स्थायी समितिमा पाँच-सात नेताबाहेक मभन्दा सिनियर कोही छैनन् : रघुवीर महासेठ



हाम्रो इकोनोमि

 

 

अभियोग १ : यातायात सिन्डिकेटविरुद्ध गृह मन्त्रालयले कारबाही चलायो, सारा देशले साथ दियो । तर, विभागीय मन्त्रीका रूपमा तपाईंले घुँडा टेक्नुभयो । तोडियो भनेर घोषणा गरिएको सिन्डिकेट झन् जब्बर भएर आयो ।

 

सिन्डिकेट अन्त्य गर्ने विषयमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच एकमत थिएन, समन्वय भएन भनेर जुन कुरा बाहिर आएका छन्/थिए, त्यसमा कुनै सत्यता छैन र थिएन । यातायात व्यवस्था विभागले ०७४ चैत १८ गते निर्देशिका जारी गरेर सिन्डिकेट अन्त्य गरेको हो । कमी–कमजोरी रहेका दुई/चार कुरा पछि सच्यायौँ । यसमा गृह मन्त्रालयले कारबाही गर्न खोज्यो, भौतिक पूर्वाधार मन्त्रालयले सहयोग गरेन भन्ने कुराहरूमा कुनै सत्यता छैन । गृहले त हामीलाई पो सहयोग गरेको हो । सिन्डिकेट अन्त्य गर्ने हाम्रो निर्णयविरुद्ध उत्रिने यातायात व्यवसायीलाई हाम्रो अनुरोधमा गृहले हिरासतमा राखेको हो । दुईवटा मन्त्रालयबीच राम्रो समझदारी भएरै यो काम गरिएको हो ।

 

अहिले सिन्डिकेट झन् जब्बर भएर आयो भन्ने कुरामा म सहमत छैन । हामीले सिन्डिकेटको अर्थ नै बुझ्न सकेनौँ कि भन्ने लाग्छ । सिन्डिकेट अन्त्य गर्नु भनेको नयाँ–नयाँ बस सञ्चालन गरिदिने होइन । सिन्डिकेट अन्त्य गर्नुभन्दा अगाडि यस देशका सबै सडक यातायात संघ–संस्थाको नियन्त्रणमा थियो । यातायात व्यवस्था विभागले आफूखुसी नियम–कानुनअन्तर्गत बसेर कुनै पनि निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थासमेत थिएन । किनकि, रुट पर्मिट दिनका लागि पनि संघ–संस्थाको सिफारिस चाहिन्थ्यो, जुन जरुरी थिएन ।

 

हामीले सबैभन्दा पहिला देशका सबै राजमार्ग, फिडर रोडहरू र अन्य लोकमार्गहरू यातायात संंघ–समितिबाट मुक्त गरायौँ । अब हामीले रुटपर्मिट दिँदा संघ–संस्थाको मनपरी छैन । १ साउनदेखि संघ–संस्थाका रूपमा तिनलाई नवीकरण नगरेपछि निष्क्रिय अवस्थामा छन् । त्यसकारण सिन्डिकेट अहिले जब्बर भएर आएको छैन । बरु, यातायात व्यवसायी महासंघले लिखित रूपमा ‘हामी कम्पनीमा आउन तयार छौँ, केही कुरा मिलाइदिनुपर्‍यो’ भनेको छ ।

 

कम्पनी ऐनमा एउटा यस्तो दफा छ, जसमा एक सय एकभन्दा बढी बस एउटा कम्पनीमा राख्न नपाउने व्यवस्था छ । त्यसलाई परिवर्तन गरिदिनुपर्‍यो भन्ने महासंघको कुरा छ । हामी पनि एकपटकका लागि पुराना संघ–संस्थाका हकमा त्यो विषयमा सकारात्मक नै छौँ । हामीसहित गृह मन्त्रालय, उद्योग मन्त्रालयलगायत सरोकारवाला निकायबीच यस विषयमा छलफल पनि भएको छ । त्यहीअनुसार हामी अगाडि बढिरहेका छौँ । यसकारण अहिले पूर्ण रूपमा सिन्डिकेट अन्त्य भएको छ ।

 

त्यस्तै, अब हामीले देशभरिकै यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरणको कन्सेप्ट ल्याएका छौँ । त्यसका लागि मन्त्रिपरिषद्ले पनि सैद्धान्तिक सहमति दिइसकेको छ । ऐन र नियमावली बनाइसकेका छौँ । सल्लाहका लागि अब कानुन मन्त्रालयमा पठाउने तयारीमा छौँ । र, छिटोभन्दा छिटो प्राधिकरणको घोषणा गर्छौं । यससँगै तीन सय विद्युतीय बस पनि किन्ने तयारी गरेका छौँ । ती बस यातायात प्राधिकरणमार्फत नै सञ्चालन गर्छौं । त्यसपछि हामी यातायात क्षेत्रमा फड्को मार्छौं ।

