पशुपति शर्माको गीतसँग किन डरायो सरकार ? (गीतको पूर्णपाठसहित)
चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ विवादमा तानिएको छ । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै भर्खरै बजारमा आएको यो गीत सरकारकै निर्देशनमा युट्यूबबाट समेत हटाइएको छ ।
शब्द, संगीत र स्वर गायक शर्माको आफ्नै रहेको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता विषयलाई पशुपतिले गीतमा जोडतोडका साथ प्रस्तुत गरेका छन् । सर्वाधिक रुचाइएको यो गीत शुक्रबार मात्रै रिलिज भएको थियो । तर गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले युट्यूबबाट हटाएको र परिमार्जन गर्ने उनले बताएका छन् ।
व्यंग्यात्मक शैलीमा गीत बनाउन खोजे पनि उनको गीतमा प्रयोग भएका केही शब्द सीधै आक्रमक छन् । जसले गर्दा विशेषत: सत्ताधारी राजनीतिक दल तथा संस्थालाई रुष्ट बनाएको देखिन्छ । शर्माको गीतमा सरकारलाई ‘यमराज’ र राजनीतिक दलका कार्यकर्तालाई ‘कुकुर’ भनेर सिधै सम्बोधन गरिएको छ ।
यस्तो छ शर्माको गीतका टुक्काहरु :
हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो
स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो
बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ
त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
***
डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो
दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘
***
गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा
त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘
***
वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे
सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ?
ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्
कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘
***
हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?
गर्ने काम केही हैन, ठूला ठूला भाषण
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘
***
सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन
ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन
त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च
हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ?
लट्न सके लुट कान्छा, लुट्न सके लुट
लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘
***
ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा
झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा
यता गयो लुटेकै छन् लुट्छन् उता गयो
सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो
लट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाईँदैन नेपालमै हो छुट‘
***
ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् ।
अब गर्न छोड्दे कान्छा आदर्शको खेती
केही न केही त बुझिस होला भनेपछि यति
लट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाईँदैन नेपालमै हो छुट‘
ज्यान मार्ने धम्कि पछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’ बोलको म्युजिक भिडियो
चर्चित गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ लगायतका व्यङ्ग्यात्मक शैलीमा नेपालमा बढिरहेको भ्रष्टाचार बेथितिका बारेमा लेखिएको नयाँ गीत उनले युट्यूबबाट हटाएका हुन् ।
आफूले कुनै पनि राजनीतिक दललाई लक्षित गरेर गीत नल्याएको भए पनि कसैलाई अप्ठेरो परेको भए क्षमा माग्ने पनि गायक शर्माले बताएका छन् । आफूले नेपालमा बढ्दो विसंगति र विकृतिको उजागर मात्रै गर्न खोजेको बताउँदै शर्माले यही गीतलाई परिमार्जन गरेर छिट्टै बजारमा ल्याउने पनि जानकारी दिएका छन् ।
ओली पक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो । यस्तै आज बिहानै रातोपाटी अनलाइनले शर्माको गीतले बालुवाटारमा खैलाबैला भएको भन्दै समाचार नै निकालेको थियो ।
पशुपति शर्माको स्टाटस– आदरणीय श्रोता एवं दर्शकवृन्द, साथै मेरा प्यारा शुभचिन्तकज्यूमा सादर नमस्कार । हिजो रिलिज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
तर त्यही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरुसमक्ष राख्न गैरहेको छु । सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिनँ । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतिलाई व्यङ्ग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि होइन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन ।
तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन–जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गैरहेको छु । केही समय लाग्ला, जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु । सुझाव दिनुहुने राजनैतिक व्यक्तित्वहरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अप्ठेरो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहान्छु ।
मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्यूबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने वाचा गर्दै अहिले बजिरहेको गीत युट्यूबबाट मैले हटाउने निर्णय गरेको छु ।
र अन्त्यमा, म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।