ

गोपालदत्त जोशी  शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, बाजुरा
कुनै विद्यालयले विद्यार्थीलाई दाउरा बोकाएर मात्रै खाजा दिने गरेको छ भने त्यो गलत हो । त्यस्तो प्रमाण भेटिए सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई कारबाही हुन्छ

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च