 

अभियोग २ : सिन्डिकेटविरुद्ध जेहाद छेड्ने यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईलाई पुरस्कृत गर्नुको सट्टा मन्त्रालयमा तानेर जगेडामा राख्नुभयो । गर्ने काम र बस्ने कुर्चीसमेत नदिएर अपमानित गर्नुभयो । यातायातका सिन्डिकेटधारीहरूको इसारामा यो सब गरेको आरोप तपाईंमाथि लाग्यो ।

 

त्यो आरोपमा कुनै सत्यता छैन । उहाँ (रूपनारायण भट्टराई)ले नेपाल सरकारका कर्मचारीको जुन अनुशासन छ, त्यसभन्दा बाहिर गएर काम गर्नुभयो । १८ चैतमा जारी गरेको निर्देशिकामा केही यस्ता कुरा पनि आए, जुन मन्त्रालयले निर्देशन दिएको थिएन । ल ठीकै छ, काम गर्दै जाँदा केही त्रुटि भयो होला । त्यसपछि पनि हामीले सिन्डिकेट अन्त्य गरेपछिको यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि उहाँलाई मन्त्रालयमा तान्यौँ । तर, उहाँले मन्त्रालयमा नआईकनै सरुवा गराउनुभयो । हाजिरी गर्नुभन्दा पहिला नै सरुवा गराएर आउनुभयो । बाहिर जानुभयो, फेरि फर्केर आउनुभयो । अहिले विभागमा डिजी भएरै काम गरिरहनुभएको छ । त्यसकारण यदि उहाँले तपाईंले भनेजस्ता गुनासो गर्नुभएको छ भने ती आरोपमा कुनै सत्यता छैन ।

 

अभियोग ३ : प्रधानमन्त्रीको घोषणा ‘समृद्ध नेपाल : सुखी नेपाली’को नारा पूरा गर्नेछ । विकास निर्माणसँग जोडिएको महत्वपूर्ण पूर्वाधार मन्त्रालयको नेतृत्व तपाईंले सम्हालिरहनुभएको छ । तर, तपाईंको कार्यप्रगति औसत पनि छैन । प्रधानमन्त्री केपी ओली नै असन्तुष्ट हुनुहुन्छ । प्रधानमन्त्री कार्यालयले बनाएको मन्त्रीहरूको रिपोर्टकार्डमा तपाईंलाई ‘रेड जोन’मा राखियो ।

त्यो पनि गलत भयो । हामीले काम नगरेर होइन कि हाम्रा सामान्य कमजोरीका कारण तपाईंहरूकै नयाँ पत्रिकामा त्यस्तो समाचार आयो । हाम्रो सचिवजीले कम्प्युटरमा क्लिक गर्न नजानेका कारण प्रधानमन्त्री कार्यालयमा हाम्रो मन्त्रालयको प्रगति विवरण नै पुगेन । रिजल्टमा जिरो–जिरो देखियो । पत्रिकामा समाचार आइसकेपछि हामीले पत्रकार सम्मेलन नै गरेर त्यसबारे जानकारी गराइसकेका छौँ । विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा राम्रो काम गरेको यही मन्त्रालयले हो । राष्ट्रिय गौरवका आयोजनामध्ये कुनैमा ९४ प्रतिशत, कुनैमा ६४ र कुनैमा ४२ प्रतिशत कार्यप्रगति भएको छ । यति राम्रो काम गरेका थियौँ । यो कुरा पछि सबैलाई बतायौँ ।

 

काम गर्दा केही प्रतिकूलता पनि छन् । तीन तहका कानुन बनाउने, कुन योजना स्थानीय तहलाई दिने, कुन प्रदेशलाई दिने र कुन योजना संघीय सरकारले गर्नेलगायत कामहरू छुट्याउन गाह्रो भयो । तलका तहका लागि बजेट र कर्मचारी व्यवस्थापन गर्नुपर्ने काममा पनि हाम्रो दुईतिहाइ समय खर्च भयो । तर पनि हाम्रो कामको प्रगति निकै राम्रो छ, सन्तोषजनकभन्दा पनि अगाडि छ । हो, हामीले गरेका कामलाई जसरी मिडियामा लैजानुपथ्र्यो, त्यो सकेका छैनौँ । प्रचार–प्रसारमा कमी भएका कारण मान्छेमा भौतिक पूर्वाधार मन्त्रालयले कामै गरेन कि भन्ने परेको हो ।

 

अभियोग ४ : देशको राजधानीकै सडकको अवस्था दयनीय छ । चाबहिल–जोरपाटी, त्रिपुरेश्वर–कलंकी, कलंकी–नागढुंगालगायत सडक महिनौँदेखि खाल्डाखुल्डी र धुलाम्य छन् । तर, विभागीय मन्त्रीका रूपमा तपाईंलाई कुनै संकोच छैन । 

