भारत-पाकिस्तानवीच युद्ध हुने पक्का, नेपाललाई के असर पर्ला ?



हाम्रो इकोनोमि

 

भारत प्रशासित कास्मिरको पुलवामा जिल्लामा ४४ भारतीय सैनिकको ज्यान जाने गरी बिहीबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानवीच तनाव बढेको छ । दुई देशवीच तनाव गहिरिँदै जाँदा त्यसको बाछिटा नेपाल लगायतका साना छिमेकी देशमा समेत पर्न सक्ने खतरा देखिएको छ ।

पुलवामा बिस्फोटको जिम्मेवारी पाकिस्तानी चरमपन्थी संगठन जैश-ए- मोहम्मदले लिइसकेको छ । तर, यसमा पाकिस्तान सरकारको समेत हात रहेको भन्दै भारतले यो आक्रमणको बदला लिई छाड्ने बताएको छ ।

 

पाकिस्तानले चाहिँ आतंकवादीले गरेको आक्रमणमा पाकिस्तान सरकारलाई निराधार दोष लगाइएको भन्दै आपत्ति प्रकट जनाएको छ । घटना दुःख भएता पनि पाकिस्तानमाथि भारतले दोष लगाउनु आपत्तिजनक रहेको पाकिस्तानको तर्क छ ।

 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर भारतीय सेनाको दुःखद निधनप्रति गहिरो दुःख प्रकट गरिसकेका छन् । यो घटनामा नेपाल सरकार भारतको साथमा रहेको प्रधानमन्त्री ओलीले मोदीलाई स्पष्ट पारिसकेका छन् ।

 

पुलवामा बिस्फोटको घटनापछि भारत र पाकिस्तानवीचको सम्बन्धमा तनाव त आएको छ नै, यो क्षेत्रीय तनावमा अमेरिका र चीनसमेत तानिन सक्ने भारतीय मिडियाको प्रस्तुतीबाट स्पष्ट हुन्छ । भारतीय मिडियाहरुले पाकिस्तानलाई चीनले सघाएको र जैश-ए-मोहम्मदका नेता अजरलाई चीनको साथ रहेको जस्ता आरोप प्रत्यारोप सुरु गरिसकेका छन् । यो घटनामा चीन सरकारले नबोलेको भारतीय मिडियाहरुको आरोप छ । यद्यपि चिनियाँ विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यस घटनाप्रति दुःख प्रकट गरिसकेको छ ।

आक्रोशित भारतलाई अमेरिकाको साथ

 

भारतीय लगायत विभिन्न अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्धको कारवाहीमा समर्थन जुटाउन देशभित्रका अन्य पार्टीहरुलाई बैठक बोलाएका छन् । शनिबार सो सर्वदलीय बैठकको नेतृत्व गृहमन्त्री राजनाथ सिंहले गरे ।

 

पुलवामा घटनामा प्रमुख विपक्षी भारतीय कांग्रेसलगायत सबै पार्टीहरु मोदी सरकारप्रति एकसाथ देखिएका छन् । प्रधानमन्त्री मोदीले यस घटनामा पाकिस्तानलाई कडा जवाफ दिने बताइसकेका छन् । उनले भारतीय सेना कारवाहीका लागि स्वतन्त्र रहेको बताइसकेका छन् ।

यसैवीच भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शुक्रबार साँझ अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनसँग टेलिफोन सम्वाद गरेका छन् ।

 

पाकिस्तानी आतंकवादी समूहद्वारा कास्मिरको पुलवामा जिल्लामा भएको हमलाको भत्सर्ना एवं समवेदना प्रकट गर्न अमेरिकी पक्षद्वारा सम्पर्क प्रारम्भ गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

 

अमेरिकी सुरक्षा सल्लाहकार बोल्टनले सीमा पार आतंकवादविरुद्ध भारतको आत्मरक्षाको अधिकारलाई अमेरिकाले समर्थन गर्ने बताएको भारतीय विदेश मन्त्रालयको दाबी छ ।

 

भारतीय र अमेरिकी अधिकारीहरुको सम्वादमा आतंकवाद विरुद्ध मिलेर काम गर्न दुबै देश सहमति भएको भारतीय पक्षको भनाइ छ । अन्तरराष्ट्रिय आतंकवादी नेता मसूद अजहरमाथिको कारवाहीमा बाधा नपुर्‍याउन पाकिस्तानलाई संयुक्त राष्ट्र संघका प्रस्ताव स्मरण गराउने बारेमा पनि अमेरिका र भारत दुबैले प्रतिवद्धता जनाएको भारतीय विदेश मन्त्रालयको प्रेस वक्तव्यमा उल्लेख छ ।

 

पाकिस्तान सरकारले जैश- ए- मोहम्मद नामक आतंवादी संगठन र उनका नेता मसूद अजहरलाई उसको देशमा खुलेआम गतिविधि गर्न दिइरहेको भारतीय पक्षको आरोप छ ।

 

पाकिस्तान भन्छ- चुनावअघि ‘मिस एडभेन्चर’ नहोस्

पुलवामा भएको आतंकवादी हमलालगत्तै भारतीय पक्षले पाकिस्तान सरकारलाई दोष लगाउन सुरु गरेपछि पाकिस्तान सरकार पनि यसको प्रतिरक्षामा उत्रिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ कि पाकिस्तान कुनै पनि हिंसात्मक क्रियाकलापको पक्षमा छैन । साथै उसले पुलवामा बिस्फोटमा पाकिस्तानमाथि निराधार आरोप लगाइएको भन्दै भारतीय मिडिया र भारतीय पक्षको आरोपलाई खारेज गरिदिएको छ ।

 

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले टि्वटरमा सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन्, ‘हिंसा न हाम्रो बाटो होइन । मलाई थोरै अफसोस यो भएको छ कि हिस्दुस्तानले विना अनुसन्धान पाकिस्तानमाथि आरोप लगाएको छ । पाकिस्तानमाथि आरोप लगाउन एक मिनेटको कुरा हो, लगाइदिनोस्, जो मानिसहरु मरेका छन्, उनीहरुमाथि दुःख व्यक्त गर्नैपर्छ । तर दुनियाँलाई थाहा छ कास्मिरमा के भइरहेको छ, मानवअधिकार उल्लंघन भइरहेको छ । बलात्कार भइरहेको छ, त्यसको रिएक्सन पनि आउन सक्छ ।’

 

भारतमा चुनाव आउन लागेको र त्यसैक्रममा पाकिस्तानमाथि उसले गलत रुप अपनाउन सक्ने पाकिस्तानी विदेशमन्त्रीको आरोप छ । उनले भनेका छन्, ‘चुनाव पहिले कुनै ‘मिस एडभेन्चर’ मलाई लागिरहेको छ । कतै यस्तो हुने छ, भलै नहोस् ।

 

भारतीय सुरक्षा सल्लाहकार डोभलले अमेरिकी समकक्षीसँग टेलिफोन वार्ता गरिरहेका बेला अमेरिकी संसदको १० सदस्यीय टोली शुक्रबार पाकिस्तानमै थियो । अमेरिकी टोलीसँग पाकिस्तानी विदेशमन्त्री कुरेशीले पनि भेटवार्ता गरे ।

 

त्यसक्रममा दक्षिण एशियाको शान्तिका लागि दुई देशले मिलेर अघि बढ्ने प्रतिवद्धता जनाइएको पाकिस्तानी विदेश मन्त्रालयलाई उधृत गर्दै त्यहाँका सञ्चारमाध्यमले समाचार लेखेका छन् । भ्रमणका क्रममा अमेरिकी सिनेटरहरु पाकिस्तानको आतंकवादविरोधी संघर्षबाट प्रभावित बनेको पाकिस्तानी मिडियाको दाबी छ ।

 

पाकिस्तानी विदेशमन्त्रीका अनुसार भारतसँग दुई विकल्प छन् । एक- आगामी चुनावलाई हेरेर आफ्नो पोलिसी बनाउने वा आफ्नो मुलुकको हित र क्षेत्रीय स्थायित्वका बारेमा सोच्ने । पाकिस्तानी मन्त्रीले भनेका छन्- ‘आरोप नलगाइयोस् । यदि भारतसँग कुनै प्रमाण छ भने हामीलाई सेयर गरियोस् । हामी इमान्दारितापूर्वक अनुसन्धान गर्छौं । हामी झगडाको पक्षमा छैनौं ।’

 

यसैवीच पाकिस्तानी मिडियाका अनुसार शनिबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा दुई पाकिस्तानी सुरक्षाकर्मीको हत्या भएको छ । बलुचिस्तानको लोरलाई बजारमा फ्रन्टियर्स कप्सका दुई जवानको हत्या भएको हो । गोली प्रहार गरेर एक व्यक्ति भागेको पाकिस्तानी मिडियाले जनाएका छन् । घटनामा अर्का एक सिभिलियनको पनि मृत्यु भएको छ । बलुचिस्तानमा गत जनवरी २९ मा प्रहरी उपहानिरीक्षकको कार्यालयमा आक्रमण हुँदा ६ जनाको मृत्यु भएको पाकिस्तानको दाबी छ ।