सम्माननीय सर्वोच्च अदालतका निर्णयहरूको प्रतिकूलताका कारण मैले मन्त्री पदमा बहाल हुनेबित्तिकैदेखि काम गर्न सकिनँ । किनभने, सर्वोच्चको निर्णय सही भए पनि गलत भए पनि हामी सबैले आत्मसात् र सम्मान गर्नुपर्छ । हामीले ७ साउनदेखि काम थालेका हौँ । अहिले कामले गति लिएको छ । अहिले तपाईंहरू फिल्डमा गएर हेर्नुभयो भने प्रगति भएको पाउनुहुन्छ । पछिल्ला ६/७ महिनामा विगत ६/७ वर्षमा हुन नसकेका काम भएका छन् । र, ठेकेदार कम्पनीले बढीमा तीन महिनाभित्र सबै काम सम्पन्न गरेर दिन्छु भनेर प्रतिबद्धता जनाएको छ । त्यसकारण अहिले म के विश्वस्त छु भने यो काम अब चाँडै सम्पन्न हुन्छ ।

 

त्रिपुरेश्वरदेखि कलंकीसम्मको सडक निर्माणमा खानेपानीको कामले पनि केही समस्या भएको छ । हामी बनाउँदै जान्छौँ, उहाँहरू खन्दै जानुहुन्छ । त्यसैले अलिकति अस्तव्यस्त भएको छ । गौशाला–चाबहिल–जोरपाटी सडकखण्ड हामीले बिमस्टेक सम्मेलनताका राम्रो बनायौँ । तर, एक महिना पनि चलेन । त्यो रुटमा एक सयदेखि एक सय २० वर्ष पुराना पाइपहरू छन् । कुहिसकेका छन्, सबै लिकेज छन् । पानी खोलेको दिन त सडकमा बाढी आएझैँ हुन्छ । त्यस्तै हालत अमृत साइन्स क्याम्पसदेखि बालाजु जाने बाटोको पनि छ । यी सडकखण्डहरूलाई पनि चाँडै व्यवस्थित बनाउने प्रयास भइरहेको छ । यस्ता रुटबाहेकका सडकखण्डमा राम्रो काम भएको छ । हामी आउनुभन्दा अगाडि र अहिलेको अवस्था हेर्दा सबै छर्लंग हुन्छ ।

 

अभियोग ५ : नेता त कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने हो, तर तपाईंले कार्यकर्ताको मायाले भन्दा शीर्ष नेताको आशीर्वादले राजनीतिक उचाइ प्राप्त गर्नुभयो । तत्कालीन एमालेको आठौँ महाधिवेशनमा सचिवमा र नवौँ महाधिवेशनमा सदस्यमा समेत पराजित हुनुभयो । तर, नेतृत्वलाई प्रभावमा पारेर केन्द्रीय सदस्य मनोनीत हुनुभयो । अहिले नेताहरूकै जोडबलमा मापदण्ड नपुग्दा पनि नेकपाको स्थायी समिति सदस्य बन्नुभयो । त्यही विषयले एकीकरणका लागि बनेको कार्यदलमा समेत तपाईंको नाममा विवाद भयो ।

 

म नेताहरूको आशीर्वादले यो ठाउँमा आइपुगेको होइन । ०३३ सालको पार्टी सदस्य हुँ । जोड्नुहोस् त, कहाँ ०३३ साल, कहाँ आज । ०३६/३७ सालमा आन्दोलनको नेतृत्व गरेर हिँडेको मान्छे हुँ । अनेरास्ववियुको धरान सम्मेलनबाट केन्द्रीय सदस्यसँगै तत्कालीन नारायणी र पूर्वाञ्चलको अध्यक्ष निर्वाचित भएँ । पार्टीका विभिन्न निकायहरू हुँदै केन्द्रीय सदस्यमा पुगेँ । कोसी, मेची, सगरमाथा, जनकपुर, वाग्मतीलगायत अञ्चलमा भूमिगत कालदेखि अहिलेसम्म काम गरेर आएको हुँ । भारतमा पढ्न जाँदा पनि अनेरास्ववियुमा काम गरेँ । जस्तासुकै बाधा, अवरोध आउँदा पनि बाटो नबिराएर पार्टीमा काम गरेँ । अनि, अहिले आएर पार्टीभित्र मलाई जुनियर, मापदण्ड नपुगेको कुरा हुन्छ भने त्यो गलत भइरहेको छ ।

 