 

चर्को दबावमा मोदी सरकार

पाकिस्तानको भूमिमा बस्दै आएका आतंकवादीहरुले भारतीय सेनामाथि पटकपटक आक्रमण गर्न थालेपछि मोदी सरकार केही गरेर देखाउनुपर्ने चर्को दबावमा परेको छ ।

भारतीय, मिडिया, सामाजिक सञ्जाल र आम नागरिकले आतंकवादीमाथि कडारुपमा प्रस्तुत हुन मोदी सरकारमाथि प्रेसर दिइरहेका छन् । कांग्रेस आई लगायत विपक्षी राजनीतिक दलहरुले पनि सरकारलाई साथ रहेको बताएका छन् ।

 

भारतमा आम निर्वाचन नजिँदैछ । यो बेलामा आतंकवादी हमला हुँदा पनि सरकारले केही गर्न सकेन भन्ने सन्देश जाने हो कि भन्ने डर सत्तारुढ बीजेपीमा बढेको छ । त्यसैले केही न केही गर्नैपर्ने दबावमा मोदी सरकार पर्न थालेको छ ।

 

भारतले अब के गर्न सक्छ ?

पुलवामा आक्रमणमा पाकिस्तानको हात रहेको भारतले आरोप लगाइसकेको छ । भलै यो आक्रमणको जिम्मा जैश-ए- मोहम्मदले लिएको अवस्था छ । यो स्थितिमा भारतले सोझै पाकिस्तानमाथि हमला गरिहाल्छ वा अरु नै तरिकाले यो समस्या निम्ट्याइन्छ ? भारतीय मिडियामा आएका विश्लेषणहरु हेर्दा भारत सरकार यतिबेला विभिन्न विकल्पमाथि विचार गरिरहेको छ ।

 

सन् २०१६ मा पटानकोटमा भएको आतंकवादी हमलापछि भारतले ‘सर्जिकल इस्ट्राइक’ गरेको र चरमपन्थीको अखडा ध्वस्त पारिदिइएको बताएको थियो । भारतीय सेनाको सो कारवाहीपछि आतंककारीमाथिको भारतीय जनताको रोष केही मथ्थर बनेको थियो । तर, यसपटक ठूलो संख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ र जनआक्रोश झनै तीव्र देखिएको छ । यो अवस्थामा मोदी सरकारले जनदबावको सामना कसरी गर्छ, त्यो निकै चुनौतीपूर्ण देखिन्छ ।

 

अब हुन सक्ने सम्भावित बिकल्पमध्ये एउटा, जैश-ए- मोहम्मदका नेता मौलाना अजहर मसूदको गतिविधिमाथि पाकिस्तानले प्रतिबन्ध लगाउने रहेको बताइन थालेको छ । भारतका कतिपय विश्लेषकहरुले पाकिस्तान र भारतवीचको सिन्धु जलसन्धी खारेज गरिनुपर्ने बताउन थालेका छन् । भारतले आर्थिक कदम उठाउँदै पाकिस्तानसँग ‘मोस्ट फबर्स नेसन’ को दर्जा फिर्ता लिने निर्णय गरिसकेको छ ।’

 

भरतले यो घटनापति पाकिस्तानलाई विश्व जगतबाट तथप अलग थलग बनाउनलाई पनि प्रयास गर्ने सम्भावना रहेको जानकारहरुको तर्क छ । यो घटनालाई लिएर भारतले चीनलाई पनि पाकिस्तानसँगको गठजोड कमजोर गराउन प्रयास गर्ने देखिन्छ ।

 

नेपालमाथि पर्ने असर

भारत र पाकिस्तानवीच तनाव बढ्दै गयो भने यसबाट नेपाललाई पनि फाइदा हुनेछैन । भारत पाकिस्तानवीचको तनावसँगै चनि र भारतको पनि दुरी बढ्ने सम्भावना हुन्छ र त्यसले नेपाललाई घाटा हुन सक्छ ।

 