स्थायी समितिमा जान कसरी मेरो मापदण्ड पुग्दैन ? मभन्दा पछि राजनीतिमा लागेकाहरू स्थायी समितिमा पुगिसकेका छन् । उनीहरूचाहिँ योग्य हुने, मचाहिँ नहुने ? स्थायी समितिमा रहेका ५/७ जना शीर्ष नेताबाहेक मभन्दा सिनियर कोही छैन । तत्कालीन एमालेका उपाध्यक्ष भीम रावलजी र मैले एकैचोटि अनेरास्ववियुको राजनीति सुरु गरेका हौँ । को–अर्डिनेसन केन्द्रमा त झन् म उहाँभन्दा अगाडि आएको हुँ । टंक कार्की पनि पुराना हुन् । हामी सबै समकक्षी हौँ । ममाथि यस्ता आरोप पार्टीभित्रबाट अश्वस्थ ढंगले लगाइएका मात्रै हुन् । आरोप लगाउनेले लगाउँदै गर्छन्, म आफ्नो काममा लाग्ने हो ।

 

अभियोग ६ : पार्टीभित्र नेता र नीतिभन्दा व्यक्तिगत लाभ हेरेर गुटमा लाग्नुहुन्छ । अहिलेसम्म वामदेव गौतमको छहारीमा हुनुहुन्थ्यो । उनकै जोडबलमा यसअघि पनि मन्त्री बन्नुभयो, पछिल्लोपटक पनि गौतमकै कोटाबाट मन्त्री बन्नुभयो । तर, केपी ओलीसँग सम्बन्ध बिग्रिएर गौतम टाढिएपछि तपाईंले पद सुरक्षित गर्न क्याम्प परिवर्तन गरेर ओलीकै निकट बन्नुभयो ।

वामदेव कमरेड हाम्रो नेता हुनुहुन्छ । उहाँलाई सधैँ सम्मान गर्छु । उहाँ मात्रै होइन, माधव नेपाल, झलनाथ खनाल कमरेडलाई पनि उत्तिकै सम्मान गर्छु । तर, अहिले पार्टीमा अध्यक्षद्वय केपी ओली र प्रचण्ड कमरेडको विकल्प छैन । यो ध्रुवसत्य हो । हिजोको र आजको देशको परिस्थिति फरक छ । आज दुई नेताले जुन दिशानिर्देश गरिरहनुभएको छ, त्यसलाई आत्मसात् गर्नुपर्छ ।

 

वामदेव कमरेडको कोटाबाट म मन्त्री भएको होइन । म कसैको कोटाबाट मन्त्री बनेको होइन । प्रधानमन्त्री केपी ओलीले विश्वास गरेर मन्त्रिपरिषद्मा लैजानुभएको हो । यो कोटा भन्ने कुरा बिल्कुल गलत हो, कहाँबाट यस्ता कुरा बाहिर जान्छन्, मैले बुझेको छैन । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले चाहेको व्यक्ति मात्रै मन्त्री बन्छ, यदि कुनै नेताले ‘रघुवीर मेरो कोटाबाट मन्त्री बनेको हो’ भनिरहनुभएको छ भने गलत बोलिरहनुभएको छ । व्यक्तिगत रूपमा वामदेव कमरेडसँग मेरो हिजो पनि राम्रो सम्बन्ध थियो, आज पनि छ र भोलि पनि राम्रै सम्बन्ध रहिरहन्छ । तर, जुन ढंगले मेरो नाम वामदेव कमरेडसँग जोडिनेगर्छ, त्यो गलत छ । म जति उहाँलाई सम्मान गर्छु, अरू सबै नेतालाई गर्छु । सबैसँग उत्तिकै राम्रो सम्बन्ध पनि छ ।

 

अभियोग ७ : प्रतिस्पर्धीलाई किनारा लगाउन कुनै कसर बाँकी राख्नुहुन्न । पार्टीभित्रका प्रतिस्पर्धी रामचन्द्र झालाई कर्नरमा पारेर पार्टीबाटै बाहिर खेद्नुभयो । 

रामचन्द्र झा मेरो प्रतिस्पर्धी कसरी भए, मैले अहिलेसम्म बुझेको छैन । म ०३३ सालको पार्टी सदस्य, उहाँ बहुदलउप्रान्त ०४७ सालमा पार्टीमा प्रवेश गरेको मान्छे । त्यसैले मैले उहाँलाई प्रतिस्पर्धी देखेकै थिइनँ । यद्यपि, विभिन्न कारणले उहाँ पार्टीमा आउनुभयो, स्थापित पनि हुनुभयो । पछि उहाँ आफैं पार्टी छाडेर त्यसवेलाको माओवादीमा प्रवेश गर्नुभयो । केही समयपछि माओवादी पनि छाडेर नयाँ शक्ति पार्टीमा बाबुराम भट्टराईसँग जानुभयो । फेरि फर्केर उहाँ माओवादीमै आउनुभयो । र, आज पूर्वमाओवादी र पूर्वएमाले मिलेर बनेको नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ ।

 