भारत र पाकिस्तानवीच तनाव बढ्यो भने नेपालको छिमेकी भारतले नेपलालाई पुर्‍याउँदै आएको आर्थिक सहयोग र विकासको साझेदारीमा समेत असर पर्न गई नेपालको समृद्धिको यात्रा ढीलो हुन सक्छ । र, नेपाल-पाकिस्तान सम्बन्धमा पनि दुरी बढ्न गई नेपाल भारततर्फ बढि ढल्कनुपर्ने अवस्था आउन सक्छ । र, यसले उत्तरी छिमेकसँगको सम्बन्धलाई पनि प्रभाव पार्न सक्छ । नेपालले सार्कलाई ब्युँताउनुपर्ने लविङ गर्दै आइरहेको थियो । तर, पुलवामा घटनापछि अब सार्क तत्कालै जाग्ने अवस्था लगभग अन्त्य भएको छ ।

 

भारत र पाकिस्तानवीच युद्ध वा हानाहान नै भइहाल्ने अवस्था आयो भने भारतमा रहेको गोर्खा सैनिक कारगिलमा जस्तै प्रयोग हुन सक्ने अर्को खतरासमेत बढ्ने छ । समग्रतामा दक्षिण एशियामा अशान्ति र हिंसा फैलियो भने त्यसले साना ठूला सबै देशलाई लपेट्ने छ । र, अमेरिकारले पनि दक्षिण एशियामा निम्तो पाउने छ ।

 

तथापि अहिले देखापरेको भारत-पाकिस्तानवीचको तनावले युद्धको रुप नलिनेमा अधिकांश विश्लेषकहरु ढुक्क देखिन्छन् । किनभने, भारतीय संसदमा भएको आतंकवादी हमला, मुम्बई हमला र पठानकोट, उरी हमलाका समयमा पनि भारत र पाकिस्तानवीच ठूलो तनाव बढेकै हो, तर युद्धको तहसम्म त्यो अघि बढेन । अब पनि दुबै आणविक देशवीच युद्ध नै भइहाल्ने खतरा नआउला भन्ने कामना गरौं ।

 

आतंकवादसँग मिलेर लडौं

ठूलो संख्यामा आफ्ना सैनिकहरु हताहत हुँदा भारतमा शोक, चिन्ता आक्रोश बढ्नु स्वाभाविकै हो । यसमा हामी सबैले छिमेकीको दुःखमा साथ दिनैपर्छ । तर, पाकिस्तानमा रहेको सत्ताइत्तर संगठनले गरेको आतंकवादी हमलामा भारत र पाकिस्तान दुबै देशका सरकारले आपसमा मिलेर अपराधीको खोजी गर्नु बुद्धिमत्ता हुने देखिन्छ ।

 

आतंककारीहरु कुनै देशका हुँदैनन् । आतंककारीहरु जुन नश्लका भए पनि सबैका शत्रु हुन् । त्यसैले आतंकवाद विरोधी अभियानमा भारत र पाकिस्तान दुबै देशले मिलेर अघि बढ्नु नै समस्याको सही समाधान हुन सक्छ । एकले अर्को देशलाई निन्दा र गालीमात्रै गरेर समस्या समाधान हुँदैन ।

 

किनभने यो कुरा विश्वमा छिकेको छैन कि पाकिस्तानले पनि आतंकवादबाट धेरै नै दुःख पाउँदै आइरहेको छ । ऊ पनि आतंकवादबाट पीडित देश हो, जसरी भारत पनि बारम्बार पीडित हुँदै आएको छ ।

 

तर, अहिलेको घटनामा पाकिस्तानले बढी जिम्मेवार हुन जरुरी छ । पाकिस्तानमा लुकेर बसेका आतंककारीले किन बारम्बार भारतमाथि आक्रमण गरिरहन्छन् ? यो प्रश्न पाकिस्तानतिरै सोझिन्छ र सोझिनुपर्छ । उता पाकिस्तानीहरुले काश्मिरमा आफ्ना जनतामाथि भारतीय सैनिकले अत्याचार गरेको आरोप लगाउँदै आइरहेको अवस्था छ ।

 

जबसम्म जम्मु काश्मिरमा स्थिरता र शान्ति कायम हुँदैन, तबसम्म यस्ता हिंसाका घटनाबाट मुक्ति मिल्दैन । ६० वर्षदेखि यस्तै हुँदै आइरहेको छ । त्यसैले, अब भारत र पाकिस्तानका दुरदर्शी नेताहरु नरेन्द्र मोदी र इमरान खानले कास्मिरको समस्या हल गरेर भावी पुस्तालाई शान्तिको स्वास फेेर्ने विकल्पको पनि खोजी गर्ने हो कि ? यो प्रश्न सबैभन्दा अहम बनेको छ अहिले ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...