मैले उहाँलाई कर्नर पारेको होइन, पार्टीमा पद भएपछि मात्र काम गर्नुपर्ने सोच नै गलत हो । म ७/७ वर्ष जिम्मेवारी नपाएर बसेँ, मैले त पार्टी छाडेको छैन । बुटवल महाधिवेशनमा १२/१३ मतले म सचिवमा हारेँ । केन्द्रीय समितिमा भने अत्यधिक मतले जितेँ । त्यतिवेलाको पार्टी नेतृत्वले मलाई पाँच वर्षसम्म कुनै जिम्मेवारी दिएन । तैपनि मैले आफ्ना गुनासा कहीँ राखिनँ । केन्द्रीय सदस्यको नाताले आफ्नो काम गरिरहेँ । तर, म पार्टी छाडेर गइनँ । नेताभन्दा पनि हामी पार्टीका सिपाही हौँ । पदमा बसुन्जेल हामी नेता हो, त्यसभन्दा पछि हामी पार्टीका सिपाही । त्यसकारण आफ्ना विरोधीहरूलाई पार्टीभित्र पनि समाप्त पार्छ भन्ने जुन आरोप ममाथि लगाइने गरेको छ, त्यसमा पनि सत्यता छैन । मलाई बदनाम गराउन गरिएको कुप्रचार मात्र हो ।

 

अभियोग ८ : गुटबन्दीमा पनि माहिर हुनुहुन्छ । आठौँ महाधिवेशनयता तपाईंको गृहजिल्ला धनुषामा तत्कालीन एमालेभित्र निरन्तर विवाद भयो । तपाईंकै कारण सामानान्तर कमिटीहरू पनि बने । नेतृत्वलाई मिलाउनै हम्मे पर्‍यो । फरक गुटका नेता/कार्यकर्ताप्रति असहिष्णु बन्नुभयो भनेर तपाईंविरुद्ध पार्टी केन्द्रमा पटक–पटक उजुरी नै परे ।

राजनीतिक जीवनको अमूल्य समय मैले कोसी र मेचीमा खर्चिएको छु । कोसीमा करिब ६ वर्ष र मेचीमा १० वर्षजति राजनीति गरेँ । कहिल्यै पनि पदका लागि कुरा गरिनँ । आठौँ महाधिवेशनका वेला म जनकपुर आएको हुँ । र, मैले जिल्लाको राजनीतिमा कहिल्यै पनि हस्तक्षेप गरेको थिइनँ, अहिले पनि गर्दिनँ । तर, मेरो लोकप्रियताले पार्टीभन्दा बढी त प्रतिपक्षीहरूले कुप्रचार गर्छन् । अहिले प्रतिपक्षीहरूसँग कुनै एजेन्डा छैन, त्यसकारण उनीहरू हाम्रै पार्टीभित्र छिरेर खेल्न खोज्दै छन् । धनुषामा पार्टीमा त्यसवेला समस्या थियो, जसलाई हामीले मिलाइसक्यौँ । अहिले कुनै समस्या छैन ।

 

रघुवीर महासेठले चुनाव जित्नुभन्दा पहिले पनि धनुषामा समस्या थियो, कतिको चाहना त रघुवीरलाई टिकट नै नदिइयोस् भन्ने थियो । म कस्तो ठाउँबाट जितेर आएको छु, तपाईंहरूलाई थाहा छ ? मधेस आन्दोलनका नाममा ६/६ जना सहिद भएका छन्, त्यो ठाउँबाट जितेर आएको छु । यदि म अलोकप्रिय भएको भए तीन हजार मतले जित्ने थिइनँ, त्यति नै मतान्तरले हार्ने थिएँ । मेरो क्षेत्र कस्तो छ, तपाईं बुझ्नुस् । त्यसकारण पार्टीभित्रका सबै साथीलाई समेटेर लाने नै मेरो चाहना हो । तर, विभिन्न कारणले जिल्लाबाहिरको चलखेल पनि वेला–वेलामा हुन्छ कि जस्तो मलाई शंका लाग्छ ।

 

अभियोग ९ : तपाईंको बोलीको पनि ठेगान छैन । विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को पर्खाइमा रहेका २ लाख उपभोक्तालाई भदौभित्रै वितरण गरिसक्ने घोषणा गत असार अन्तिममा गर्नुभयो । तर, प्रतिबद्धता पूरा हुनुको साटो सात महिनापछि स्मार्ट लाइसेन्स लिन पर्खाइमा बस्नेको संख्या बढेर चार लाख पुग्यो । 

स्मार्ट लाइसेन्स हामीले हातले छाप्ने होइन । हामीसँग सीमित मेसिन थिए, तीबाटै छाप्न सुरु गर्‍यौँ । हामीले बाहिरबाट मेसिन ल्याउन खोजेका थियौँ । तर, खरिद ऐन, नियम–कानुनले गर्दा हामीले तुरुन्तै भदौमा ल्याउन सकेनौँ । त्यो समस्या अहिले अन्त्य गरिएको छ । तीन महिनापहिले नै करिब चार लाख एक्स्ट्रा जुन लक थियो, त्यो हामीले छापिसकेका छौँ । अहिले सातवटा मेसिनले छाप्ने काम गर्दै छ । यद्यपि, त्यसलाई अझै व्यवस्थित बनाउने काम जारी राखेका छौँ ।

 

अभियोग १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनले ठेक्काको पेस्की रकम लगेर निर्माण अलपत्र छाडिएका सडक आयोजना ९ सयभन्दा बढी रहेको देखाएको छ । त्यस्ता ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा जोगाउतिर चासो दिएको आरोप पनि तपाईंमाथि लागेको छ ।

 

अख्तियारले के काम गरिरहेको छ, त्यसमा मेरो केही कमेन्ट छैन । जहाँसम्म मैले ठेकेदारहरूलाई बचाएँ भन्ने छ, त्यो साँचो होइन । हामीले त काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएका छौँ, धेरैलाई कारबाही नै गरेका छौँ । आगामी एक महिनाभित्र पनि केहीमाथि कारबाही हुँदै छ । हामीले एउटा निर्माण व्यवसायीलाई पौने ६ करोड रुपैयाँसम्म जरिवाना गरेका छौँ । दुई लाख, चार लाख, पचास लाख त धेरैलाई गरेका छौँ । भरतपुर र नगरकोटको बाटोमा पनि सात महिनादेखि लगातार हामीले हरेक दिन डेढ लाख र महिनाको ४५ लाखको हिसाबले अहिले पनि जरिवाना गरिराखेका छौँ । अनि ठेकेदारहरूलाई कहाँ बचाएका छौँ ?

 

हो, कुनै निर्माण व्यवसायीले काम गर्न चाहन्छ भने सरकारलाई आर्थिक दायित्व नपर्ने गरी काम गर्न दिनुपर्छ । यो मेरो व्यक्तिगत मान्यता हो । किनकि, अहिले मैले ठेक्का तोड्नेबित्तिकै नयाँ टेन्डर गर्नुपर्‍यो । त्यसको इस्टिमेट १० करोड छ भने अहिले बढेर २० करोड हुन जान्छ । अनि सरकारलाई हामीले किन १० करोड घाटा पार्ने ? त्यसैले इच्छुक निर्माण व्यवसायीहरू, जो यसरी काम गर्न चाहन्छन्, त्यस्तालाई हामीले कागज गराएर काम गर्न दिएका छौँ । बाँकी सरकारसँग निहुँ खोज्ने, निहुँ खोजेर उल्टो क्षतिपूर्ति माग गरिराखेकाहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइसकेका छौँ ।

 

अभियोग ११ : गैरआवासीय नेपाली उपेन्द्र महतोको बहिनीज्वाइँ हुनुहुन्छ । उनकै पैसाको बलमा शीर्ष नेतृत्वदेखि जिल्ला तहसम्म प्रभाव पारेर राजनीति गर्ने गरेको आरोप तपाईंमाथि पार्टीभित्रैबाट लाग्ने गर्छ । त्यही आधारमा पार्टीमा धेरै योगदान नभए पनि पत्नी जुली महतोलाई समेत दुई–दुई पटक सांसद बनाउन सफल हुनुभयो ।

यी सबै पुरानै आरोप हुन् । पैसाको बलमा राजनीति हुँदैन । पैसाको बलमा राजनीति हुँदो हो त भारतमा अम्बानी, टाटा, बिरलाहरू प्रधानमन्त्री बन्नुहुन्थ्यो । अमेरिकामा सफ्टवेयरको मालिक बिल गेट्स हुनुहुन्छ नि, उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुहुन्थ्यो । नेपालमै धेरै अर्बपतिको नाम सुन्नुभएको छ होला, म नाम लिन चाहन्नँ, उहाँहरू राजनीतिमा स्थापित हुन सक्नुहुन्थ्यो । पैसाले राजनीतिमा स्थापित हुन्छु भनेर कसैले सोच राखेको छ भने त्यो नराखे हुन्छ ।

 

जनता पैसामा बिक्ने चिज होइनन् । जहाँसम्म उपेन्द्र महतोको कुरा गर्नुभयो, उहाँ मेरा नातेदार हुनुहुन्छ । तर, हामीले उहाँको पैसा आजसम्म दुरुपयोग गरेका छैनौँ, राजनीतिमा लगाएका छैनौँ । उहाँ मेरा नातेदार मात्र होइन, साथी पनि हुनुहुन्छ । विद्यार्थी हुँदा उहाँ फेडेरेसनतर्पm राजनीति गर्नुहुन्थ्यो, म अनेरास्ववियुको गर्थेँ । हामी विराटनगरमा एउटै कलेजमा पढ्थ्यौँ । अहिले त नातेदार पनि हुनुहुन्छ ।

 

माननीय जुली महतो नेकपाको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ जनताको बीचमा लोकप्रिय नभएको भए नेपाली कांग्रेसका उपाध्यक्ष विमलेन्द्र निधिको विपक्षमा चुनाव लड्नुहुन्थ्यो ? झिनो मतले हार्नुभयो, अझ हराइयो भनौँ । त्यसवेलाको सरकारले उहाँलाई चुनाव हराइदियो । त्यो सरकारले मलाई पनि ४ सय १६ मतले हरायो । उहाँ यसैपालि पनि चुनाव लड्न तयार हुनुहुन्थ्यो । साँचै भन्नुहुन्छ भने जनताको बीचमा मभन्दा बढी समय उहाँले दिइरहनुभएको छ । उहाँ पैसाको बलमा सांसद भएको पनि होइन । आज तराई जानूस्, धनुषा मात्र होइन, अरू जिल्लातिर पनि उहाँ क्रियाशील हुनुहुन्छ । यी सबै पार्टीभित्र र बाहिरका विरोधीहरूले लगाउने आरोप मात्रै हुन् ।

 

अभियोग १२ : तपाईं देशको मन्त्री हुनुहुन्छ । तर, तपाईंको परिवारको व्यावसायिक साझेदारी भएको युटिएलले राजस्व तिरेको छैन । दूरसञ्चार प्राधिकरणले पटक–पटक ताकेता गरिरहेको छ । तर, पहुँचका आधारमा अवज्ञा गर्दै आउनुभएको छ । तपाईंजस्तो मन्त्री भएको देशमा सुशासनको आस कसरी गर्ने ?

 

म साझेदार होइन, कुनै वेला हामीले अलिकति पैसा लगानी गरेको मात्रै हो । यसमा विशाल ग्रुप अहिले पनि छ । नेपालको विशाल ग्रुप र अलिकति हाम्रो लगानी हो । अहिले पनि ८० प्रतिशत सेयरहोल्डर भारत सरकारकै कम्पनीहरू छन् । २० प्रतिशतको म्यानेजमेन्ट हुँदैन, त्यो तपाईंलाई पनि थाहा छ । जहाँसम्म पैसा तिरेन भन्ने कुरा छ, त्यो युटिएललाई नै सोध्नुपर्‍यो । यहाँ पनि नाम जोडेर मलाई बदनाम गर्न खोजिएको हो । राजस्व तिरेको छैन भने रद्द गरिदिए भइगयो नि ! कुनै पनि कम्पनीले सरकारको पैसा मास्नुहुँदैन, तिर्नैपर्छ । यदि स्मार्टले तिरेको छैन, चौधरी ग्रुपले तिरेको छैन, सिजीले तिरेको छैन, युटिएलले तिरेको छैन, एनसेलले तिरेको छैन भने छोड्नुपर्ने किन ? कारबाही गरे भयो । युटिएलमा मेरो कुनै रोल छैन, विरोधीहरूले मलाई बदनाम गराउने मात्रै हो ।

 

जोसँग पैसा हुन्छ, उसले सेयर किन्छ । धेरै मान्छेले किन्छन् । कोहीले बैंकको सेयर किनेका हुन्छन्, कोहीले विद्युत्को सेयर किनेको हुन्छन् । एनटिसीमा पनि कर्मचारीहरूको सेयर छ नि ! सन् २००७/००८ तिर हामीसँग पनि अलिअलि पैसा थियो, युटिएलको सेयर किन्यौँ । तर, त्यहाँ हाम्रो केही पनि चल्दैन । किनभने, त्यो २० प्रतिशत सेयरमा पनि १४/१५ वटा पार्टनर छन् । अनि नामचाहिँ जहिल्यै जुली महतो, जुली महतो, जुली महतो भनेर आउँछ । सबैको नाम आउनुपर्‍यो नि ! हाम्रो नाम मात्रै किन ? आज स्मार्टले पनि पैसा तिरेको छैन, तर कसैको नाम आउँदैन ।

 

अभियोग १३ : प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा पानीजहाजको कार्यालय स्थापना गर्नुभयो । जबकि, नेपालमा पानीजहाज कहिले, कहाँ र कुन रुटबाट आउँछ, सरकारलाई समेत थाहा छैन । सम्भाव्यतासमेत अध्ययन नभएको विषयमा कार्यालय खोल्दासमेत त्यत्रो उत्सव मनाउनुभयो, झ्याली पिट्नुभयो । 

हामीले उत्सव मनाएकै हो । कुनै पनि सार्वभौम राष्ट्रको झन्डासहितको पानीजहाज अन्तर्राष्ट्रिय ऐनकानुनअनुसार चल्नु त्यो देश र देशवासीका लागि गौरव र गर्वको कुरा हो । अहिलेसम्म नेपाललाई भूपरिवेष्ठित राष्ट्र भनेर भनेका थियौँ । यो देशमा सडक र हवाई यातायातबाहेक अर्को अल्टरनेट थिएन । पहिले भारतको जयनगरदेखि जनकपुरसम्म, विजलपुरासम्म रेल चल्थ्यो । त्यो पनि १० वर्षपहिले बन्द भइसकेको थियो । अहिले हामी सुरुमा सडक सञ्जाललाई व्यवस्थित गर्न गइरहेका छौँ ।

 

म मन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्रीको निर्देशनअनुसार आगामी चार वर्षमा कम्तीमा ६ हजार किलोमिटर नयाँ सडक बनाउने तयारी हामीले गरेका छौँ । त्यस्तै, २८ किलोमिटर रेलमार्गबाट यो देशलाई उत्तर–दक्षिण र पूर्व–पश्चिम जोड्न गइरहेका छौँ । हामी पूर्व–पश्चिम, काठमाडौं–केरुङ, काठमाडौं–पोखरा विद्युतीय रेलमार्ग बनाउँदै छौँ । मुग्लिनदेखि जोडेर लुम्बिनी लाँदै छौँ, विद्युतीय रेलमार्गलाई ।

 

नेपाललाई जलमार्गबाट पनि जोड्ने प्रधानमन्त्रीको जुन सपना छ, त्यसअनुसार नै हामीले पानीजहाजको कार्यालय स्थापना गरेका हौँ । त्यत्तिकै हावाको भरमा प्रचारका लागि मात्रै कार्यालय खोलिएको होइन । त्यससम्बन्धी तीनवटा ऐन पहिले नै तर्जुमा भइसकेका रहेछन् । अहिले भारत सरकारका तर्फबाट त्यहाँको सम्बन्धित निकाय र नेपालका तर्फबाट पनि हामीले एउटा कार्यदल बनाएका छौँ, अध्ययन गर्न । दुई देशका टोलीबीच पटक–पटक बैठक, छलफल भएका छन् । भारतले त आफ्नो डिपिआर सम्पन्न गरेर गण्डकमा एक हप्ताअघि मात्रै शिलान्यास पनि गरिसकेको छ ।

 

दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार नेपाललाई जलमार्गबाट छिटोभन्दा छिटो जोड्न र सामान ओसार–पसार गर्ने उद्देश्यले भारतले झारखण्डको साहगजमा पाँच हजार मेट्रिकटनको जहाज आउने गरी टर्मिनल नै निर्माण गरिसकेको छ । मे महिनामा सम्भवतः त्यसको उद्घाटन हुन गइरहेको छ । हल्दियाबाट १ हजार  ४ सय किलोमिटरमा बनारस, त्यहाँको टर्मिनल त उद्घाटन भएर सञ्चालन नै भइसकेको छ । अब हाम्रो कालुघाटबाट रक्सौल १ सय ८० किलोमिटरमा नयाँ टर्मिनल भारतले जुन व्यवस्था गरेको छ, विराटनगरबाट १ सय ४२ देखि १ सय ४५ किलोमिटर साहबगन्ज ।

 

यस्तो कसैले सोचेको थियो पहिला ? हामीले हल्दियाको एउटै पोर्ट युज गरेका थियौँ, जो हाम्रा लागि दूरीका हिसाबले खर्चिलो हुन्थ्यो । तीन–तीन महिनाको ड्यामेज हामीले तिर्नुपथ्र्यो । अब नेपाली उद्योगी–व्यापारीहरूले हल्दियाको बदलामा साहबगन्जबाट सामान ल्याउन सक्नुहुन्छ, कालुघाट टर्मिनलबाट ल्याउन सक्नुहुन्छ । बनारसबाट ल्याउन सक्नुहुन्छ । त्यसैले हामीले पानीजहाजको कार्यालय त्यत्तिकै स्थापना गरेका छैनौँ, चाँडै काम सुरु हुन्छ ।

 

भारतको गण्डक नदी भनेको नेपालबाट जाने नदी न हो । जब उहाँहरू एतातिरबाट गण्डकको छेउमा आउन सक्नुहुन्छ भने हामी किन जान सक्दैनौँ ? भारतले पनि सम्भाव्यता अध्ययन नगरीकन त्यहाँसम्म आएको त होइन नि ! जबसम्म हामी पानीजहाजको कार्यालय निर्माण गर्दैनौँ, काम कहाँबाट थाल्छौँ त ? कार्यालय स्थापना त पहिलो पाइला हो । हामी हजारौँ माइल जानलाई पनि पहिलो पाइला त सुरु गर्नुपर्‍यो नि ! हामीले पहिलो कदम चालेका छौँ, अलरेडी हाम्रो कार्यदल छ, टेक्निकल टिम छ, भारतको टेक्निकल टिम छ । अब यही कार्यालयमार्पmत यी कामहरू अगाडि बढाउँछौँ ।

खगेन्द्र पन्त नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...